पौडेल वंश महासङ्घ, रसुवाको तेस्रो वार्षिक कार्यक्रम सम्पन्न भएको छ । रसुवाली पौडेलहरूको मूलपुरूष जयमंगल पौडेल र पत्नी गौरीदेवीले निर्माण गरेको राम मन्दिर परिसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक समारोह सम्पन्न भएको हो ।
राजा पृथ्वीनारायण शाहको राज्य एकीकरणका समयमा गोरखा दरबारमा तत्कालीन पण्डित र गुरुआमा रहेका पण्डित जयमंगल पौडेल र गौरीदेवीले गोसाईंकुण्ड आउने जाने तीर्थालुलाई सेवा, सत्कार गर्ने सर्तमा बेत्रावतीदेखि माथि धैबुङ गाउँ सदाबर्त गुठीको रूपमा बिर्ता पाएका थिए । सो बिर्ताको अवशेष हालसम्म पनि रहेको छ । जयमंगल पौडेल नेपालका पहिलो प्रधानमन्त्री र मुख्तियार रङ्गनाथ पौडेलका हजुरबा र राजगुरु तान्त्रिक योगी बज्रनाथका पिता हुन् ।
रसुवा जिल्लाको जिबजिबे, रूप्सेपानी, भदौरे, कालिकास्थान, माझ गाउँ, तारूके, धारापानी, बनुँवा, छाप, बेत्रावती क्षेत्रका पौडेल बन्धुहरूको सहभागिता रहेको थियो । रसुवा जिल्लामा करिब ६०० घरपरिवार रहेका छन् । ३२०० हाराहारी पौडेलहरूको जनसङ्ख्या रहेको छ ।
जिल्ला समितिका कार्यवाहक अध्यक्ष रमेशकुमार पौडेल अध्यक्षतामा सम्पन्न उक्त समारोहमा जिबजिबे नीलकण्ठ गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च दुर्गाप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा देवकोटा बन्धु समाजका प्रतिनिधि विष्णुप्रसाद देवकोटा, पनेरू बन्धु समाजका प्रतिनिधि प्रेमबहादुर पनेरू अतिथि रहेका थिए । सहभागी अतिथिहरूको जिल्ला महासङ्घको गतिविधिमाथि थप सुधारको लागि सुझाव दिएका थिए ।
समारोहमा दिवङ्गत पितृहरूको मोक्ष कामनाका लागि राम मन्दिर परिसरमा रूत्री आयोजना, कुलदेव बराह, इष्टदेव दत्तात्रेय र दिवङ्गत प्रख्यात पौडेल महापुरुषहरूको तस्बिरमा माल्यार्पण, वार्षिक रूपमा भएका कार्यहरूको समीक्षा गरिएको थियो । रामचन्द्रको रथयात्रामा सहभागितासहित छत्र, बालुन र भजन नाच प्रदर्शन गर्दै आयोजना सम्पन्न भएको जिल्ला कार्यसमितिका सचिव प्रेमप्रसाद पौडेलले जानकारी दिए ।