‘माम क्राबा ल्हा’ को १५ घण्टे पदयात्रा

बुद्धराम थिङ संचारकर्मी
2.9k Shares
ललितपुर

‘हामी त जम्मा भएर हिँड्न आँट्यौ, तपाईँको के छ ?’ मोबाइलमा एक बिहानै दावा सम्धीको कलरनेमबाट यस्तो आवाज आयो । म झाँगलकोटको सँउरामा कपाल धोएर मन फुरुङ्ग भएर शनिबारे एक दिने यात्रा गर्न लगभग तयारीमा थिएँ ।

झटपट गरेर पुरानो बाटोबाट ओरालो झरेँ । जहाँ झाडीहरू मौलिएर बाटोको अस्तित्व नै निमिट्यान्न पारिसकेको रहेछ । त्यही बाटो भएर म झर्दै थिएँ, एक्कासि झाडीमा ठुलै जङ्गली जनावर हिँडेको आवाज आयो। म टक्क अडिएर यसो चियाएर हेरेँ तर आँखाले ठ्याक्कै यही नै हो भनेर ठम्याउन सकिन । यत्तिकैमा डर मेरो शिरदेखि पैतालासम्म आएर टाप कस्न बाध्य बनायो र म त्यही डर बोकेर सय मिटर जत्तिको दुरी एक फड्को मै पुगेसरि निकै तल पुगेछु । एक छिन आराम गरेर पनि वाग्मतीको पुलमा म सबैभन्दा अगाडि पुगेँ ।

उहिले माम ( बज्यै, हजुरआमा ) को ओडारमा गएर पकाउने भाँडाकुँडा पैँचो माग्दा दिनुहुन्थ्यो रे । पैँचो ल्याएको सामान ढिलो चाँडो फिर्ता गर्नै पर्थ्यो । तर एक जनाले त्यस्ता सामान मामलाई फिर्ता नगरेको कारण माम रोएको र त्यहाँदेखि कसैलाई नि भाँडाकुँडा नदिएको भन्ने कथन

° ° °

पवित्रताको बिल्ला भिरेर राजधानीको सभ्यता बोकेर बगिरहेको वाग्मतीलाई सान्त्वना दिन घुसेलको काखमा कोगटेको चोखो पानी र इन्द्र सरोवरको तालबाट फुत्केर कुलेखानी खोला घुसेलको दोभानमा भेटेको छ । जहाँ हामी पनि भेट्ने सल्लाह भएको थियो । एक छिनमा हाम्रो एक समूह आइपुगे । आज हामी जम्मा भएर रमाइलो पदयात्रामा पाइला चाल्न उत्सुक थियौँ ।

घुसेलको तिन वटा डाँडाकै प्रतिनिधित्व रहेको घुमन्तेहरूमा क्षेत्रगत आ-आफ्नो पेसा, व्यवसाय र पदमा संलग्न व्यक्तित्वहरू थिए। जसमा वडाध्यक्ष ज्ञानबहादुर लो, वडा सदस्य श्याम लोप्चन , सफल कृषक/ उद्यमी तथा समाजसेवी गोविन्द गौतम, होटेल व्यवसायी बुद्धि थिङ‚ वैदेशिक रोजगारीमा लामो समय आबद्ध जगत थिङ, नागरिक आवाज संस्थाका प्रतिनिधि शान्तिदूत दावा लो, रिकोड संस्थाका घुसेल सहजकर्ता केशव गौतम, कुमारी बैङ्कका शाखा रहित सेवा घुसेलका प्रबन्धक श्रीकृष्ण तिमल्सिना , स्वास्थ्य चौकीका अजय यादव र म सहित दस जना थियौँ ।

° ° °

चैत्र ११, २०७९ मा ललितपुर, वाग्मती गाउँपालिका घुसेलको दोभानबाट भिमफेदी गाउँपालिका इपाको मान्डु हाइड्रोपावरको आँगनमा पुग्दा आठ बजेको थियो । त्यही नजिकै काठमाडौँ निजगढ जोड्ने फास्ट ट्र्याक निर्माण कार्यदल ब्यारेकमा सैनिकहरू आ-आफ्नो धन्दातिरै रहेछ ।

चैतमास भए पनि घाम रापिलो थिएन । आकाश निलो थियो । खुल्ला थियो । दुई तीन दिन अघि मात्रै वर्षा आएर यो सबै सम्भव भएको हो। हाम्रो पदयात्रामा घाम पनि सँगसँगै थियो ।

कोगटे खोला पक्की पुल बनेपछि दोधारे खोला भएछ । खोला दोधार भए पनि आज हामी कोही पनि दोधारमा थिएनौँ । सबै एकै धारमा एउटै रहरमा माम क्राबा ल्हा (बज्यै रोएको लेक) को यात्रामा थियौँ । अल्छी ढुङ्गामा केही बेर हामी पनि अल्छी जस्तै भयौँ किनकि हाम्रा केही सहयात्री पछि थिए ।

घुसेलको अमाने सामने भएर उभिएको मकवानपुर जिल्ला, इन्द्रसरोवर गाउँपालिकाको माम क्राबा ल्हा, जहाँबाट दिनभरिको थकान मेट्न घाम त्यही बाटो भएर जान्थ्यो । त्यस्तै जून पनि त्यतै लम्किन्थ्यो। संयोगले (३ ००वर्षपछि देखिने) अघिल्लो साँझ मात्रै जून र तारा नजिकै भएर त्यही बाटो गएको थियो । बिहान उठ्ने बित्तिक्कै आँखा पर्ने डाँडा, जाडो याममा पानी पर्दा प्रायः हिउँ फूल फुल्ने डाँडा, वरिपरि हरियो जङ्गलको बिचमा एकटकले घुसेललाई हेरिरहने डाँडा, मकवानपुर सिस्नेरीको शिर यस्तै यस्तै अनेक उपमा छन्, माम क्राबा ल्हाको । यस्तो अतुलनीय घाम जून सयर गर्ने स्थलमा माम किन रोए होला ? यो हाम्रो लागि कौतुहलताको विषय थियो । र त हाम्रो मन मस्तिष्क र पाइला त्यतै मोडेको हो ।

° ° °

नौ बजे हामी सबैको झोलामा केही खानेकुरा बाँडेर अल्छिढुङ्गाबाट उकालो लाग्यौँ । असरल्ल स्थिर चट्टानहरूको सहरबाट स्थानीयले घाँस दाउरा गर्ने जङ्गलमा लस्करै बिना हतारको पाइला बढ्यो ।

मेरो भागमा एक जम्बु बोतलमा पानी बोक्ने जिम्मा परेको थियो । त्यसैले मैले लट्ठीलाई सँगसँगै सहयात्री बनाउन नसकेकोमा क्षमा मागेँ । अलि माथि पुगेपछि जङ्गलको मूलबाटो लुकेछ, किनकि अघिपछि घाँसी, दाउरे, गोठालाहरू मात्र धाउने ठाउँमा अनजान यात्रीहरू देखेर सुटुक्क कतै हिँडेछ । हामीले आ–आफ्नै तरिकाले ‘म्हि दाङ्सेला ताम, ब्ले दाङ्सेला ग्याम’ (मान्छे पिच्छे कुरा, पाखै पिच्छे बाटो ) भने झैँ खोज्न थाल्यौँ ।

एक छिनमा भेटाएर समाउँदै हामीले हामी पनि हाम्रै ठाउँको त घाँसी , दाउरे र गोठाला नै हौँ । लजाउनु पर्दैन, डराउनु पर्दैन । हामी कुनै परदेशी सहरिया होइनौँ भनेपछि बाटोले फराकिलो माया दिँदै हाम्रो यात्रालाई सजिलो बनाइदिए।

चिउरी पनि बेँसीबाट लेक चढ्ने रहर बोकेर बाँझसित आफ्नो इच्छा व्यक्त गर्दै गरेको, अनि बाँझ पनि लेकबाट बेँसी कस्तो होला भन्दै गफ गरेको झैँ लाग्ने ती वन पाखामा सल्ला कटुस पनि थिए।

वातावरण यत्ती मनमोहक थियो कि जुन शब्दमा वर्णन गर्न मसँग कुनै वर्ण र शब्द नै  छैन । त्यहाँ पुग्दा जस्तै नमुस्कुराउने, रमाइलो नगर्ने मानव पनि एकपटक मज्जाले खित्का छाडी हाँस्छ्न । मन बहलाउँछ्न ।

लगभग एक घण्टा जत्तिमा एउटा घर भेटियो । जुन घर इन्द्र अधिकारीको रहेछ । दाह्री जुँगा र कपाल हल्का सेतो फुलेका, क्याप टोपीले शिर छोपेका, चिउँडोमा मास्क लगाएका, हाइनेकमाथि हाफ चेक सर्ट लगाएका, चार दशक समय व्यतीत गरिसकेका जस्ता देखिने ती अधिकारी बैसाखीको सहारामा उभिँदै हामीसित बात मार्‍यो। त्यस ठाउँको नाम टोड्के भन्ज्याङ रहेछ ।

हामी त्यहाँ पुगेर आ–आफ्नो झोलाबाट सामान झिक्दै केही हल्का बनाउने विचार गर्‍यौँ । तस्बिर लियौँ । अधिकरीजीले ‘अतिथि देव भव’ लाई आत्मसात् गर्दै दुई वटा पहेंलपुर भोगटे, चिनी, नुन खुर्सानीमा माया मिसाएर हामीलाई सम्झना दिए ।

एउटा भोगटेलाई त्यही केलाएर सबैले खायौँ । एउटालाई माम क्राबा ल्हामै पुर्‍याउन झोलामा हाल्यौँ। अझ स्मृतिलाई चिरस्थायी बनाउन अधिकरिजीले अर्को एक काम गरे । त्यो हो, हामी सबैलाई सम्बोधन गर्दा अङ्कल भन्थे। हाम्रो टोलिमा बिस बाइस बर्षे ठिटोदेखि पैँतालिस छयालिसका युवाहरू थिए । हाम्रो टोलीको अलि कान्छो साथीले ‘ल धन्यवाद दाइ, हामीलाई रसिलो भोगटे ख्वाउनु भएकोमा’ भनेको मात्रै के थियो। उताबाट, ‘हुन्छ हवस् अङ्कल राम्रोसँग जानुहोला’ भने । एक छिन हामी सबैको हाँसो भित्रैबाट आयो । उनका लागि हामी सबै अङ्कल भए । साइनोको डोरो झन् कसिलो बनायो ।

° ° °

नागबेली उकालो मौसम निकै अनुकूल थियो । एक छिनमा अर्को घर भेटियो । बारीतिर केराका घारी, त्यही घारीबाट हामीलाई जिस्काइरहेका केही केराका घरी, पक्कै कुनै केरा त घरभित्र लुकेका होलान् भनेर म सुरुमा सरासर घरतिर लागेँ । अरू साथी चाहिँ बाहिर केरासित फोटो खिच्दै मस्किरहेका थिए । नमस्कार गर्दै अधबैँसे ती घरका महिलालाई हाम्राबारे केही परिचयका कुरा सुनाउँदै पाकेको केरातिर कुरा लगेर जोडेँ। नभन्दै ‘पकाउन त राखेको छु अलि पाकेको छैन होला’ भनी । ‘ल यसो हेर्नुस् न पाकेको भए हामीलाई दिनुहोस्’ भन्दै अनुरोध गरेँ। यतिन्जेलमा हामी सबै प्यास मेट्न पिँढीमै बस्यौँ। पाइपको पानी तातो भएकोले घरभित्रको चिसो पानीले प्यास मेटायौँ । डालामा केही फुटेका, काटिएका, केही दर्जन केरा ल्याएर दिइन् । छानेर सबैले एक एक ओटा र हामी दुई तीन जनाले दुई दुई ओटा खायौँ । हुन त हाम्रो झोलामा नि थियो बजारका केरा । हिसाब गरेर प्रति गोटा दशका दरले एक सय चालीस तिरेर ती नगरकोटी आम्मैको घरबाट पुनः उकालो लाग्यौँ ।

हामी डढेलोले खाएको पाखैपाख हुँदै अघि बढ्यौँ। जहाँ हाम्रो पनि मन डढ्यो । दिल जल्यो । केही दिन अघि मात्रै परेको वर्षाले खरानीलाई उडिजानेबाट रोकेका रहेछन् । जसले गर्दा खरानी हाम्रा जुत्तामा समेत टाँसिन मानेन । स–साना पोथ्राहरू बैँस साट्न नपाउँदै जलाउनेको त कहिल्यै भलो नहोस् भन्ने हामीलाई लाग्यो ।

° ° °

पेटले धोक्रा खाली नगर्दै खाना खाने ठाउँ गैरीभञ्ज्याङ आइपुग्दा सबै दङ्ग भए । हुन त हाम्रो टोलीका ज्येष्ठ र बहालवाला वडा अध्यक्षले हिँड्नु अघि नै खानाको बन्दोबस्त मोबाइलबाटै गरिसक्नुभएको थियो । हामी दस जनामध्ये दुई जना शाकाहारी थिए र बाँकी मांसाहारी । लोकल भालेको मासु भात पकाएर ख्वाउने अमृत लो थियो । त्यहाँ दुई वटा मात्रै घर थियो । ‘माम क्राबा ल्हा’ को वास्तविकताबारे अमृतका बुवासित जिज्ञासाका स्वर सुनाए । उनका अनुसार उहिले माम ( बज्यै, हजुरआमा ) को ओडारमा गएर पकाउने भाँडाकुँडा पैँचो माग्दा दिनुहुन्थ्यो रे । पैँचो ल्याएको सामान ढिलो चाँडो फिर्ता गर्नै पर्थ्यो । तर एक जनाले त्यस्ता सामान मामलाई फिर्ता नगरेको कारण माम रोएको र त्यहाँदेखि कसैलाई नि भाँडाकुँडा नदिएको भन्ने कथन सुनाए । र त्यस ठाउँलाई तामाङहरूले ‘माम क्राबा ल्हा’ भनेर भन्दै आएको छ। त्यो मामको थान हामी खाना खाएको घरबाट अलि माथि भएको कुरा पनि थाहा भयो । नेपाली भाषामा आजदेश्वर महादेवको रूपमा चिनिँदो रहेछ ।

° ° °

सवा बार्‍ह बजे स्वादिलो खाना खाईवरी धन्यवादको शब्द राख्दै फेरि उकालियौँ । अघि हामी भन्दा अग्ला वारिपारिका भू – धरातलहरू होचा हुँदै गइरहेको थियो । हाम्रा बस्तीहरूलाई पारी गएर हेर्दा आफ्नो अनुहार ऐनामा हेरे झैँ लाग्यो ।

मामको घर नजिकै पुग्न लाग्दा संयोगवश आकाशबाट केही थोपा जल झरे । आकाशमा हेर्दा त्यस्तो पानी पारिहाल्ने बादलका कुनै छेकछन्द थिएन । हामी आश्चर्यचकित भयौँ । तर केही सेकेन्डमै पानी रोक्यो । सायद मामले भेट्न आएको देखेर हर्षका आँसु झारिछिन क्यारे !

जङ्गलको बिचमा ठुलो पत्थरमा रहेछ मामको घर, त्यही पत्थरको फेदमा त्रिशूल र घण्टाहरू मामका घरलाई रुँगी बसेका द्वारपाल रहेछन् । माम … ओ.. माम भन्दै हामीले मामलाई बोलायौँ । मामलाई कसैले ताङ (भाँडाकुँडा)‚ जोडी नभएका केटाहरूले चाङ (बुहारी ) माग्दै साष्टाङ्ग दण्डवत् गरे ।

मामले हाम्रो कुरा सुने सुनेनन्, मामलाई नै जिम्मा लगाउँदै अझ उकालो चढिरहौँ । यात्रामा भएका कुराहरू त यत्ति मज्जाको थियो कि जुन जीवन जिउने अचुक ओखती सरह थिए ।

° ° °

घनघस्याको उकालो जस्तो नाक ठोकिने उकालो थिएन माम क्राबा ल्हाको उकालो ।

डढेलोबाट उम्किन सफल केही गुराँसका थुङ्गाहरूले स्वागत गरिरहेका थिए । डढेलोकै कारण हो कि चराहरू त्यत्ति खुसी थिएनन् । गीत गाइरहेको थिएन । नाचिरहेको पनि थिएन।

ठाउँ ठाउँमा विश्राम गर्दै हिँड्दै हामी त्यो ठाउँको शिर हाम्रो गन्तव्य ‘माम क्राबा ल्हा’ मा पुग्यौँ । समुन्द्री सतहबाट अन्दाजी तीन हजार मिटरको उचाइमा अवस्थित ‘माम क्राबा ल्हा’, जहाँ पुग्दा सबै जना खुसीले नाच्यौँ, तीन वित्त उफ्रियौँ, भित्रैबाट गायौँ । किनकि त्यस्तो माहौल र उपहार मामले दिएको हुनुपर्छ हामीलाई । त्यहाँको वातावरण यत्ति मनमोहक थियो कि जुन शब्दमा वर्णन गर्न मसँग कुनै वर्ण र शब्द नै छैन । त्यहाँ पुग्दा जस्तै नमुस्कुराउने, रमाइलो नगर्ने मानव पनि एक पटक मज्जाले खित्का छाडी हाँस्छन् । मन बहलाउँछन् । प्रायः आइरहने पिर, व्यथा, रोदन जस्ता चिन्तित बनाइराख्ने तत्त्वहरू आफसे आफ कता भागे पत्तै भएन । हरिया सुकिला पाको रुख बिरुवा, सुरम्य फराकिला पुरानो बारीका पाटाहरूमा भएका दुबोहरूले स्वर्गको अनुभूति गरायो । मनको भित्री कुनालाई मन्त्रमुग्ध पार्‍यो । मस्तिष्कलाई मन्थन गरेर । सबै जना खुब हर्ष विभोर भए ।

° ° °

त्यहाँबाट राजधानी काठमाडौँ उपत्यका, चन्द्रागिरि, ललितपुरको फुल्चोकी, भट्टे डाँडा, कालेश्वोर, मकवानपुरको लटरम्मेश्वोर लगायत धेरै प्रसिद्ध र सुन्दर थाहा भएका र नभएका बस्तीहरूलाई सजिलै नियाल्न सक्ने रहेछ ।

यत्ति राम्रो भूगोलमा कसले बारी बनाए होलान् ? फेरि किन छोडेर गए होलान् ? अब हामी बस्न पाए कत्ति आनन्द प्राप्त हुने होला जस्ता प्रश्नहरूको जवाफ हामीबिच एकापसमा अनुत्तरित भए नि खोज्यौँ। पर्यटनका चस्मा लगाएर एक छिन गफियौँ।

धर्तीमा पनि स्वर्ग ! हाम्रै समीपमा हुने वनजंगल देखेर हामी आफैँ त यत्ति खुसी हुन्छौँ भने, अरू विदेशी कत्ति रमाउलान् भन्दै घोत्लियौँ पनि ।

एउटा भत्केको घरको भग्नावशेष थियो । मानव बस्तीबाट धेरै दूर त्यस ठाउँमा आलो गोबर पनि थियो तर कुनै गाई गोरु भेटिएन । हाम्रो भन्दा पनि माम क्राबा ल्हाको तस्बिर मोबाइलमा क्यामेरामा कैद गर्‍यौँ । त्यो भन्दा पनि अझ सुरक्षित हुने मन मस्तिष्कमा कहिल्यै नमेटिने सम्झना र यादलाई राख्यौँ ।

एक ठाउँमा जम्मा भएर अग्निलाई साक्षी राख्दै झोलामा भएका खानपिन खायौँ । मिठा मिठा रमाइला बात मार्‍यौँ । जहाँ सबैले आ–आफ्ना पिर, व्यथा, दुःख, कष्टलाई बिर्सेछन् । सबैको मुहारमा खुसीको लहर उर्लेको थियो । त्यो पल साँच्चै सम्झना योग्य थियो । संसारका सबै प्राणी वनस्पतिहरू आज हामी रमाए जस्तै खुसी नै खुसीमा बाँचेको भए जीवन कत्ती सुन्दर र आनन्द हुन्थ्यो होला । विश्वमा शान्तिको कामनाका लागि लाख बत्ती जल्नुपर्ने थिएन होला ।

गन्तव्यमा त निश्चित समयमै पुगियो । अब अघि आएको बाटो नफर्की अर्को बाटो भएर दोधारे खोलामा आउने हाम्रो पूर्व योजना थियो। तर त्यहाँबाट जङ्गलको बिचबाट हामीले खोजे जस्तो सोचे जस्तो बाटो पहिल्याउन सकेन। एक छिन अलमल्लमा पर्‍यौँ । बिचबिचमा गुगल म्यापको सहारा लिँदै हामी भएको ठाउँबाट कुन बस्ती कुन बाटो नजिक र सहज छ भनी बेलाबेलमा खोतलेर सल्लाह दिने बाटो पहिल्याउने सहयात्री पनि हाम्रो साथमा थियो ।

हामी पश्चिमतिर लगभग एक किलोमिटर तेर्सो कतै ओरालो जङ्गलमा पाइला चाल्दै अझ पुलकित भयौँ । तर हामी कता जाँदै छौँ ? थाहा थिएन । जङ्गलमा बाटो जस्तो बाटोहरू धेरै थियो तर सही बाटो कुन हो ? अलमल अलमलमै जङ्गल सफारी गरिरहयौं ।

घाम हामीभन्दा अघि लाग्दै पश्चिम क्षितिज नजिक झर्दै थियो । घडीमा पौने पाँच भैसकेको थियो। तैपनि हामी आत्तिएनौँ बरु खुसीले मात्तिरहयौँ ।

भिमफेदी गाउँपालिका –७ कोगटे हाम्रो बायाँतिर थियो । जो हाम्रो फुर्सदिला मनहरू साँझ हुने बेलासम्मै माम क्राबा ल्हा मै रुमलिरहेको देखेर अनौठो मानिरहेका थिए । थुम्काथुम्की मिलेर बनेको कोगटे माम क्राबा ल्हाबाट हेर्दा आँखालाई अघाएन । त्यही रात त्यतै व्यतीत गरौँ जस्तो तर हामीसित केही तयारी थिएन । पछिलाई भाका सार्दै हामी पश्चिमतिर घामलाई नपछ्याई बायाँ ओरालो झर्दै कोगटेतिर नै ओरालो ओर्लिरहौँ । लगभग आधा घण्टा जत्तिको हिँडाइपछि मानवविहीन पुरानो जीर्ण खरको छानो र बाँझो बारीका गरा भएको ठाउँमा पुग्यौँ । जुन ठाउँ एकान्तमा हराइरहेको वरिपरि डाँडा डोलमा थियो ।जुन ठाउँको नाम भण्डार खोप रहेछ । जहाँ नजिकै सुन्दर सानो खोल्सा आफ्नै गति, यति र लयमा गाउँदै थियो । तिनै खोल्सासँग सँगै एक छिन सहयात्री बन्दै अघि हिँडिरहौँ ।

° ° °

त्यसपछि बन्दै गरेको मोटर बाटोमा पुग्यौँ त्यही बाटो पछ्याउँदै जाँदा आधा घण्टा जत्तिमा मुख्य मार्ग भेटायौँ । जुन मार्ग इपा कोगटे भिमफेदी हेटौँडा पुग्ने र यता इपा हुँदै सिस्नेरी काठमाडौँ जाने मार्ग हो । मोटर चाहिँ एउटै भेटिएन । त्यत्तिन्जेलसम्ममा हाम्रा खुट्टामा दुखाइको मात चढिसकेको थियो । यदि मोटर भेटिए हामी सबै चढेर गन्तव्य छोट्याउन सहज होला कि भन्ने सुरमै थियौँ तर त्यस्तो भएन ।

कोगटे मेरो लागि नौलो थिएन । केही वर्ष अघि पैदल र बसमा यात्रा गरेर हेटौँडा-इपा गरेको बाटो र गाउँ हो । मगर जातिको बाहुल्यता रहेको कोगटे लगभग २ हजार मिटर उचाइमा पर्छ । उपत्यका जस्तो स-साना खोपिल्टामा रहेको कोगटेमा रेन्बो ट्राउट माछाको सम्भावना छ किनकि यहाँ खोल्सैपिच्छे सङ्लो पानी छन् । यस कुरालाई हाम्रो टोलीमा भएको सफल तथा उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट पुरस्कृत उद्यमी गोविन्दले पनि सहमत जनाए। यस्तै कुराको भलाकुसारी गर्दै मोटरबाटोलाई नछोडी हामी पुर्व मोडियौँ ।

° ° °

कोगटे बसपार्कमा एउटा बस रोकिराखेको थियो । शनिवार त्यो रुटको बस चल्दैन । त्यही बसपार्कमा भएको दुई चार वटा दोकानमध्ये एउटामा पस्यौँ । हाम्रो हुल देखेर पसलमा भएको एक जना ग्राहकले कहाँ ? किन ? जस्ता प्रश्न सोध्यो । हामीले सबै कुरा भन्यौँ । हामीले भन्दै गरेको माम क्राबा ल्हा लाई उनीहरूले चाहिँ आलुबारी/आलु खोरिया भन्दो रहेछ । तर हामीलाई माम क्राब ल्हा नै मनमा बस्यो । हामीमध्ये कोही बेन्चमा कोही पिँढीमै थचक्कै बस्यौँ । त्यहाँ पुग्दा भोक तिर्खा दुवैको भेटले खानपिन मागिसकेको थियो । मोबाइलको समय हेर्दा साँढे छ बजिसकेको थियो । खुट्टा र शरीरले आराम गर भनिसकेको थियो । हामी आइपुग्नु पर्ने गन्तव्यसम्म पुग्ने बाटो टाढै थियो । र बाटो अन्योलतामै थियो । हाम्रा गुगल म्याप मित्र श्रीकृष्णले म्याप हेर्दै यत्ति मिटर रहेछ उति मिटर रहेछ भन्दै मोबाइलमा देखाउँदै थिए ।

उक्त पसलमा उपलब्ध इच्छा र रुचि अनुसारका खानपिन निर्धक्कले खायौँ पियौँ । मैले पिँढीमै बसेर रेडबुल पिएँ । एक छिन पछि सबै पुनः मोटर बाटो तिरै मोटर जस्तै कुदिरहौँ । रेडबुल इनर्जी ड्रिङ्क भन्थ्यो साँच्चै इनर्जेटिक नै रहेछ । किनकि अघि पसलमा आउँदा अबको यात्रा कसरी गर्ने होला भन्ने चिन्तालाई दूर पठाइदिएछ । तनमा खुट्टामा थकानको कुनै आभास नै भएन । यस्तो अनुभूति रेडबुल पिउने अरू साथीहरूले नि सुनाए । यो सुनेर अरू दुई चार जना साथी भने तिमिहरूले खाएको भन्दा हामीले खाएको चिजले पो इनर्जि दिन्छ भन्दै ठट्टा गरे ।

° ° °

बाटोमा दुई चार जना मेलामा गएर फर्किएका चमेलीहरू चमेली भन्ने ठाउँमा भेटिए तर कुनै सवाल जवाफ भएन । आकाशमा हाम्रो ठिक माथि अर्ध जून थियो । अब मान्छे चिन्न सक्ने उज्यालो थिएन । कोगटे खोलाको तिरैतिर मोटरबाटो छोडेर गुगलकै सहायताले अघि बढिरहौँ । सही बाटो सोधौँ भने पनि त्यहाँ कुनै घर थिएन । अब मोबाइलको बत्ती बालेर हिँड्नुको कुनै विकल्प थिएन । अनुमानको भरमा ओरालो ओर्लिरहौँ । केही हुल साथी बाटो पहिल्याउँदै अलि अघि अघि पछिल्ला साथीहरूलाई पर्खिँदै जाँदै थिए । पछिल्ला साथीहरूले भेटाउन्जेलसम्ममा ती अगाडि हिँडेकाहरूको थकाई मेटिसकेको हुन्थ्यो तर पछिल्लाहरू भने हिँडेका हिँड्यै गर्नुपर्थ्यो । यत्तिकैमा एक जनाले त के हो हामी चाहिँ थकाइ मार्ने नपाउने तिमिहरू मात्रै आराम गर्ने भन्दै ठाउँ ठाउँमा रोकिँदै ओर्लिरहेँ ।

° ° °

कोगटे खोला सानै भए पनि अलि कराएर छाँगाबाट हाम फाल्दै अघि गइहाल्यो । हामीलाई त्यसरी हतारिँदै गन्तव्य पुग्नु थिएन । हामी भिरको बाटो सुस्त सुस्त झर्‍यौँ । यदि दिउँसो उज्यालोमा हो भने त्यो बाटो झर्न कमैले मात्रै साहस गर्थे । धन्न त्यहाँ पुग्दा अन्धकारले परपरका भिरहरू छोपिदिएछन् । र हामीलाई बाटो तय गर्न अलि सहज भएको महसुस गर्‍यौँ ।

° ° °

त्यो खोलालाई तर्दै हामी अलि अगाडि कोल्टे ठाउँमा पुगेका मात्रै के थियो, गुगल म्यापवाला साथीको मोबाइलमा रिङटोन बज्यो । ‘के पारा हो हँ तिमीहरूको सँगसँगै हिँडेका साथीलाई पर्खिनु पर्दैन ? के खान पाउँछ भनेर दौडेको हँ ! हामी यहाँ बाटो भुलेर अक्करे भिरमा पुग्यौँ । तिमीहरू कुन बाटो गएको हँ’ भनेर अलि नमज्जाको अखबार आयो । जुन कुराले अक्करे छांगाछुर भिरमा उनीहरू हैन अघि हिँड्ने साथीहरू पुगेझैँ भयो । त्यतिन्जेलसम्म त्यत्रो लामो यात्रामा काहीँ कतै पनि बेखुसीका काँडाले कोही कसैले घोचेको थिएन । तर त्यो अप्ठ्यारोबाट आएको आवाजले कता कता घोच्यो । पुनः फोन गरेर बाटोको लोकेसन बताए । तर उस्तै .. तिमीहरू… । ल अब भएन भन्दै म सहित शान्तिदूत युवा र गुगल म्यापवाला साथी चार पाँच सय मिटर फर्केर गयौँ । त्यत्तिखेरको समय बेलुकाको आठ बजेको थियो ।

