‘नाम्दुङ ङ्ह्या’ र तेमाल जात्राको धार्मिक महत्त्व

काठमाडौं

तामाङ जातिको संस्कृतिमा नाम्दुङ ह्या (चैत्र पूर्णिमा) को ठुलो धार्मिक महत्त्व रहेको देखिन्छ । त्यसो त तामाङहरूको ताम्बा (कथा वाचक) को ताम्बा काइतेन (ताम्बाका वचनकृति) मा रोङला ने सुम (पर्वतीय क्षेत्रका तीन तिर्थस्थहरु) भनी स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्धलाई प्रष्टसँग तोकको छ जुन तामाङ जातिको परम्परागत सांस्कृतिक निर्देशिका पनि हो । लाङरु लुङतेन आर्य गौश्रृङ्ग व्याकरण महायान सूत्र नामक ग्रन्थमा सिङ्गोन छ्योर्तेन (स्वयम्भू चैत्य) उत्पत्तिबारे उल्लेख गरेका छन् । त्यसै गरी नेवारी बौद्ध समुदायभित्र यसलाई ‘स्वयम्भू पुराण’ भन्ने गरेको पाइन्छ। हिमाली बौद्ध समुदायभित्र यो कथा तिब्बती भाषामा अनूदित भई प्रचलनमा रहेको छ । नेवारीमा भने मूल संस्कृत रूपमा पनि रहेका छन् । तिब्बतमा बुतोन लामा (सन् १२९०-१३६४) ले तिब्बतीमा अनदित धेनोइद सुम (त्रिपिटक) बुद्ध वचनका सङ्ग्रह, थेग्छेन दो (महायानी सूत्र) र ग्युद् (बौद्ध तन्त्र) का पुस्तकहरू सबैको पार (काठे छाप) कुँदेका थिए । त्यसो गर्दा उनले मूल पाली र संस्कृतको आधारमा सुद्धासुद्धि पनि राम्ररी सच्याएको कङ्ग्युर ( वचन अनुवाद ग्रन्थ) को अनुवाद सूचिमा बताएका छन् । उनै बुतोन लामाले लोक व्यवहारमा छोटकरीमा बौद्ध सूत्र पाठ गराउन सजिलो हुने गरी एक ठेली दोमाङ (बहु सूत्र) नामक पुस्तक सङ्ग्रह गरी त्यसको पनि पार निर्माण गरेका थिए । उक्त सङ्कलन दोमाङ भित्र पनि स्वयम्भू पुराण संकलति छन्। त्यसै गरी ताक्मोल्हुइजिन (नमोबुद्ध) को जातक कथा पनि दोमाङभित्र सङ्कलित छन्। त्यस भन्दा पूर्वकलामा हस्तलिखित पुस्तक भएकोले सार्ने क्रममा शाब्दिक त्रुटि र व्याकरणीय गल्ती एवं घटी बढी पनि हुने गर्थ्यो ।

स्वयम्भू पुराण संक्षिप्त वर्णन

भगवान् बुद्धले बुद्धतत्व प्राप्त गरेपछि एक समय बैशाली क्षेत्रका राजगृहमा ज्याङछ्युपसेम्पा ज्याम्पा (बोधिसत्त्व मैत्रीय), आदि बोधीसत्वहरु, नेतेन स्यारिबु (स्थविर सारी पुत्र) र म्होगल (मौत्गाल्यान) आदि हजारौँ महाश्रवणहरू, लाछाङ्पा (ब्रह्म), ग्याजिन (इन्द्र) आदि देवताहरू र वैश्रवण र कुवेर आदि छ्योकक्योङ (लोकपालहरू), लुइग्याल्पो (नागराजहरू), शक्तिशाली यक्षहरू, सिसाइ ग्याल्पो (गन्धर्वराज), मिहामहिन ग्याल्पो (किन्नरराज) र जम्बुदीप (भारत वर्ष) का राजा सुगच्यान निङ्पो (विम्बीसार) सहित एकै स्थानमा भेला भएका थिए । सोही बेला भगवान् बुद्धले भविष्यको कुशल देशलाई अनुभूति गर्नुभई अनुयायीहरूलाई भन्नु भयो– ‘आयुसमानहरु हो ! गौश्रृङ्ग पर्वतको नजिकको गोमा नदीको तटमा मुनि महाऋषिको भवन (चैत्य) गोमा शाल गन्ध भनिने एउटा छ । जहाँ अनिवार्य रूपमा गर्नु पर्ने कार्य छ । त्यहाँ जाने बेला भयो।’ त्यसपछि भगवान् बुद्ध आफ्ना सबै अनुयायीसहित आकाशमा उडी गौश्रृङ्ग पर्वततर्फ लाग्नु भयो । त्यहाँ पुग्नुभई भगवान् बुद्धले ध्यान मुद्रामा आसन जमाई देसिनसेक्पा (तथागत) को सहस्रहजार समाधिरत हुनुभई आफ्नो अनगिन्ती कल्पदेखिको मोलाम (प्रणीधान) र सोइनाम (पुण्य) प्रत्यक्ष लाभ गर्नु भयो । साथै भगवानले गौश्रृङ्ग पर्वत, कुशल देश (पुण्य भूमि) र स्वर्ण मण्डलदेखि लोक-संसारको टुप्पो (स्वर्ग) सम्मै प्रसाधित गर्नु भयो। साथै पुण्य भूमि, पुण्य मन्दिर, पृथक् सङ्घहरूको प्रजनन्द कुटी, विहार र देवस्थलहरू र त्यस देशमा पुण्य कमाउने राजाहरू धर्ममा आस्था राख्ने दानपति र लियुल (काश्य देश) सबैको भविष्य बताउनु भयो । त्यस समय बोधिसत्त्व महाशक्तिले साङ्गे होइसुङ (काश्यप बुद्ध) को चैत्यको नजिक बस्नु भई भविष्यमा त्यस देशमा आफूले स्वरूप निर्माण गर्न भूमिलाई प्रसाधित गर्नु भयो। त्यस्तै बोधिसत्त्व ज्याम्पलस्युनु (कुमार मञ्जुश्री) ले पनि विहार निर्माण हुने स्थानलाई प्रसाधित गर्नुभयो । त्यस्तै अन्य बोधिसत्त्व चेङ्रेस्हि (लोकेश्वर), न्हामखाइनिङ्पो (क्षीतीगर्भ), भैषाज्यराज, कुन्दुसाङ्पो (समन्त भद्र) आदिले पनि आ–आफ्नो प्रणिधान सम्पन्न गरे । बोधिसत्त्व र महाअर्हन्तहरूले त्यसपछि अनेक ज्योति किरणहरू सम्प्रेषण गरी महादृश्य फैलाए । त्यति नै बेला ठुलो तलाउभित्र तीन सय पचास वटा कमलका फूलहरू प्रकट भए । एक-एक कमलको फूलमाथि बुद्ध र बोधिसत्वहरुको स्वरूप प्रकाशसहित प्रकट भए । भगवानले अनुयायीहरूलाई यो भविष्यमा यहाँ त्यत्ति नै सङ्ख्यामा विहारहरू बन्ने सङ्केत हो भनी बताउनु भयो । त्यसरी नै सिम्बु छ्योर्तेन (शाल गन्ध चैत्य) को राब्ने (प्राण प्रतिष्ठान) पूर्वकालका बुद्धहरू विपश्वी शिखी र विश्वभुक आदिले गर्नु भएको थियो । भविष्यका एक हजार एक्काइस भागवान् बुद्धले पनि स्वयम्भू चैत्यको प्राण प्रतिष्ठान गर्नु हुनेछ। अहिले समय आएकोले मैले पनि प्राण प्रातिष्ठान गरेँ।

भगवानको आज्ञाअनुसार स्थविर सारीपुत्रा र देवराज वैश्रवणले तलाउको पानी सुकाएर शालगन्ध चैत्य (स्वयम्भू) गौश्रृङ्ग पर्वत र लीयुल देख्न सक्ने बनाए। यस काश्यप चैत्य र स्वयम्भू चैत्यको पूजापाठ, परिक्रमा र सेवा गर्नाले पुण्य धर्म अपरम्पारको हुने र देशमा पनि शान्ति हुने भविष्यवाणी गर्नु भयो। धर्म पालक राजाहरूले पनि पापीलाई दण्ड दिने, धर्म कोष नमास्ने र भिक्षुक साधुशन्तलाई सत्कार गरुन्जेल यो देशलाई कुनै शक्तिले पनि कुभलो गर्न नसक्ने वचन पनि दिनु भयो ।

अभिश्यमा यस देशमा डुगुरहरु, सुम्बाहरू, होरहरु, भोटहरू र भारतीयहरू र अन्य अनास्थाकारीहरू पनि आक्रमण गर्न आउने छन्। त्यस बेला अष्ठमहादेवहरुले यो पुण्य भूमिको रक्ष गर्नेछन् । तर, रक्षक देवतागणहरूले कलियुगमा मानिसहरू घोर पापीजन हुन गई पुण्य धर्म कमजोर भएको बेला हाम्रा (देवतागण) पनि शक्ति ह्रास हुने ह हुँदा भगवानले हामीलाई विशेष थप शक्ति प्रदान गरियोस् भनी भगवानसँग प्रार्थना गरे । भगवानले तथास्तु गर्नुभयो । अन्ततः भगवानले महाकरुणाले सर्वव्यापी प्रकाश फैलाउनु भई पानी भित्र पुऱ्याई जलमा रहेका प्राणीहरूले आत्म शुद्ध पारी जलभित्र त्यो प्रकाश पुनः फर्काएर दश दिशाको बुद्धलोकहरुमा व्यप्त गराए । त्यो प्रकाश पुनः फर्काएर बोधिसत्त्व जगत्, महाश्रवणहरूको जगत् प्रसादित गरी तलाउमा प्रकट भएका कमलका फूलमाथिको बुद्धका स्वरूप र तिनका प्रकाशसँग सम्मिलन गराई आकाशतर्फ गई लियुल सबैतिर दैवी पुष्प वर्षिए। ती दैवी पुष्प परस्पर स्पर्श हुँदा बुद्ध धर्मका सबै ज्ञानगुनहरू शब्दमा गुञ्जायमान हुन आयो । भगवानले त्यसो धर्म देशना भएपछि सम्पूर्ण अनुयायीहरू प्रसन्न भई प्रशंसा गर्नु भयो ।

पुस्तकमा भगवान् बुद्धभन्दा पहिलेका चार वटा बुद्धले स्वयम्भू चैत्यको प्राण प्रतिष्ठान गरेको उल्लेख भएबाट त्यस भन्दा अघिका साङ्गे ल्होक्परदेसेल (क्रकुछन्द बुद्ध), साङ्गे खोरवाजिग (क्रकुदसुन्द बुद्ध), साङ्गे सेरथुब (कनकमुनि बुद्ध) र साङ्गे होइसुङ (काश्यप बुद्ध) बारे केही बताएको छैन। तर ‘काश्यप चैत्य’ गौश्रृङ्ग पर्वतमा रहेको उल्लेख छ। भविष्यमा लियुलमा आक्रमण गर्न आउने वा प्रवेश गर्ने भनिएका मध्ये ‘डुगुर’ भनिएको डुगु ग्याल्सा (डुगु राज) का डुपा थरीय तामाङ र ‘सुम्पा’ भनिएको सुम्बा ग्याल्सा (सुम्पा राज) का बज्यू थरीय तामाङ रहेको अनुमान हुन्छ। (ताम्बा काइते नरुइछेन चोप्गेला ह्वाइ पृ. १९ र २०, सन्तवीर लामा, २०६९ रत्न पुस्तक भण्डार) ‘होर’ भनिएका चाहिँ मङ्गोल हुन् । तिब्बतीलाई भोद् (भोट) भनिएको छ । अन्य उग्र अनास्थाकारीहरू पनि आउने छन् [ भनी भविष्यवाणी गरेको पाइन्छ। साथै नेपाल खाल्डो ‘पुण्य भूमि’ (युल गेवाच्यान’लियुल’काश्य देश भनी सम्बोधन पनि गरेका छन् । स्वयम्भू चैत्यको नाम ‘चैत्य शालगन्ध’ र गोमानदीको तटको चैत्यको रूपमा वर्णन गरिएको छ। नेसेद भनिने तीर्थाटन निर्देशिकामा भने स्वयम्भूनाथलाई ‘सिङ्गोन’, ‘सिङ्कुन’ पनि लेख्ने गरेको र बोलीमा ‘सिम्बु’ पनि भन्ने गरेको पाइन्छ। उहिलेको प्रसिद्ध लामाहरूले भने स्वयम्भूको प्रार्थना श्लोकमा राङज्युङ छ्योर्तेन भनी सम्बोधन गरेका छन् ।

स्वयम्भू जात्रा र श्रद्धार्पण

स्वयम्भू (सिम्बु) धार्मिक मेलमा तामाङहरूले प्रमुख रूपमा पितृहरू र मृतकको नाममा धार्मिक विधि सम्पन्न गरी आफ्ना  पृतिहरु र मृतकहरूप्रति म्होइबा (श्रद्धार्पण) गर्छन् । अर्को पक्ष नेकोर (तिर्थव्रत) पनि हो । जुन कुनै पनि धार्मिक समुदायले गर्ने गर्छन् । हिन्दु धर्मवालम्वीहरुले काशी र चार धाम अनि कैलाश मानसरोवरको श्रद्धार्पण र तीर्थाटन, मुस्लिमहरूको मक्कामदिनाको तीर्थाटन, क्रिश्चियनहरुको येरुशलेम र भेटीकन सिटी र बौद्ध जनको नेपालको लुम्बिनी, भारतको बुद्ध गया, सारनाथ र कुश नगर, सिखहरूको स्वर्ण मन्दिर जस्ता तीर्थस्थलहरू पवित्र स्थान हुन् । प्रत्येकले आ-आफ्नो पवित्र स्थानको दर्शन र पूजन गर्ने गर्छन् तामाङ समाजमा हिमाली क्षेत्रको तीन तीर्थस्थलहरू कैलाश मानसरोवर, दोलखा जिल्लाको लाप्ची ने (गोदावरी पर्वत) र चरि ने ( चरी पर्वत) तिब्बत–चीन प्रमुख तिर्थसथलहरु हुन्। त्यस्तै नेपालको सिम्बु (स्वयम्भूनाथ), खास्योर (बौद्धनाथ) (नमोबुद्ध) र ताक्मोल्हुजिन काभ्रे पवित्र स्थल भनी ताम्बाले तोकेका छन् । जुन अवधारणा र दृष्टिले गर्दा यी पवित्रस्थलहरुको महत्त्व अन्यहरूका जस्तै उच्चतम हुने गर्दछन् । प्राचीन बोन संस्कृतिमा पनि हिमालय शिखर, पर्वतका चुचुरो, अनकन्टार भिर पाखाहरूलाई र नदीका देभानहरुलाई देवीदेवताका वासस्थान मान्ने गर्थे। जसलाई ला नेपा ग्ला  बसेको स्थान (लु छ्यापा ग्ला (नागको वासस्थान) भन्ने गर्थे । त्यस्तै ला जाङ/झाङ (देवताको गुँड ) र लु जाङ (नागको गुँड ) पनि भन्ने गर्छन् । त्यसमध्ये तिर्थस्थलहरुलाई विशेष महत्त्व दिने गर्छन् किनकि त्यो मोक्ष वा निर्वाणका मार्गसँग सम्बन्धित छन् । त्यो आध्यात्मिक चिन्तनको निचोड हो ।

छ्योर्तेनको इतिहास

बौद्ध धर्ममा छ्योर्तेन (चैत्य) लाई साङ्गेला थुतेन (बुद्धको चित्त / दर्शन) प्रतीक मानिन्छ । यसले विश्वव्रम्हाण्ड र बौद्ध धर्मका चार आर्य सत्य (दुख सत्य, समुदाय कारण सत्य, निरोध सत्य र मार्ग सत्य, आष्टाङ्गीमार्ग सम्याक दृष्टि, सम्याक सङ्कल्प, सम्याक वचन, सम्याक कर्मान्त, सम्याक जीविका, सम्याक व्याम, सम्याम स्मृति र सम्याक समाधि तीन शिक्षा (शील, समाधि र प्रज्ञा, छ पारमिता (दान पार मिता, शील पार मिता, क्षान्ति पार मिता, विर्य पारमिता, ध्यान पार मिता र प्रज्ञा पार मिता) र दश भूमि (प्रमुदिता, विमला, प्रभाकारी, अर्तिश्मती, सुदुर्जया, अभिमुखी, दुरङ्गमा, अचला, शाधुमति र धर्म मेघा) सबैको प्रतिनिधित्व गर्दछ । यसको धार्मिक-कलात्मक संरचना भगवान् बुद्धकै प्रतीक हुन् । सामान्यतः बुद्धको प्रतिमाहरू सागेला (बुद्धको काय/शर, कङ्ग्युर (त्रिपिटक) स्हुङ (वचन) चित्तका प्रतीक मानिन्छन् ।

भगवान् बुद्धको महापरिनिर्वाण पश्चात् भगवान् बुद्धको रिङसेल (अस्थि धातु) गर्भ गृहमा राखी स्तूप (थुम) बनाएर पूजन गर्ने गरे । तत्कालीन राजामहाराजहरुले आफूहरू क्षत्रिय कुलका वंश हौँ भन्दै अस्थि धातु पाउन दाबी गरेपछि मल्ल, शाक्य, लिच्छवी आदि आठ राज्यका राजकुलहरूले अस्थि धातु आठ भागमा विभाजन गरी आ–आफ्ना स्थानमा लागि स्तूप बनाई पूजन गरे । कुनै राजपूतहरू अस्तु बाँडिसकेपछि आएको हुँदा खरानी र कोइलासमेत लगेर स्तूप निर्माण गरे । एक जना व्राम्हणले भगवानको अन्त्येष्टी क्रियामा सजाएको ‘कलश’ लगेर पनि ‘कलश स्तूप’ निर्माण गरेका थिए । खरानी, कोइला र कलश राखेर बनाएका स्तूपहरू भने ‘आठ स्तूप’ भित्र गणना गरिएन । महायानी बौद्ध सम्प्रदायको विकास भएपछि आठ स्तूपले चैत्यको कलात्मक स्वरूप ग्रहण गर्‍यो। त्यो भगवान् बुद्धको जीवन लीलाको महत्त्वपूर्ण घटनाहरूसँग सम्बन्धित छन्।

सम्राट् अशोकले भारत वर्षका विभिन्न स्थानहरूमा दश हजार स्तूपहरू निर्माण गरेका थिए । ती स्तूपहरू पुरानो आकार प्रकारमा बनाएकोले पछिल्लो समय त्यसलाई ‘अशोक शैलीको स्तूप’ भन्ने गरियो । ललितपुर पाटनमा अशोक शैलीको स्तूप प्राचीन सम्पदाको रूपमा विद्यमान छन्। अशोक सम्राट्को ‘अशोक स्तम्भ’ पनि ऐतिहासिक महत्त्वको मानिन्छ जसको शीर्षस्थानमा लाङ (वृषभ/साँढे), ता (अश्व/घोडा), माप्च्य (मयुर /मजुर) र सिङ्गी (सिंह) को आकृति र छ्योइकिखोर्लो (धर्म चक्र) को प्रतीक कुँदिएका हुन्छन् । लुम्बिनीको ‘अशोक स्तम्भ’ पनि त्यस मध्ये एउटा हुन् ।

महायानीहरुले भगवान् बुद्धको विभिन्न लीलाहरू अङ्कित गर्न चैत्य निर्माण गरे । बोधी ज्ञान लाभका लागि (१) ज्याङछ्युप छ्योर्तेन –बोधी चैत्य), धर्म चक्र प्रवर्द्धनका लागि (२) छ्योइखोर छ्योर्तेन (धर्म चक्र चैत्य), मार-दमनका लागि (३) धुइदुल छ्योर्तेन (मार – दमन चैत्य), बुद्धले आफ्ना माता मायादेवीलाई तुषित लोक (स्वर्ग) मा गई धर्म देशना गर्नु भई पृथ्वीमा अवतरणका लागि (४) ल्हबप छ्याेर्तेन  अवतरण चैत्य, बौद्ध मतमा विमति जनाउने तिर्थाङ्कार (जैन) हरूलाई ऋद्धि प्रदर्शन गरी सद्धर्ममा समावेश गरेको (५) छ्योटुल छ्योर्तेन (ऋद्धि चैत्य), कुमार देवदत्तले भिक्षुसङ्घलाई विवादमा तानी संघभेदन गरेकोमा भगवानले सङ्घलाई एकताबद्ध गरेको (६) एन्दुम छ्योर्तेन (विभेद एकता चैत्य), अर्को (७) पेपुङ छ्योर्तेन (पद्याससन चैत्य) र भगवान् महापरिनिर्वाण भएको (८) ङ्याङ्दे छ्योर्तेन (महापरिनिर्वाण चैत्य) गरी आठ वटा छन् । स्वयम्भू चैत्य, बौद्धनाथ चैत्य र नमोबुद्ध चैत्य ज्याङछ्युप छ्योर्तेन (सम्बोधी बोधी चैत्य) को आकृतिका छन्। महायानीहरु ज्याङछ्युप छ्योर्तेनलाई सर्वोत्तम मान्दछन्। ‘बोधी चैत्यको निर्माण, परिक्रमा, पूजन, प्रार्थना र मर्मत सम्भार (लिपपोत) गर्नाले ठुलो पुण्य लाभ हुन्छ’– बौद्ध सूत्रमा उल्लेख गरेका छन् । त्यस कारण तामाङ बौद्धजनहरुले मृतकको नामका पनि बुद्धको कायको प्रतीक कुतेन (बुद्ध मूर्ति), वचनको प्रतीक सुङतेन/छ्योइतेन (बुद्ध वचन) र चित्त (हृदय) को प्रतीक छ्योर्तेन (चैत्य) निर्माण गर्ने गर्छन् । कसैले कुतेनको रूप (स्वरूप) मा थाङ्का (पौभ) पनि लेखाउने गर्छन् ।

स्वयम्भू पूर्णिमामा पूजा प्रक्रियाहरू

स्वयम्भू मेला भर्ना आउने भक्तजनहरूले आ-आफ्ना औकात अनुसार मृतकको नाममा पूजापाठ गर्ने गर्छन्। पूजाका लागि कसै कसैले गाउँबाटै आफ्नो पुरोहित लामा साथमै ल्याउँछन् भने ल्याउन नसक्नेले अन्य लामालाई सुम्पिने वा स्वयम्भू पुरानो घ्याङमा गई पूजा विधि सम्पन्न गर्ने गर्छन् । सामान्य रूपमा भक्तजनहरूले सम्पन्न गर्ने विधिहरू (१) ग्याछार म्राबा/फुल्बा (एक सय आठ वटा दीप प्रज्वलन गर्ने/अर्पण गर्ने), (२) कुकार / रिङसेल म्राबा (मृतको अस्थि धातु सेतो चोखो कपडामा धूलो पारी घिउ मुछेर बाल्ने), (३ छो फुल्बा ( गणपूजा भनी देव मण्डलमा तान्त्रिक विधिले पूजा गर्ने), (४ मोलाम लाबा (लामा पुरोहितलाई प्रार्थना गर्न लगाउने) र (५) ङोवा लाबा (मृतक पुर्खाहरूको नाम उच्चरण गरी विधिपूर्वक पूण्यपरिणामन गर्ने) गर्छन् । पाँचौँ वा अन्तिम विधि चाहिँ बत्ती बालेर दक्षिणा चढाइ सबैले गर्ने गर्छन् । छ्योर्तेनको परिक्रमण गर्ने, दण्डवत् गर्ने र दीप प्रज्वलन गरी पुर्खाको सम्झना, शान्तिको कामना र आफूले चिताएको पुरा होस् भनी कामना सबै भक्तजनहरूले गर्ने गर्दछन् ।

नाम्दुङ ङ्ह्यानै किन ?

पितृहरूको उद्धार र स्वयम्भूनाथको दर्शन, परिक्रमण र पूजन गर्ने तिथि नाम्दुङ ङ्ह्या (चैत्र पूर्णमा) लाई नै किन चुनियो त ? यसको इतिहास र परम्पराको खोजी गर्न थालेका छन् । यो तामाङ समुदायको चेतना वृद्धि हुँदै आएको सङ्केत पनि हो ।

व्यवहारमा तामाङहरूले आफूले मान्ने गरेका गोने ङ्ह्या (श्रावण पूर्णिमा), साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति (नयाँ वर्ष सूर्य पात्रो), वडा दसैँहरूमा पितृको नाममा ङोपा लाबा (श्रदार्पण) गर्ने प्रचलन छ । पहिले राज्य प्रदत्त मान्यता अनुसार चैत्र दसैँ सबैले मान्ने गरेका थिए । तर, मराव परि सूतकका परेकाहरूले उक्त वर्षको दसैँ पर्वमा मृतकको अस्तु स्वयम्भू तीर्थस्थलमा लगेर सेलाउने र मृतकको नाममा ङोवा-मोलाम ( परिणामन- प्रणिधान) गराउन थाले । आमजनले भने घर–घरमा लामा (पुरोहित) ल्याएर पनि विधि अनुसार पुर्खाको नाममा ङोपा गर्ने गरे । इच्छुकहरूले तीर्थस्थलहरू वा घ्याङ (गुम्बा) हरुमा गएर पनि गरे । यो प्रचलन अद्यावधी कायमै रहिआएको छ । चैत्र दसैँ चन्द्रशमशेरको पालामा आश्विन-कार्तिकमा सारिए। तथापि पुरानो चैत्र पूर्णिमाको स्वयम्भू चैत्यको ङोवा- मोलाम परम्परा भने यथावत् रहन गयो र आश्विन – कार्तिकको बडादसैँका बेला पनि ङोवा-मोलामको प्रचलन प्रारम्भ भयो । चैत्र पूर्णिमाको ङोपा–मोलाम चाडबाडमा पितृका नाममा गर्ने त्यही धार्मिक आस्थाबाट प्रेरित परम्परा हो भन्ने गरिन्छ । तर, अहिले आएर केही तामाङ विद्वानहरू बौद्ध–स्वयम्भूनाथ चैत्यको राब्ने (प्राण-प्रतिष्ठान) को तिथि वा बुद्ध जयन्तीको रूपमा यो परम्परा कायम हुन आएको हुन सक्छ भन्ने तर्क पनि प्रस्तुत गर्ने गरेका छन्। तथापि बौद्ध तन्त्रमा बुद्ध तथा देवतागणको पूजापाठ शुक्ल पक्षमा गर्ने र शक्तिदेवीहरूको भने कृष्णपक्षमा पूजापाठ सम्पन्न गर्ने गर्दछन् । त्यस कारण भगवान् बुद्धको मूर्तिहरू, बुद्ध वचनहरू र चैत्यमा पुज्ने र पितृलाई श्रदार्पण गर्ने शास्त्रीय र सामाजिक मान्यता अनुसार नाम्दुङ ङ्ह्या (चैत्र पूर्णिमा) लाई तामाङ समाजले व्यवहारमा ल्याएको मान्नु पर्ने देखिन्छ । त्यस्तो सन्देश लामाहरूले नै सम्प्रेषण गरेको मानिन्छ नभए विशिष्ट खालको कुनै ‘धार्मिक पर्व’ हाल प्रचलनमा रहेको लामा- पात्रोमा चैत्र महिना भित्र उल्लेख गरेको पाइन्न । तर, बुद्ध जयन्तीको तिथि भने तिब्बतीहरूले जेठमा मान्ने गरेका छन् । त्यो चन्द्र पात्रोको तिब्बती गणना पद्धतिमा शुक्ल पक्षको प्रतिपदाबाट महिना फेर्ने व्यवस्था गरेकाले भ्रम सिर्जना भएका हुन् नभए ‘सागा धावा’ भनिने तिब्बती जेठ महिनालाई अरूले ‘वैशाख’नै मानेका छन् ।

थेरवादी पद्धति र आधुनिक इतिहासवेत्तका अनुसार बुद्ध जयन्ती अहिले २५२९ औँ हुन आउँछ । तर, तिब्बतीहरूले २९७५ औँ भन्ने गर्छन् । यी दुई बिच चार सय चानचुन वर्षको फरक पर्न आउँछ। त्यी ज्योतिष शास्त्रका पृथक् मत हुन् जुन दोषरहित छैनन्।

