ललितकलामा छापा चित्रकला प्रदर्शनी

प्रिन्ट मेकिङमा निर्मित छापा चित्रहरू प्रदर्शनी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा छापा माध्यमद्वारा सिर्जना गरिएका कलाकृतिहरूको प्रदर्शनी सुरु गरिएको छ । प्रतिष्ठानको समसामयिक चित्रकला, वास्तुकला तथा सिर्जनात्मक कला विभागको संयुक्त आयोजनामा गरिएको चार दिने प्रिन्ट मेकिङ कार्यशालामा निर्मित छापा चित्रहरू प्रदर्शनी गरिएको हो ।

बुधवार प्रतिष्ठानमा गरिएको कार्यक्रममा भारतका अग्रज कलाकार तथा लखनउ विश्वविद्यालय कला एवं शिल्प महाविद्यालयका पूर्व प्रधानाचार्य एवं डीन जयकृष्ण अग्रवाल, प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्याय, हालका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा लगायतको सहभागितामा प्रदर्शनी शुभारम्भ गरिएको थियो ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा प्रिन्ट मेकिङ अध्ययनरत युवा कलाकारहरू सहभागी थिए । प्रदर्शनीमा १० जना भन्दा बढी युवा पुस्ताका कलाकारहरूका दर्जनभन्दा बढी छापा चित्रहरू प्रदर्शनरत छन् । कलाकारहरूले पुरानो विधालाई पछ्याउँदै सिर्जनामा आफ्नै मौलिक संस्कृति, सम्पदा, धर्म, प्रकृति र मानवीय संवेदनालाई चित्रण गरेका छन् । प्रिन्ट माध्यमलाई कलामा निकै पुरानो विधा मानिन्छ ।

छैटौँ र सातौँ शताब्दीतिर चीनमा विकास भएको प्रिन्ट माध्यमको कला जापान, युरोपियन देश हुँदै भारतसम्म फैलिएको हो । नेपालमा बौद्ध धर्म र संस्कृतिको निकै लामो इतिहास भएकोले काठको ब्लगबाट बनेका प्रिन्ट कलाको विकास पनि पुरानै रहेको कलाकार अग्रवालले बताए । प्रिन्ट कलामा नेपाली युवापुस्ताले समकालीन कला विधामा आफ्नै मौलिक संस्कृतिलाई चित्रण गरेकोमा उनले खुसी व्यक्त गरे । ‘अहिले कला र कलाकार राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा गएको छ’, उनले भने,‘कलाकारले कलामा आफ्नोपना, मौलिकता र संस्कृतिलाई सँगसँगै लैजानुपर्छ ।’ प्रिन्टकला नेपाल, तिब्बत भएर युरोप घुम्दै फेरि नेपालमा नै आइपुगेको पूर्वकुलपति उपाध्यायले बताइन् । उनका अनुसार युरोप पुगेपछि भने यसले व्यावसायिक रूप लिएको थियो । कलाकारहरू माइकल एञ्जेलो, पाब्लो पिकासोले आधुनिकतामा रूपमा ढालेपछि यो विधा अझै स्थापित भएको हो ।

नयाँ पुस्तासँगको नयाँ कार्यले प्रतिष्ठान र कलाकार दुवै पक्षलाई ऊर्जा मिलेको कुलपति हार्तम्छालीले बताए । कलामा बुद्धको जस्तै ध्यान, तपस्या आवश्यक भएकाले कला क्षेत्रलाई संयमका रूपमा लिँदै नयाँ पुस्तालाई यसमा ध्यानमग्न भएर निरन्तरता दिन उनले सुझाए । प्रतिष्ठानको नीति, नियम र विधान अनुसार कलाकार र कला सिर्जनामा प्रतिष्ठान सहकार्य गर्न सदैव तत्पर रहेको उनले प्रतिबद्धता जाहेर गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका