उपराष्ट्रपति रामसहायप्रसाद यादवको जीवन कहानी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं

नेपालको चौथो उपराष्ट्रपतिको रूपमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा यादव २०२७ साउन ९ गते बाबु प्रसादराय यादव र सिंहवादेवी यादवको कोखबाट जन्मिएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।

यादवले बीएस्सी, बीएडसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । राजनीतिमा आउनुअघि १७ वर्ष शिक्षण पेसामा जीवन बिताएका यादव २०४८ सालदेखि २०६४ सालसम्म शिक्षकको भूमिकामा थिए भने त्यसपछि पूर्णकालीन राजनीतिमा लागेका थिए ।

२०४७ सालमा उनी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहबाट प्रेरित भएर राजनीतिमा लागेका थिए । नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी २०६० सालदेखि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा आबद्ध भएका थिए । सुरुमा उनी फोरमको बारा जिल्लाको संस्थापक अध्यक्ष बनेका थिए ।

शिक्षा

२०४३ सालमा श्री कंकाली मावि सिम्रौनगढ, बाराबाट एसएलसी उत्तीर्ण गरेका उनले २०४६ सालमा भारतको डा बाबासाहेब भिमराव अम्बेडकर विश्वविद्यालय मुजफ्फरपुरबाट गणित र विज्ञान विषयमा बीएससी गरेका थिए । यस्तै २०५५ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जबाट गणित विषयमा बीएड तह पूरा गरेका थिए । २०४८ सालमा शिक्षण पेसामा प्रवेश गरेका उनले २०६४ साल फागुन १६ गते शिक्षक पदबाट राजीनामा दिएका थिए । २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आबद्ध रहेका यादव पछि नेपाल शिक्षक मञ्च, बाराको संस्थापक अध्यक्ष बने । पछि उनी नेपाल शिक्षक मञ्च, केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारीमा रहे ।

पार्टीमा आबद्ध

२०५० सालमा वीरगन्जमा भएको नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनमा उनी पर्यवेक्षक रहेका थिए भने विराटनगरमा भएको नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशन र २०५९ सालमा राजविराजमा भएको पाँचौँ महाधिवेशनमा उनी प्रतिनिधि थिए । पाँचौँ महाधिवेशनमा पार्टीमा विवाद भएर फुटतर्फ गएपछि पार्टी एकता कायम राख्न उनी सप्तरी सेवा आश्रममा आमरण अनसनसमेत बसेका थिए ।

 

गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दी देवीले उनको अनसन तोडाएकी थिइन् । पछि आनन्दीदेवीकै नेतृत्वमा बनेको नेपाल सद्भावना पार्टी ९आनन्दी०बाट राजनीति अघि बढाएका थिए । यादव २०६० साल फागुन ७ गतेदेखि मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक अध्यक्ष भएर काम गर्न थाले । यस्तै २०६० सालमा भारतको पटनामा भएको मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य भएका थिए ।

२०६२/०६३ जनआन्दोलन

२०६२/०६३ सालमा भएको जनआन्दोलनका बेला उनी काठमाडौँमा पक्राउ परेका थिए । यस्तै २०६२/०६३ सालमा मधेसमा भएको आन्दोलनमा क्रममा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्व गर्दा ५–६ पटक उनी गिरफ्तारीमा परेका थिए ।

समानुपातिक सांसद

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक तर्फको सांसद भए उनी २०६५ सालमा पार्टी महासचिवको जिम्मेवारीमा रहे । २०७२ सालमा मधेसी जनअधिकार फोरम, नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम, नेपालको महासचिव भएका थिए उनी । यस्तै उनी २०७४ सालमा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७५ सालमा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव भए । २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बिच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए ।

मन्त्री

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७८ सालमा उनी वन तथा वातावरण मन्त्री भएका थिए । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता बन्न सफल भएका थिए ।

भ्रमण

उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले पार्टी तथा सरकारको प्रतिनिधि भई अमेरिका, पोल्यान्ड, चीन, बेलायत, (स्कटल्यान्ड, इंग्ल्याण्ड) बेल्जियम, युएई लगायतका देशको भ्रमण गरेका छन् ।  पछिल्लो समय उनी जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य र संसदीय दलको नेताको भूमिकामा थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका