नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २ जहरसिंह पौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

काठमाडौँ शाखाको सदस्य रही निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेशकुमार बोहोराले जानकारी दिए ।

चैत्र २५ गते हुने साधारण सभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारण सभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ । कार्यसमिति सदस्य रमेशकुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकले समसामयिक विषयमा ९ बुँदे शङ्करापुर घोषणापत्र समेत जारी गरेको छ ।

यस्तो छ घोषणा पत्र

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको शंखरापुर घोषणापत्र

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको शंखरापुर नगरपालिका २, जहरसिंह पौवास्थित लाङटाङ इको रिसोर्टमा २०७९ चैत ३ र ४ गते बसेको बैठकले निम्न घोषणापत्र जारी गरेको छ ।

  • श्रमजीवी पत्रकारहरूको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून रहेको वर्तमान अवस्थामा सञ्चारकर्मीहरूलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज अवस्था बन्दै गएको हुँदा न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखा माग गर्दछ ।
  • साना तथा स्वरोजगारमूखी सञ्चारमाध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिँदै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकमलाई दोब्बर बनाउन सरकारसमक्ष शाखा यस घोषणापत्रमार्फत विशेष माग गर्दछ ।
  • यस्तै नेपाल सरकारबाट साना लगानी तथा स्वरोजगार मूलक सञ्चार माध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रु। १० लाखबाट बढाइ रु। २५ लाख पुर्‍याउन शाखा यस घोषणापत्रमार्फत जोडदार माग गर्दछ ।
  • अनलाइन सञ्चार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौँ ।
  •  नेपाल पत्रकार महासङ्घले श्रम समस्या देखिएका सञ्चार गृहहरूमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थप सशक्त कार्यक्रम घोषणा गर्न शाखा यस घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गर्दछ । साथै, श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारिश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्कासन गर्ने संंचार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन महासङ्घ सरकारसमक्ष जोडदार माग राख्दछ ।
  • सरकारले विगतको बजेटमार्फत नै पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि यस शाखा सरकारसँग माग गर्दछ । साथै, सरकारले पत्रकारहरूका लागि लागु गरेको दुर्घटना बिमाको प्रक्रियालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बिमामा रूपान्तरण गर्न गराउन शाखा माग गर्दछ ।्
  • सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरूलाई उपबन्ध गराउने गरी तथ्याङ्क सङ्कलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासङ्घका शाखाहरूलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलब्ध गराउन शाखा माग गर्दछ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेरहद् ६० वर्ष कायम गर्न पनि शाखा सम्बन्धित पक्षसँग माग गर्दछ ।
  •  पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम उपलब्ध गराउन तथा सञ्चार गृहहरूलाई महिला मैत्री बनाउन शाखा सरकारसँग माग गर्दछ ।
  •  विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बहानामा रोक्दै आएको गुनासो आइरहने गरेको हुँदा विभिन्न बहानामा रोकिएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेत सहजता प्रदान गर्न र विज्ञापन बोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखा जोडदार माग गर्दछ । साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौँ ।
  • बैठक स्थल शंखरापुर नगरपालिका काठमाडौँको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेर पनि सडक सुविधाका दृष्टिबाट पछि परेको र सरकारी पक्षको ध्यान कम पुगेको देखिएकाले पर्यटकीय गन्तव्यलाई सहज पूर्वाधारसहितको विकासमा ध्यान दिन तथा सडकको स्तरउन्नती गर्न सरकारसँग माग गर्दछौँ । साथै शंखरापुर नगरपालिकासँगसमेत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि आग्रह गर्दछौ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका