पारिजात स्मृति केन्द्रले ‘पारिजात सम्मान –२०७९’घोषणा गरेको छ ।
मङ्गलवार म्हेपीस्थित पारिजात स्मृति भवनमा पारिजातको ८९ औँ जन्म जयन्तीको अवसरमा केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्मानको घोषणा गरेको हो ।
यस वर्ष ‘पारिजात सङ्घर्षशील नारी सम्मान–२०७९’ सिन्धुलीकी की गोमा देवकोटालाई, ‘पारिजात सिर्जन सम्मान–२०७९’ साहित्यकार शार्दूल भट्टराईलाई, ‘पारिजात बाल साहित्य सम्मान–२०७९’ बाल साहित्यकार गङ्गा कसजूलाई र ‘पारिजात कला सम्मान–२०७९’ सङ्गीतकार गुज्ये मालाकारलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
स्रष्टाहरूलाई पारिजातको ३० औँ स्मृति दिवसका अवसरमा आगामी वैशाख ५ गते केन्द्रमा हुने स्मृति सभामा उल्लेखित सम्मान प्रदान गरिनेछ ।
कार्यक्रममा पारिजातको प्रतिमालाई माल्यार्पण गर्दै उनको स्मरण गरिएको थियो । केन्द्रका संरक्षक तथा पारिजातकी बहिनी सुकन्या वाइबा र डा.महेश मास्केबिच भएको परिसंवादमा वाइबाले दिदी पारिजातलाई स्मरण गर्दै उनको स्वभाव, साहित्य लेखन, प्रगतिशील धार र माक्र्सवादले उनको जीवनमा ल्याएको परिवर्तनबारे खुलाइन् ।
कुराकानीकै क्रममा पारिजातको निडर स्वभाव र प्रेमप्रसंगबारे समेत उनले उजागर गरिन् । उनका अनुसार पारिजातका नखुलेका थुप्रै प्रसङ्गहरू समेटिएको उनको आत्म संस्मरणात्मक कृति समेत प्रकाशन हुने तरखरमा छ ।