नाफाले अरनिको स्मृति दिवस मनाइयो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को आयोजनामा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नाफाको नक्सालस्थित सीता भवनमा भएको कार्यक्रममा अरनिकोबारे परिचर्चासँगै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन अरनिकोले महत्त्वपूर्ण योगदान रहेको बताए ।

उनले अरनिकोले बनाएका चित्र, मूर्ति, वास्तु तथा सृजनात्मक कलाले नेपाली पहिचानलाई विदेशमा चिनाउन विशिष्ट भूमिका खेलेको धारणा व्यक्त गरे । उनले भने, ‘कला र संस्कृतिले मानव भावना र सम्बन्धलाई प्रगाढ बनाउँछ । यस कार्यमा अरनिकोको भूमिका अहम् र विशिष्ट रहेको छ ।’
कार्यक्रममा अरनिकोलाई स्मरण गर्दै डा.नरेश शाक्यले नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए । उनले अरनिकोकै कारण नेपाली मौलिक शैली र कलाले तिब्बत, चीन, मङ्गोलिया लगायतका देशमा पुग्न सकेको जानकारी दिए । डा. शाक्यले नेपाली कलाको शैली र पदचापलाई अन्तर्राष्ट्रियकरण गर्न अरनिकोको प्रतिभाले मद्दत गरेको जिकिर गरे ।

कार्यक्रमका प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउन अरनिकोको भूमिका विशेष रहेको धारणा राखे । उनले २०२८ सालमा अरनिकोको हुलाक टिकटको डिजाइन गरेका थिए । कर्माचार्यले नेपालमा अरनिकोका बारेमा विगतमा भएका संस्थागत तथा व्यक्तिगत कार्यका बारेमा चर्चा गरे ।

त्यस्तै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले दिगज कलाकारको स्मृति मनाउनु भनेको कला र कलाकारको योगदानको कदर गर्नु भएकाले यस कार्यक्रमको उद्देश्य अग्रज कलाकारलाई नयाँ पुस्तासम्म लैजानु रहेको विचार व्यक्त गरे । उनले अरनिकोले नेपाली कलाको उचाइलाई विश्वमा चिनाउन अहम् भूमिका खेलेको बताए ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले अरनिको योगदानलाई नेपालमा चिरस्थायी बनाउन उनको योगदानको परिपक्व ढङ्गले काम गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले अग्रजको सम्मानले नयाँ पुस्ताका कलाकारमा ऊर्जा थपिने भएकाले प्रतिष्ठानले स्मृति दिवस मनाएको बताइन् ।

कुलपति नारदमणि हार्तम्छालीले नेपाली कलामा अरनिकोको योगदानको जति चर्चा गरे पनि नपुग्ने बताए । उनका अनुसार नेपालको कलालाई अन्तर्राष्ट्रियकरण गर्दै पहिचान दिलाउन अरनिकोले पुर्‍याएको योगदान अविस्मरणीय रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सञ्जय वान्तवा, अग्रज कलाकार तथा लेखक रमेश खनाल, कमलमणि काफ्ले, नेपाल व्यावसायिक कलाकार सङ्घका महासचिव भोलानाथ पौड्याल, नेपाल कमर्शियल आर्टिस्ट सङ्घका महासचिव चित्र कार्की लगायतले अरनिकोका बारेमा चर्चा गरे ।

अरनिको १७ वर्षको उमेरमा ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत हुँदै चीन गएका थिए । सन् १२४४ मा जन्मिएका उनको १३०६ मार्च ११ मा निधन भएको थियो । उनको योगदानलाई कदर गर्दै उनलाई नेपालमा राष्ट्रिय विभूति घोषणा, उनको नाममा अरनिको राजमार्ग, हुलाक टिकट बनाइएको छ । यसै गरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले अरनिको १७ फिटको मूर्ति बनाइरहेको छ भने लेखक गणेशकुमार जिसीले नाफाबाटै ‘अरनिको एसिया एक प्रस्तावना’ निकालेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया