आधुनिक चित्रकला तथा अन्य सिर्जनात्मक कला विषयक छलफल सम्पन्न

सबिता घिसिङ संवाददाता
448 Shares
काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला तथा अन्य सृजनात्मक विभागको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

आइतबार आधुनिक समसामयिक चित्रकला तथा अन्य सृजनात्मक कला विषयमा छलफल कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सभा हलमा भएको हो ।

चित्रकला विभागका प्रमुख सञ्जय वान्तवाले एकेडेमीलाई ललितकला अन्तरगत आधुनिक समसामयिक चित्रकला तथा अन्य सृजनात्मक कला मार्फत कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

तत्कालीन सुधार्नुपर्ने नीति तथा कार्यक्रमलाई सुधार्दै अल्पकालीन तथा दीर्घकालीन के कस्तो नीति अवलम्बन गरी उत्कृष्ट तवरमा एकेडेमीलाई अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको प्रमुख वान्तवाले बताए ।

‘समयसँगै कलाकारहरूको एकेडेमीसँग विभिन्न अपेक्षा तथा गुनासो हुनसक्ने हुँदा तिनलाई नजिकिएर सहर्ष सकारात्मक तवरमा लिनेछौँ’‚ बान्तवा भन्छन्, ‘विशेष रूपमा आधुनिक समसामयिक चित्रकला तथा अन्य सृजनात्मक कलामा विद्यमान कमी कमजोरी के के छन् । त्यसको सही पहिचान गरी सुधारको पहल के हुन सक्छ र त्यसमा नयाँ थप के गर्न सकिन्छ । जुन कुराले वास्तवमै ललितकलालाई जरैबाट बलियो बनाउन सकियोस्। प्राप्त सल्लाह सुझावलाई ध्यानमा राखी त्यस सम्बन्धी नीतिगत रूपमा प्रस्ट हुँदै अबको कार्य समिति एकेडेमीको विकास तथा प्रवर्धनमा लागि पर्नेछ ।’

सम्पूर्ण कलाकार तथा विज्ञहरूको कला क्षेत्रमा उत्तिकै महत्त्व रहने हुँदा सबैको विद्धत्व तथा कला दक्षताको कदर सधैँ एकेडेमीलाई रहिरहनेछ उनले बताए ।

एकेडेमीका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले अन्तरक्रियामा प्राप्त सुझावलाई सकारात्मक रूपमा लिई आवश्यक नीतिगत सुधारमा कार्य समिति तदारुक्ताका साथ लाग्ने बताए । ‘कलाको उचित व्यवस्थापन र सुधारको लागि अन्य विभिन्न तहका छलफलहरू भैरहेको र हुँदै जानेछ‚’ उनले भने, ‘हिजो के थियो भन्नुभन्दा आज के गर्न सकिन्छ भन्ने अवधारणाका साथ सबै मिलेर अघि बढ्नुपर्छ । वौद्विक्ता सहितको पहिचान नबनेसम्म समृद्धि नहुने हुँदा सो अनुरूपको आवश्यक विभाग, समुदाय, विश्वविद्यालय र त्यस अन्तरगतका समाजशास्त्र, मानवशास्त्र र अन्य सास्कृतिक विभागहरूसँग पनि प्रारम्भिक छलफल भइरहेको छ ।’

समापन सभालाई सम्बोधन गर्दै एकेडेमीका कुलपति नारदमणि हार्तम्छालीले समसमायीक आधुनिक कलाकारहरूको सङ्ख्या थुप्रै भएको र यस किसिमको ‌औपचारिक अनौपचारिक छलफल भेटघाटको छुट्टै महत्त्व र ‌औचित्य रहेको बताए । एकेडेमीको सम्पूर्ण संस्थागत संरचना सुधारको कुरासँगै के के कार्यलाई विशेष ध्यान दिई अघि सार्नुपर्छ भन्ने कुरा प्राथमिकीकरण गर्ने जानकारी उनले बताए । ‘पूर्व समितिले गरेका राम्रा कार्यलाई निरन्तरता दिदै नपुग कुरा थपेर लानु पर्ने हुन्छ । त्यस कारण यस किसिमको छलफलमा आएका छौं’‚ उनले भने । अन्तरक्रियाको क्रममा स्रोतसाधन‚ मानवीय समसाधनको सचेतनासहित कार्यक्रमको उत्तार्द्वमा के कस्तो कुराहरू आउँछन् लगायत प्राप्त सूचना‚ प्रतिक्रिया पनि उतिकै महत्त्व रहने उनले बताए ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्य‚ प्राज्ञसभा सदस्य‚ कलाकार‚ शिक्षक‚ प्राध्यापक‚ सङ्घसंस्थाका प्रतिनिधिहरु गरी ४९ जनाको उपस्थिति रहेको थियो । छलफलमा सहभागी भएका अधिकांशले आ-आफ्नो धारणाहरू राख्नुको साथै आफ्नो तर्फबाट सुझावहरू पनि दिएका थिए ।

सहभागीहरूले नयाँ कार्य समिति पाटीगत नरही पूर्णरुपमा बफादार भई कलाको हितमा निरन्तर नीतिगत सुधार गर्दै कार्य गरे सबै कलाकार तथा कलाप्रेमिको समितिप्रति विश्वास बढ्ने बताएका थिए ।

कार्यक्रमको स्वागत उपकुलपति लालकाजी लामाले गरेका थिए ।

सहभागीहरूले राखेका सुझावहरू :

  • कलाकार परिचय पत्र नाफाबाट वितरण गरिनु पर्ने ।
  •  सबै प्रकारको कला विभागको अवधारणालाई नाफाले नीति परिमार्जन गरी सोही अनुरूपको कार्य योजनामा समेट्नु पर्ने ।
  • कला म्युजियम‚ कला ग्यालरी‚ कला लाइब्रेरीको अवधारणालाई अघि सार्नुपर्ने ।
  • राष्ट्रिय प्रदर्शनीमा भएका कमीकमजोरीलाई सुधार्दै‚ प्रदर्शनीमा राखिएका सबै कलाकृतिको उचित सम्मान स्वरूप संरक्षणमा विशेष ध्यान दिनुपर्ने ।
  • वार्षिक प्रदान गरिने राष्ट्रिय कला पुरस्कारबाट सम्मानित कलाकारको कलाकृतिलाई वर्ष भरिनै कसरी प्रमोट गर्न सकिन्छ त्यसलाई बिचार्नु पर्ने ।
  • कलासँग आबद्ध सङ्घसंस्थाहरूले पनि कला विकासमा टेवा पुर्‍याउने हुँदा आगामी योजनाहरूमा तिनलाई सहकार्यमा लैजानु पर्ने ।
  • कलाको अवधारणालाई जनमाससम्म पुर्‍याउन प्रदेश देखि स्थानीयसँग सहकार्य गर्दै जानुपर्ने ।
  • अन्तर्राष्ट्रिय निकायहरूसँग पनि नाफाले आफ्नो सम्बन्ध विस्तार गर्दै लानुपर्ने आदि ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका