रसुवागढी नाका दुई तर्फी रूपमा सञ्चालनमा आउने भएको छ ।
कोरोना भाइरसको कारण बन्द भएर आंशिक रूपमा सञ्चालनमा आए पनि ल्होसार पर्वको कारण पुनः बन्द भएको रसुवागढी नाका यही चैत १८ गते देखि सञ्चालनमा आउने समझदारी गोसाईंकुण्ड गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार कोरोना रोगको सक्रमणको कारण देखाई चिनियाँ पक्षबाट उनीहरूकै कन्टेनरमा दैनिक १४ कन्टेनर सामग्री नेपालतर्फ पठाउँदै आएको थियो । यता नेपालबाट भने कोरोनाको कारण देखाएर कुनै पनि सामग्री चीनतर्फ नलगिएकोमा अब भने दुई तर्फी नै नाका सञ्चालन गर्न मिल्ने चिनियाँ पक्षले जनाकारी दिएको उनले बताए ।
मङ्सिर २०७६ साल मा चीनमा कोरोना रोगको सक्रमण देखिएसँगै २०७८ सालसम्म नाका पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि आंशिक रूपमा चिन सरकारले एकतर्फी नाका खुलाए तापनि तोकिएको परिमाणको सामग्री मात्रै नेपाल ल्याइने गरिएको थियो । चिनियाँ पक्षले भने नेपालको सामग्री चीन लैजान कोरोना रोगको सक्रमणको कारण देखाई अस्वीकार गर्दै आएको थियो । अब भने दुईतर्फी रूपमा नाका सञ्चालन गर्न लागेको पत्र नेपाली पक्षलाई पठाएको जानकारी वडाध्यक्ष तामाङले दिए ।
सञ्चालन हुने नाकामा कति परिमाणको सामग्री र सवारीसाधन आउजाउ गर्ने त्यो भने अस्पष्ट रहेको रसुवागढी भन्सार कार्यालयले जानकारी गराएको छ । चीनबाट नेपालमा तयारी पोषाक, विद्युतीय सामग्री, फलफूल, विद्युतीय सवारीसाधन, जलविद्युत आयोजना निर्माणको लागी चाहिने सामग्रीहरू प्रमुख रूपमा भित्रने गरेका छन् । नेपालबाट जडीबुटी, हस्तकलाका तयारी सामग्रीहरू त्यसतर्फ जाने लैजाने गरेको व्यापारीहरूले बताएका छन् ।