वकिल नसम्झनु : उपाध्यक्ष गुरुङ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
98 Shares
रसुवा

उत्तरगया गाउँपालिकाको आयोजनामा ३ दिने मेलमिलापकर्ताहरूको लागि सञ्चालन गरिएको आधारभूत तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाले चैत ९ गते देखि ११ गते सम्म सञ्चालन गरिएको पुनर्ताजगी तालिम सामाजिक न्यायको पक्षमा उत्तरगया गाउँपालिकालाई उभ्याउन आयोजना गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित न्यायिक समिति तथा वडा स्तरमा आएका नयाँ मेलमिलापकर्ताहरूलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिएको पालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक चमेली गुरुङले बताइन् ।

न्यायिक प्रक्रिया बिना भेदभाव, प्रभावरहित र स्वच्छ होस भन्नका लागि मेलमिलापकर्ताहरूलाई आधारभूतदेखि विशेष प्रकारको तालिमहरू सञ्चालन गर्दै आएको उपाध्यक्ष गुरुङको भनाई थियो ।

उत्तरगयामा विवाद मिलाउनका लागि प्रत्येक वडामा न्यायिक समिति गठन गरेको भन्दै वडामा मिल्न नसकेमा मुद्दाहरू पालिकामा ल्याएर छलफल गर्न र मिलाउनका लागि नेपालको संविधानमा व्यवस्था भए बमोजिम पालिकास्तरीय न्यायिक समिति गठन गरिएको हो‚ संयोजक गुरुङले भनिन् ।

उपाध्यक्ष गुरुङले सङ्घीय संरचना अन्तर्गत मेलमिलापकर्ताको अवधारणा अनुसार न्यायिक कार्य सम्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रममा बताएकी छन् । उनले न्यायिक कार्य सम्पादनमा मेलमिलापकर्ताहरूको योगदान रहे तापनि आफूलाई वकिल नसम्झन सहभागी मेलमिलापकर्तालाई अनुरोध गरेकी छन् ।

उपाध्यक्ष गुरुङले स्थानीय सञ्चालन ऐन र नियमावलीले दिएका अधिकार मेलमिलापकर्ताहरूले अनुसरण अध्ययन गर्दै कार्य सम्पादन गर्न अनुरोध गरिन् ।

त्यस्तै स्थानीय तहलाई प्राप्त अधिकार र दायित्वको प्रभावकारी कार्यान्वयनमा तालिमले महत्त्वपूर्ण योगदान पुग्ने मेलमिलापकर्ताको भनाई छ ।

मेलमिलाप तथा मेलमिलापको माध्यमबाट विवाद समाधान, न्याय निरूपणमार्फत विवाद समाधान, न्यायिक समिति अभ्यास, फैसला कार्यान्वयन, पुनरावेदनलगायतका बारेमा सहभागीले ज्ञान लिएका छन् । आफूहरूलाई कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा असहज भएको अवस्थामा अब तालिमपछि भने केही सहजता भएको सहभागी सुमित्रा न्यौपानेको भनाई थियो ।

‘विवादको साटो, मेलमिलापको बाटो’ भन्ने नाराका साथ गरिएको तालिममा विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरू र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पाटोमा सहजीकरण गरिएको थियो ।

तालिमको सहजीकरण अधिवक्ता कविता पाण्डेले गरेकी थिइन् भने तालिममा वडा नंम्वर १ का वडा मारसिह तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष लालबहादुर तामाङ र ५ नम्बर वडा अध्यक्ष यमनाथ आचार्य लगायतले मन्तव्य राखिएको थियो।

तपाईको प्रतिक्रिया