चलचित्र ‘प्रेमा’को ‘फूल यो चुँडेर’ गीत सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

यही चैत १७ गते अर्थात् मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।

फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबिच खटपट भएको बुझ्न सकिन्छ ।

गीतमा तीन पात्रको पीडालाई अलग अलग भावमा देखाइएको छ । केही दृश्यमा भने उनीहरूको प्रेमलाई पृष्ठभूमिका रूपमा प्रस्तुत गरिएको छ । गीत हेर्दा प्रेमको बढी पीडा शुभेक्षा र अरुणलाई भएको अनुभव गर्न सकिन्छ ।

फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको हो ।

गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौँ, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन र महेश पौडेल (WICA) को डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका