मिस तामाङ २०२३ को उपाधि सिन्धुलीकी पासाङयाङ्जी वाइबा तामाङले जितेकी छन् ।
राष्ट्रिय सभागृहमा शनिवार मिस तामाङ १५ औँ संस्करणको प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै वाइबाले ताज पहिरिएकी हुन् ।
‘अश्लील साइटहरू प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ?’ भन्ने प्रश्नको जवाफमा याङ्जीले भनिन्, ‘जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरू पनि बलात्कारका आरोपी छन्। सजाय भोगिरहेका छन्। त्यसैले अश्लील साइट बन्द गर्नुभन्दा घर समाजमा नैतिकता सिकाउनुपर्ने र सरकारले बलात्कारीका लागि कडा भन्दा कडा सजायको कानुन बनाउनुपर्छ।’
प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ, सेकेन्ड रनर अप सिर्जना गोले तामाङ बनिन्। सिर्जनाले मिस मल्टिमिडिया टाइटल जितेकी छन् ।
प्रतियोगितामा विनीता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले वेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङले मिस फोटोजेनिक टाइटल पाएका थिए।
मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको यो मिस तामाङको १५ औँ संस्करण हो। नयाँ पुस्तामा तामाङ संस्कृति, भाषा तथा भेषभुषा हस्तान्तरणका लागि यसखाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी निर्देशक रञ्जिता लामाले बताइन्।
फिनालेमा रोज मोक्तान, उत्तर लामा, सागर वाइबालगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए।a