सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमानामा रहेको चिसापानीमा पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश समितिको आयोजनामा भएको तालिमका नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले उद्घाटन गरिएको हो ।
बिहीबार र शुक्रवारसम्म चलेको पर्यटन पत्रकारिता तालिममा ९ जिल्लाका १८ जना पत्रकारहरू सहभागिता रहेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्दै पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा रूपान्तरण गर्न सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
तालिममा पत्रकार महासङ्घका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ध्रुव रावल, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नुवाकोट जिल्ला अध्यक्ष कपिलदेव खनाल, वरिष्ठ पत्रकार कुबेर चालिसे लगायतले मुलुकको आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका लगायतका विषयमा आआफ्नो धारणा राखेका थिए ।
तालिममा वरिष्ठ पत्रकारहरू कुबेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारीताका विविध पक्षहरूका बारेमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापनलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले प्रशस्तै सम्भावना बोकेको ठाउँहरूको अवलोकन गरी सत्य तथ्य कुराहरू खोजेर बाहिर ल्याउनेछ भन्नेमा विश्वास रहेको बताए । उनले तालिमले थप सीप ज्ञानको सिक्ने अवसरमा पाएकोले यसको सदुपयोग गर्ने सुझाएका थिए ।