उपराष्ट्रपति पदको लागि आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा मतदान हुँदै छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमीला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरूका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।