रसुवाको गतलाङमा वन व्यवस्थापन सम्बन्धी अध्ययन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
70 Shares
रसुवा

डढेलोका कारण केही नउम्रिएपछि उत्तरी रसुवाको गतलाङ वनमा वन व्यवस्थापनको अध्ययन थालिएको छ ।

डढेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीबाट स्थलगत अध्ययन एवं माटो परीक्षण गरिएको हो ।

गतलाङको करिब सात सय हेक्टर जमिनमा रहेको जङ्गल २०६५ सालमा लागेको डढेलो चपेटाका कारण नष्ट भएको थियो । फलस्वरुप समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या रहेको छ । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ ।

डढेलो लागेको गतलाङ पाखामा कुहिएको काठ व्यवस्थापनपश्चात विज्ञको सिफारिसका आधारमा स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपण गरिने वन प्राविधिकले बताएका छन् ।

यसैगरी स्थानीय बासिन्दाले मसलाका रूपमा प्रयोग गर्ने टिमुर रोपणलाई प्राथमिकता दिइने छ । नीतिअनुरुप जिल्ला वन कार्यालय रसुवाले बहुवर्षीय रूपमा २० हजार टिमुरका बिरुवा उत्पादन एवं वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।

गतलाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिँदै डिभिजन वन अधिकृत अनिल रेग्मी भन्छन्,‘दश सामुदायिक वनमा भने प्राकृतिक रूपले पुनःउत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन गर्नेछौं ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका