कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ का अध्यक्ष तिलकबहादुर भोम्जनले दल्चोकी शंखु सडक तत्काल निर्माण गर्नुपर्ने बताएका छन् । गाउँपालिका हुँदै लुकुनेबेँसीसम्म पुग्ने बिर्खेबाट दल्चोकी शंखु सडक निर्माण कार्य तत्काल अघि बढाउन भोम्जनले निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।
‘जनताले धेरै दुःख पाए निर्माण कार्य तत्काल सुरु गर्नु पर्यो’, चैत्र १० गते दल्चोकीमा आयोजित खबरदारी सभामार्फत् उनले भने, ‘जनताको धैर्यता बाँध नटुटोस् ।‘
उनले निर्माण कम्पनीका प्रतिनिधि प्रशान्त माथेमालाई चेतावनी दिए ।
खबरदारी सभाले स्थानीय सत्यमान लामाको संयोजनमा ११ सदस्यीय दबाब समिति समेत बनेको सदस्य नभराज दाहालले जानकारी दिए ।
निर्माण पक्ष महर्जन निर्माण सेवाका प्रतिनिधि प्रशान्त माथेमाले तत्काल काम सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘तीन चरणमा पूरा गर्छौ र आगामी जेठ भित्र सक्छौ ।‘
दोस्रो कर्णालीको उपनामले परिचित दक्षिण ललितपुरका दुर्गम पहाडी जोड्ने विर्खेधारा-दल्चोकी शंखु सडकको दुरावस्था वर्षौँदेखि भोगेका छौँ । अब हामी चुप लागेर बस्दैनौ, स्थानीय दीपक घलानले गुनासो पोखे ।
उक्त सडक हुँदै चापागाउँबाट दैनिक गोटीखेललगायत दुर्गम गाउँ जाने र दूध तथा तरकारीजन्य सामाग्री ढुवानी यात्रुवाहक सवारी साधन गुड्ने गरेका छन् ।