रसुवाको उतरगया गाउँपालिकाले २० वर्षे रणनीतिक गुरुयोजना बनाउन लागेको छ । गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० वर्षे समष्टिगत योजना निर्माण गर्न लागेका हुन् ।
गुरुयोजनालाई पूर्व सचिव डा मानबहादुर विके संयोजक रहेको टोलीले सहजीकरण गर्दै दुई महिनाभित्र गाउँपालिकाको सम्पूर्ण वस्तुस्थितिको सूक्ष्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्नेछ ।
रसुवाका सांसद मोहन आचार्यले अहिलेसम्म सिकेको ज्ञान र आफ्नो चिनजानलाई प्रयोग गरी उत्तरगयालाई समृद्ध गाउँपालिका बनाउन लागिपरेको बताए ।
यस्तै,रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रसुवा जिल्लाकै नमुना कार्यक्रम उत्तरगया गाउँपालिकाबाट प्रारम्भ भएको र यसको अनुसरण अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।
एनेकपा माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० वर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष डिल्ली सुवेदीले रसुवा जिल्लाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नहोस् र नतुहिने खालको बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
नेपाली काँग्रेसका युवा नेता जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले समृद्ध उत्तरगया गाउँपालिकाको २० वर्षे रणनीतिक योजना निर्माणका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
गाउँपालिकाको भौगोलिक क्षेत्रअनुसार हुँदै गरेको जनसङ्ख्या वृद्धि, सहरीकरण र आर्थिक समृद्धिको सम्भावनाको खोजी गर्दै तहगत सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग उपलब्ध स्रोतसाधन, जनशक्ति र सम्भाव्य लगानीका स्रोतको खोजी गर्दै आगामी २० वर्षसम्ममा समग्र विकास योजनाको तर्जुमा र प्रक्षेपण गर्नु गुरुयोजना निर्माणको मुख्य उद्देश्य छ ।
गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले समृद्ध मुलुक निर्माण गर्नका लागि दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुरूप गुरुयोजना निर्माणमा लागेको बताए ।
विकासमा प्रादेशिक सन्तुलन, समावेशिता, प्राकृतिक स्रोत र साधनको संरक्षण, संवर्धन र उपयोग गर्दै मर्यादित काम र रोजगारी सिर्जना गर्न पनि गुरु योजना निर्माण गर्न आवश्यक रहेको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताए ।
गुरुयोजनाले दिगो विकास लक्ष्यलाई स्थानीयस्तरमै लागु गर्ने नीति लिएको छ । ‘पालिकाको विकास कार्यक्रममा सबै नागरिकले आत्मसात् गर्ने गरी यसका सूचकलाई आधार मानेर स्थानीय तहको योजना निर्माण गरिनेछ,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘पालिकाले गुरुयोजना निर्माण गर्दा दिगो विकास लक्ष्यले निर्दिष्ट गरेबमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्नेछ छ ।’