अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्छु : मुख्यमन्त्री जम्कट्टेल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
हेटौँडा

वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्मती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएको छ । उनले शनिवार हेटौँडामा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएको हो ।

कार्यक्रममा बोल्दै उनले विगतमा प्रदेश सरकारले गरेको लगानीले जनजीवनमा प्रभाव परेको नदेखिएकोले यस पटक भने समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने जनाए । प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरूमा लगानी गरेर जनताले महसुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको उनले बताए । कर्मचारीहरूको विषयमा बोल्दै उनले कर्मचारी सङ्गठनहरूले विषय र योजना बनाउँदा करार र अस्थायी कर्मचारीहरूको पनि हकहितको विषय समेट्न उनले आग्रह गरे । उनले तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा पनि गम्भीर बन्न सुझाए ।

कर्मचारीहरूको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयहरूमा सुझाइदिन समेत उनले कर्मचारीहरूलाई नै आग्रह गरे । कर्मचारीहरूले पनि सरकारलाई सफल बनाउन लागिपर्नुपर्ने उनको भनाई थियो ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेसँगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहनुभएको आरोप लगाएको छ । उहाँको अनुसार शान्त प्रक्रिया टुङ्गोमा पुर्‍याउने मुद्दा ओलीले वास्ता नगरेको कारण सम्बन्ध चिसिएको हो । बाहिर हेर्दा राष्ट्रपति पदको मात्र मुद्दा जस्तो देखिए पनि भित्रीरुपमा शान्ति प्रक्रियाको विषयमा कुरा नमिलेको उनको भनाई रहेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, केन्द्रीय सदस्य वसन्तराज गौतम लगायतले मन्तव्य दिएको थियो ।

तपाईको प्रतिक्रिया