तीन दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील र तामाङ चलचित्र क्षेत्रको लेखक‚ निर्देशक दीपेन्द्र विक्रम दोङको शनिवार निधन भएको छ । काभ्रेको तेमाल गाउँपालिका- ४ कल्लेरीमा २०३६ चैत ९ गते जन्मिएका उनी ४३ वर्षको उमेरमा असामयिक निधन भएको हो ।
तामाङ पत्रकार संघका सल्लाहकार एवं पूर्वउपाध्यक्ष (तत्कालीन तामाङ सञ्चार समूहका संस्थापक सचिव (२०६१), महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका उनको दुई साताअघि ब्रेनस्ट्रोक भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।
नेपाल समाचारपत्र, रेडियो सगरमाथा, रेडियो एचबिसी, टाइम्स एफएम, इमेज च्यानल, सिटिजन एफएम, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक, न्युज २४ टेलिभिजन, जनता रेडियोको स्टेसन मेनेजर, जनता टेलिभिजनमा एक्ज्युकेटिभ प्रोड्युसरका रुपमा काम गरिसकेका उनी पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृत तथा सम्पादक ( २०७९ माघ १ बाट), सरलरेखा डट कममा प्रधानसम्पादकका रुपमा कार्यरत थिए । तामाङले पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्तानकोत्तर गरिएको थिए।
साहित्यमा कथा, गीत, गजल, कवितामा प्रशस्त कलम चलाएका स्व. तामाङको ‘नाम्सारी’ उपन्यास (२०५९ तामाङ), ‘हिमपुत्री’ उपन्यास (२०५४), ‘मध्यारातको घाम’ नेपाली गीति संग्रह, २०५४, ‘वेदनाका लहरहरु’ नेपाली गीति संग्रह, २०५२, ‘शंका’ नेपाली एकांकी नाटक, २०५१, ‘जेसुम’ तामाङ गीति नाटक, २०६९ प्रकाशित छन् ।
तामाङ चलचित्र लेखन तथा निर्देशन गरेएका स्व. तामाङले अभिनयसमेत गरेका थिए । स्व. तामाङले ‘मयुङ बुरिङ’ (तामाङ चलचित्र २०५८) र ‘चाङछार’ (तामाङ चलचित्र)काे लेखन तथा निर्देशन पनि गरेका थिए । पत्रकारिता क्षेत्रका विभिन्न पुरस्कारसमेत प्राप्त गरेएका स्व. तामाङले पछिल्लो समय अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एसिया च्याप्टरका महासचिव समेत चयन गरेका थिए ।
स्व. तामाङको बौद्ध धर्म परम्पराअनुसार सोमबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने भएको छ । अहिले काठमाडौंको बौद्धस्थित तामाङ गुम्बामा उनको पार्थिव शरीर रहेको र सोमवार ९ बजे गुम्बाबाट २ घण्टा श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने कार्यतालिका रहेको छ । मृतक तामाङको श्रीमती, एक छोरा र एक छोरी छन् ।
स्व. दोङ सबैको सल्लाहकार, मिलनसार, आँखामा राख्दा पनि नबिझाउने थिए । पत्रकारिता गर्नेहरू तामाङ पत्रकार र तामाङ फिल्म क्षेत्रमा उदाउँदै गरेकाहरूका लागि हौसला खानी थिए‚ उनी । यस्तै पत्रकार एवं लेखक प्रतीक तामाङले स्टाटस लेखेका छन्‚ ‘छार गोङमा मासिक प्रकाशनको दुई वर्ष पनि भएको थिएन । एक दिनको हाम्रो बसाइँमा दीपेन्द्रसँग मैले भनेँ, ‘म त पत्रिकाबाटै अब कम्तीमा चिया खाजा, पेट्रोलको जोहो गर्ने गरी अगाडि बढ्ने सोच बनाएको छु ।’ उसको प्रतिक्रिया थियो, ‘उसो हो भने तपाईँको पत्रिका लामो समय टिक्छ । बिचमा हराउँदैन । यही सोच र योजना नभएकाले धेरै पत्रिका अल्पायुमै बन्द हुन पुगेको हो ।’ उसको टिप्पणीले मलाई छोएन मात्र, कता कता हौसला पनि मिल्यो । यति मात्र नभएर छार गोङमा पत्रिका र मेरो अन्य विषयहरूमा पनि केही सल्लाह, सुझाव लिनुपर्दा म दीपेन्द्रलाई सम्झीहाल्थेँ । उसलाई भेट्न हतार भइहाल्थ्यो । समय मिलाएर हामी घण्टौँ गफिन्थ्यौं । उसको टिप्पणी, सुझावहरूको गहिराइले मलाई कस्तै असहज परिस्थितिमा पनि आनन्द मिल्थ्यो । अझ ऊर्जा मिल्थ्यो । मलाई अति नै नजिकबाट चिन्ने, अझ मेरो पेसालाई बुझ्ने मध्येमा दीपेन्द्र पनि एक जना थियो ।’
मष्तिस्कघात भएर थलिएका दीपेन्द्र मृत्युलाई परास्त गरी फर्केर आउने छन् र आफ्नो कर्ममा सदा झैँ जोडिने छन् भन्दै हामी कामना गरिरहेका थिए । तर आज अचानक यति अप्रिय खबर सुन्नुपर्दा मन थाम्न गाह्रो भइरहेको छ । पत्रकारिता, चलचित्र, गीत सङ्गीतजस्ता विभिन्न विधाका बारेमा उनीसँग जोडिएका र काम गरेका ती दृश्यहरू फेरि ताजा भइरहेको छ । आफूभन्दा कान्छो मित्रलाई यति कम उमेरमा गुमाउनु पर्दाको पीडा सहनुको विकल्प रहेन । परिवार र आफन्तजनमा छाएको शोकको त हामी अनुमान गर्नै सक्दैनौँ । सञ्चार जगत् र हाम्रो सिङ्गो समुदाय यति होनहार प्रतिभा गुमाउनु पर्दा स्तब्ध छ । कसरी लेखौँ अलबिदा, कसरी भनौँ अलबिदा !
यस्तै तामाङ टाईम्स त्रैमासिकको प्रधान सम्पादक डा. चूडादेव सिंह लामा घिसिङले लेखेका छन्‚ ‘बि.सं २०५४ साल कार्तिकमा ‘तामाङ टाईम्स’ त्रैमासिक पत्रिका तामाङ भाषा लगायतका सञ्चार सामग्रीहरू समाजमा प्रसारण गर्ने उद्देश्यले संस्थापक सदस्य रही सम्पादकको जिम्मेवारीमा रहेका र पछि जिम्मेवारी उक्त संस्थामा नै बुझाई अलग रहेका थिए । ब्रेन स्ट्रोकको कारणले बिरामी भई मेडासिटि अस्पतालमा उपचारको क्रममा परलोक भएका अति मृदुभाषी, मिलनसार, तामाङ सञ्चार जगतकै प्रखर एवं समाज हितकारी दीपेन्द्र भाइको यो दुःखद निधन समाचारले हामी म लगायत सम्पूर्ण तामाङ टाईम्स परिवार दुखी भएका छौँ । यस दुःखद घडीमा वहाँको शोकमा रहेका सन्तप्त सपरिवारहरूमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान होस भनी ‘साङ्गे हो पामे’ अमिताभ बुद्धमा प्रार्थना गर्दछौँ । साथै स्व. दीपेन्द्र भाइको तुषिता भुवन सिंङघाममा बास होस । ….. ओम आमी देवा ह्रि …. १०८ । ….ओम मणि पद्मे हुंग ….. १०८ तामाङ टाईम्स त्रैमासिक परिवार,केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँ।!’
यसै गरी तामाङ पत्रकार सङ्घ‚ तामाङ कलाकार सङ्घ, तामाङ सोसाइटी अफ पेन्सलभेनिया अमेरिका लगायतका संस्थाहरुले शोक बक्तब्य जारी गरी श्रद्धाञ्जली दिएका छन् । स्व. दोङको अल्पायुको निधनले पत्रकारिता र तामाङ चलचित्र जगतमा अपूरणीय क्षति पुगेको छ । अब उनी हामीमाझ सम्झनामा मात्र रहनेछ ।