हिमाल अवलोकनका साथै बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङस्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म १२ हजार छ सय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दा बढी पर्यटकको आगमन भइरहेको छ ।
हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पुर्याउने हेतुले विसं २०३५ देखि लाङटाङको क्याङ्जेनबाट सुरु गरिएको होटेल व्यवसाय अहिले पैदल मार्गका विभिन्न स्थानमा सञ्चालनमा छन् ।
पहिलो पर्यटन व्यवसायी स्व रेञ्जेन दोर्जे तामाङ ज्याङ्वाले चौँरी गोठबाट होटेल तथा लज शुभारम्भ गर्नुभएको स्थानीय लाङटाङवासीले बताए ।
गत साउनदेखि माघ मसान्तसम्म सार्क राष्ट्रका दुई सय ४५ एवं अन्य देशका चार हजार सात सय पाँच जनासमेत गरी चार हजार नौ सय ५० जनाले निकुञ्जको हिमाली क्षेत्रमा भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।
उनका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकको प्रवेश शुल्कका साथै अन्य गतिविधिबाट कूल १ करोड ८० लाख २० हजार छ सय ६४ रुपैयाँ आय भएको छ ।
गत आवमा १ करोड ७५ लाख २३ हजार छ सय १४ रुपैयाँ सङ्कलन गरेको निकुञ्जले यस वर्षको सात महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिए ।
विसं २०७२ को भूकम्पपछि फाट्टफुट्ट आगमन सुरु भएको आन्तरिक पर्यटकको सङ्ख्या हिजोआज निकै वृद्धि भएको र यो हिसाबले बढ्ने हो भने आगामी दिनमा वार्षिक २० हजार भन्दा बढीको आगमन हुने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन् ।
पर्यटकका लागि गुणस्तरीय वासस्थान मिलाउन उत्तरी रसुवाका विभिन्न स्थानमा साना ठुला तीन सयभन्दा बढी पर्यटकीय होटेल सञ्चालन भइरहेको होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए ।
यस्तै आकाश मार्गबाट हिमाली सम्पदाको अवलोकन र पवित्र तीर्थ गोसाइँकुण्डको स्नानका लागि हेलिकोप्टर प्रयोग गर्ने यात्रुको सङ्ख्यासमेत क्रमशः बढ्न थालेको छ । हेलिकोप्टरको उडान भर्ने प्रायः सबै एयरलाइन्सले सेवा दिने गरेका कारण पवित्र तीर्थमा ज्येष्ठ नागरिकलाई लगेर स्नान र पूजाआजा गराउन सहज भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
हेलिकोप्टर कम्पनीले उडान भरेबापत कम्पनीको आय वृद्धि हुनाका साथै राज्य कोषमा अवतरण शुल्कबापत राजस्वसमेत दाखिला हुँदै आएको छ ।
विभिन्न नौ वटा यात्रुवाहक हेलिकोप्टर कम्पनीले काठमाडौँ–गोसाइँकुण्डको उडान–अवतरण शुल्कबापत ९ लाख ६७ हजार छ सय ५० रुपैयाँ गत वर्ष राज्य कोषमा दाखिला गरिसकेको निकुञ्ज कार्यालयले जनाएको छ ।
गत साउनदेखि पुस मसान्तसम्मको अवतरण शुल्कबापत पाँच वटा कम्पनीबाट २ लाख ५२ हजार रुपैयाँ राजस्व दाखिला भइसकेको र राजस्व दाखिला नगर्ने कम्पनीलाई भने ताकेता गरिरहेको जनाएको छ ।