नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ३६ बुँदे अवधारणा सार्वजनिक गरेको छ ।
आइतबार प्रतिष्ठानमा कुलपति नारदमणि हार्दम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केली, कला पत्रकार लगायतको उपस्थितिमा प्रतिष्ठानले अवधारणा सार्वजनिक गरेको हो ।
आफ्नो नयाँ कार्यकालमा ललितकलाका सिर्जना, कलाकार, कला लेखन तथा लेखकको समेतको विकासमा टेवा पुर्याई कला क्षेत्रलाई रोजगारी र अर्थतन्त्रसँग जोड्ने हेतुले अवधारणाहरू बनाइएको थुम्कीलेले बताए ।
छत्तिस बुँदे अवधारणामा गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते गर्न गइरहेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० देखि राष्ट्रिय ललितकला सम्मेलन, देशव्यापी नेपाली कला र कलाकारको सर्वेक्षण, सगरमाथा/काठमाडौँ कन्टेम्प्रोरी आर्ट समिट, ललितकला खोज, अनुसन्धान, पुस्तक, जर्नल प्रकाशन, कार्यशाला तथा प्रशिक्षण, परम्परागत कलाको संरक्षण र संवर्द्धन, परिचय पत्र वितरण लगायतका अल्पकालीन तथा आवधिक दीर्घकालीन कार्य योजनालाई नीतिगत रूपमा सम्बोधन गर्ने गरी गुरुयोजनाहरू बनाइएका छन् ।
यी अवधारणा र योजनाहरूलाई पूरा गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहेकाले सहयोग र समर्थनका लागि प्रतिष्ठानले सम्पूर्ण कला पत्रकारहरूलाई आग्रह गरेको छ । कुलपति हार्तम्छालीले ललितकला र कलाकारको विकासका लागि प्रतिष्ठान हरतरहले लागि पर्ने बताउँदै सम्पूर्ण अवधारणाहरू क्रमबद्ध रूपमा अगाडि बढाउने सुनाए ।
ललितकला प्रतिष्ठान नेपालमा विकसित र प्रचलित कलाको संरक्षण, संवर्धन, प्रवर्धन अर्थात् सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ स्थापित संस्था हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ऐन २०६४ अनुरूप स्थापित यस संस्थाले नेपाली कला संवर्धन , प्रवर्धन बअ, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य राखेको छ ।