बौद्ध दर्शन तथा गुम्बा विकास समितिद्वारा निर्माण गरिएको ‘पूर्व ६ घ्याङ’ नामक वृत्तचित्र सार्वजनिक गरिएको छ ।
हालै सार्वजनिक गरिएको वृत्तचित्रमा पूर्वमा रहेका ‘६ घ्याङ’ को महत्त्वलाई प्रस्ट्याउँदै धार्मिक‚ सांस्कृतिक तथा सामाजिक रूपमा समुदायमा कस्तो स्थान छ भन्ने कुरा वृत्तचित्रमा व्याख्या गरिएको छ ।
बौद्धमार्गी तामाङ समुदायमा घ्याङको परापूर्व कालदेखि के कस्तो महत्त्व छ र इतिहासबारे प्रस्ट्याएको गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए। उनले भने,‘यस्तै पुरातात्त्विक तथा ऐतिहासिक महत्त्व झल्काउने ‘घ्याङ’ को हालको अवस्था के कस्तो छ सोको पूर्ण जानकारी पनि वृत्तचित्रले उल्लेख गरिएको छ ।’
पूर्वका ६ घ्याङहरू सिन्धुपाल्चोक जिल्लाको ह्रिस्याङगो घ्याङ, दोलखाको चरी घ्याङ, काभ्रेपलान्चोकको नाङग्रे बाँझोखेत घ्याङ, काभ्रेपलान्चोककै बाङथली घ्याङ, रामेछापको पोङ्दी घ्याङ र रामेछापकै डोङ्मे घ्याङको विस्तृत जानकारीसहितको वृत्तचित्र निर्माण गरिएको छ ।
बौद्ध धार्मिक, आध्यात्मिक एवं शैक्षिक केन्द्रको रूपमा रहेका यस्ता ‘घ्याङ’ हरूको खोजी तथा संरक्षणको अवधारणा आफैमा महत्त्वपूर्ण विषय रहेको समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले बताए ।
प्राचीनकालदेखि नै नेपालको उत्तरी हिमाली भेगमा बसोबास गर्ने हिमालीबासीहरुले प्रायः प्रत्येक गाउँमा गोन्पा (घ्याङ) स्थापना गरी बौद्ध धर्म, दर्शन, साहित्य, कला आदि विषयको निःशुल्क अध्ययन, अध्यापन गुरु परम्पराअनुसार गराउनुका साथै अभ्यास पनि हुँदै आएको देखिन्छ ।
आवश्यक पूर्वाधार विकासमा ध्यान पुगे पूर्वी ६ घ्याङ कोशेढुङगा साबित हुने वृत्तचित्रको देखाइएको छ ।