केहीबेरमा हामीले बाटो भुलेका साथी भेट्यौँ । त्यहाँबाट भने सँगसँगै कमिलाको ताँती झैं नछुटी अलि चौडा गोरेटो बाटोबाट खोलालाई छोडेर ओरालो झरिरहौँ ।

° ° °

त्यसपछि दुई चार वटा घर भएको बस्तीमा पुग्यौँ । एउटा घरमा पुगेर केही साथीले बाटोको बारेमा सोधे । खाना पकाउने तरखरमा रहेका ती अधबैँसे मान्छेले हामीलाई सोधपुछ पछि छोटो बाटो देखाइदिए । ‘घरको आँगनमा निस्केर बाँसको झ्याङमा पुगेपछि दुइटा बाटो भेटिन्छ बायाँ नलागी दायाँ बाटो जानू सजिलैले अल्छी ढुङ्गा दोभान पुगिन्छ’ भने । मैले नाम सोधेँ । ‘राम बहादुर सिंजाली मगर हो’ भने । कतै बाटो भुले फोन गर्नु भनेर मोबाइल नम्बर पनि दिए । धन्यवादको बात दिँदै हामी पुनः मगर दाजुले देखाएकैतिर लाग्यौँ । ती दाजुले अलि तल नपुगुन्जेल हेरिरहे । नेपालीपन झल्काइरहे । अन्धकार सुनसान रातमा ती मगर दाजु भगवान् झैँ लाग्यो ।

° ° °

रुखहरूले पुराना पात पतकर बनाएर भुँइभरी बाटाभरि ओछ्याएका रहेछन् । हामी बिस्तारै पतकरको गीतसँगै हाम्रो नि मिठा मिठा कुराहरू मिसाउँदै अघि बढिरहौँ ।

फेरि तल अघिकै खोला भेटियो । हामी हराएको देखेर खोला नि दोधार भएछ र त कोगटेको खोलाको नाम दोधारे राखेको रहेछ । ठुला ठुला चट्टानमा लुकामारी गर्दै बगेको खोलाले हामीलाई डोर्‍याउँदै कहिले यता कहिले उता पार्दै बेलुकाको सवा नौ बजे बिहान उकालो लागेको ठाउँमा पुर्‍यायो ।

° ° °

त्यहाँबाट नि अझै पर थियो हामी हिँड्नुपर्ने ठाउँ । झोलामा बाँकी भएका खानेकुरा खाइ फेरि बिहान आएको बाटोतिर फर्कियौँ । वाग्मतीमा पुल कुल्चेर मकवानपुरबाट ललितपुरको दोभान हुँदै कुटुवन आइपुग्यौँ। जहाँ आइपुग्दा रातको पौने एघार भैसकेको थियो । त्यहाँबाट फेरो बाइक चढेर दम्सिङ्टार महांकालडाँडा हुँदै आ-आफ्नो वासस्थानतिर छुट्टिँदै साथीहरू घट्दै घट्दै पातलिँदै गए । मलाई महांकालडाँडातिरै बस्न अनुरोध गरेका थिए तर सबै जना साथी आ-आफ्नो घरमा पुगे। अनि मलाई आफू मात्रै बास बसेर यात्रालाई दुई दिने बनाउने मन भएन । यही सोचेर शान्ति दूतको बाइक मागेर रातको एघार बजेर पैँतिस मिनेटमा घर आइपुगेँ । माम क्राबा ल्हाको लामो पैदल यात्रामा भएका सबै ताजा मनोस्मृति र याद निन्द्रामा पनि अझ दुरुस्तै आइरह्यो ।

(- लेखक तामाङ पत्रकार संघ ललितपुर शाखाका कोषाध्यक्ष हुन् । )

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0

तपाईको प्रतिक्रिया