कलाको सिर्जना, खोज, अध्ययन र लगावले उनीहरू दुवैलाई समयले एकै ठाउँमा जोडिदियो । ठाउँ मात्र नभएर दुवैको मन र सिर्जना यात्रा झनै बलियो गरी कसियो । त्यसपश्चात् भने दुवै एक भएर कला र जीवनयात्रा सँगसँगै अगाडि बढाइरहेका छन्, कलाकारहरू द्वय ईशान परियार र सबिता डङ्गोल ।
पोखराका ईशान र काठमाडौँ निवासी सबिताको भेट कला अध्ययन र सिर्जनाको क्रममा नै भयो । कलासँगै दुवैले एक–अर्कालाई नजिकैबाट नियालेपछि २०७२ सालमा विवाह बन्धनमा बाँधिए । हाल दुवैको कला र जीवन यात्रा निकै सुमधुर रूपमा अगाडि बढिरहेको छ । ईशान डुङ्गा, प्रकृति र सम्पदालाई मुख्य बिम्ब बनाएर कला सिर्जना गर्छन् भने सबिताले मुख्यतः काइँयोलाई बिम्ब बनाएर त्यसैमा प्रकृति, मानवीय सम्बन्ध र अर्थहरूलाई खोतल्दै आएकी छन् । दुवैका कला सिर्जनाका शैली फरक भए पनि उनीहरू कलामार्फत नै प्रकृति र मानवबिचको गहकिलो सम्बन्धको निचोड खोज्छन् र एक–अर्कामा समर्पित हुन्छन् । कहिलेकाहीँ त उनीहरू एकै क्यानभासमा कुची र रङ्ग चलाउँछन् र आ-आफ्ना कला शैलीका भाव व्यक्त गर्न पुग्छन् । ती कलाकृतिहरूले विशेषतः उनीहरूको वैवाहिक जीवन र एक-अर्काका प्रेमप्रति इङ्गित गर्छन् । वैवाहिक जीवन, प्रेम, कला यात्रा र समर्पण भाव चित्रण भएका दुवैका कलाकृतिहरू यति बेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । विशेषतः आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर ईशान र सबिताले संयुक्त रूपमा कला प्रदर्शनी गर्दै आएका छन् । हालको प्रदर्शनीमा दुवैका गरी डेढ दर्जनभन्दा बढी कलाकृतिहरूमा आम कलाप्रेमीहरुले उनीहरूबिचको प्रेम, मानव, प्रकृति तथा सम्पदाप्रतिको चेत अवलोकन गर्न सक्छन् ।
प्रदर्शनीमा दुवैले एकल र संयुक्त रूपमा सिर्जना गरिएका कलाकृतिहरू समावेश छन् । पृष्ठभूमिमा चन्द्र र सूर्य अङ्कित शिव र पार्वतीको स्वरूप झल्काउने अर्धनारीस्वर चित्रण गरिएको क्यानभासमा दुवैको सिर्जना देख्न सकिन्छ । जहाँ शिव र पार्वतीलाई दुवैले पुरुष र प्रकृतिको संयोजनलाई देखाउने जमर्को गरेका छन् । त्यसैमा सविताले चित्रको पृष्ठभूमिमा काठमाडौँ र ईशानले पोखराको माछापुच्छ्रेलाई निकै सुन्दर रूपमा चित्रण गरेका छन् । सविताको काइँयो र मसिना बुट्टेदार शैली तथा रातो रङको संयोजनले चित्र निकै लोभलाग्दो देखिन्छ । यसलाई सविता दुवैको सुन्दर सिर्जनाका रूपमा लिन्छिन् । ‘हामी दुवैले यसमा आ–आफ्नै तरिकाले आर्ट गरेका छौँ’, उनले भनिन्,‘शिव र पार्वती महिला र पुरुषको दुवै रूप मात्र होइन महिला आफैँ पनि प्रकृतिको रूपमा हामी बुझ्छौँ । जसरी चन्द्र र सूर्य बिना एउटा दिन हुँदैन, महिला र पुरुष पनि एक अर्काका लागि एकदमै पर्याय हुन् ।’ एउटै क्यानभासमा एक ठाउँमा बसेर सिर्जना गरिरहँदा एक अर्कालाई प्रतिरोध हुँदैन भन्ने प्रश्नमा ईशान थप्छन्,‘एकै ठाउँमा बसेर त हामी सधैँ जसो आर्ट गरिरहेका हुन्छौँ । एउटै क्यानभासमा दुवैको आइडिया र भाव आउँदा झन् रमाइलो हुन्छ । उनले मेरो र मैले उनको आर्ट हेरेर हामी नयाँ कुरा सिकिरहेका हुन्छौँ ।’
वैवाहिक जीवनपछि सविताले आफ्नो कलामा एक युगल जोडीलाई चित्रण गरिरहेकी छन् । हालको प्रदर्शनीमा पनि उनले सिर्जना गरेका कलाकृतिहरूमा त्यही क्रम जारी छ । उनको सिर्जना रहेको सुगामा यात्रा गरिरहेको एक युगल जोडी चित्रित चित्र निकै सुन्दर देखिन्छ । त्यसैमा एक हातमा इयरफोन र अर्को हातमा सेल्फी स्टिक देख्न सकिन्छ । त्यस्तै ईशानले दुवैलाई चित्रित गर्ने चित्रसँगै काष्ठमण्डप र डुङ्गामा विभिन्न जीव जनावरको स्वरूपलाई प्रस्तुत गर्दै पृथ्वीमा अन्य जीवको बाँच्न पाउने उत्तिकै हक रहेको कुरा उजागर गरेका छन् । साथै सम्पदा संरक्षण र संवर्द्धनको आवाज समेत बुलन्द रूपमा उठान गरेका छन् । दुवैलेको सिर्जनामा प्रेम र समर्पण त छँदै छ, त्यसैमा समकालीन समयको बोध गराउने चेत अत्यन्तै उत्कृष्ट लाग्छ ।
प्रेम र समर्पणको भावले सिर्जना गरिएका कलाकृतिहरू भने ईशानलाई प्रदर्शनीमा कसैले नकिने दिए हुन्थ्यो झैँ लाग्छ । ‘हामी आफैँलाई सम्झेर बनाइएका चित्रहरू आफ्नै फोटो वा स्वरूप जस्तै लाग्दो रहेछ । त्यसैले प्रदर्शनीमा राख्न अलि अप्ठ्यारो नै लाग्छ’, उनले हाँस्दै सुनाए । युगल जोडीका रूपमा देखिने अधिकांश चित्रहरूमा दर्शकले दुवैको अत्यन्तै गहिरो प्रेम अनुभव गर्न सक्छन् । आफ्नो वैवाहिक जीवन जसरी बितेको छ, त्यही भाव चित्रमा पनि देखिएको सबिता सुनाउँछिन् । उनको कुरामा मुस्कुराउँदै ईशानले सहमति जनाए ।
दुवैको कला प्रदर्शनी चैत्र १७ गतेसम्म जारी रहनेछ ।