काश्मीरका महापण्डित शाक्य श्री भद्र (सन् ११४५ – १२४३) तिब्बतमा जानुभई बौद्ध धर्मको ठुलो प्रचार गर्नु भयो। उहाँकै भारतीय चन्द्र पञ्चाङ्गको नक्षत्रीय वर्ष गणना पद्धति र चीनीय तत्वज्योतिषको चन्द्र पात्रोसँग सर्वसम्मत मिलाउने क्रममा महिना र वर्षहरू तलमाथि पर्न गएको मानिनु पर्ने देखिन्छ । भोटमा चीनीय पात्रो र भारतीय पात्रो (ज्योतिषीय मत) समायोजन गर्न धेरै लामाहरूले बौद्धिक प्रयास गरेको देखिन्छ । आधिकारिक क्षेत्र राज्यको मान्यता प्रभावशाली हुने हुँदा ती प्रयासहरू असफल भएको मानिन्छ । नेपालमै पनि मानदेव संवत्, नेपाल संवत् र शाक संवत्को प्रचलन पनि रहेको थियो । पछि चन्द्र शमशेरको पालादेखि विक्रम संवत् आधिकारिक संवत् मान्दै आउन थाल्यो। ल्होछार (नयाँ वर्ष) को सवालमा पनि त्यस्तै हुन गएको हो ।

स्वयम्भूनाथको पुरानो घ्याङ

स्वयम्भू पुरानो घ्याङ गुठी घ्याङ हो । यो भुटानको धार्मिक प्रतिनिधि (धार्मिक मिसन) सँग पनि सम्बन्धित छ। विपिनदेव ढुङ्गेल ‘हिमाल चुली’ (सन् १९८५, २२ जुन) मा प्रकाशित अभिलेख अनुसार सन् १६२४ र सन् १६४० गरी ई पटक भुटानका स्याबडुङ नामगेल गोरखाको भ्रमणमा आएका थिए । गोरखा भुटान बिचको सम्झौताको स्मरण स्वरूप नकथली घ्याङ (रसुवा) निर्माण भएको देखिन्छ ।  सोही बेला नै गोरखाबाट विभिन्न जातका दुई कोरी घरपरिवार आफ्नो साथमा भुटान लगिएका थिए । त्यस्तै तत्कालीन नेपाल खाल्डोका राजा शिवसिंह मल्लसँग पनि मैत्री सम्बन्ध राखी भुटानका जोङ्-घ्याङको मूर्ति निर्माण गर्न बाँडा र कर्मीहरू पनि लगेका थिए (हिरण्यलाल श्रेष्ठ, भुटानमा बौद्ध धर्म र नेपाल सितको सम्बन्ध, …..) । स्वयम्भू पुरानो घ्याङको निर्माण भने भुटानको दोस्रो धार्मिक प्रतिनिधि जेचुन धाम्छ्योइ पेकर (भट्टाराक सद्धर्म पुण्डारिका) जो स्वयम्भूनाथमा (सन् १६९७-१७०७ सम्म) कार्यरत रहेका थिए । उनैले उक्त पुरानो घ्याङको  निर्माण गरेका हुन् । अहिलेको संरचना चाहिँ एकताका अग्नि प्रकोप भएपछि पुन निर्माण गरेका हुन् । उक्त पुरानो घ्याङ अन्तर्गत दोलखाको चरी घ्याङ र बिर्ता घ्याङ (हाल अस्तित्वमा नभएको), रामेछापको पुडी घ्याङ र डोने घ्याङ, सिन्धुपाल्चोक हेलम्बुको घाड्युल घ्याङ, काभ्रे पलान्चोकको बाङथली घ्याङ र नाग्रे घ्याङ, रसुवाको नाकथली घ्याङ, नुवाकोटको हाकु घ्याङहरू पर्दथ्यो । श्री ५ वडा महाराज पृथ्वीनारायण शाहले संवत् १८३१ साल असार वदी १३ रोज ४ मा ती घ्याङ गुठीहरूको थिति बसालेका थिए ( हिरण्यलाल स्रोत ।

सरकारी गुठी जग्गाको व्यवस्था गरी गुठीले पञ्चखत बाहेक अन्य मुद्दामा कचहरी (न्याय हेर्ने) को अधिकार समेत दिएको सरकारी दस्ताबेजले जनाउँछ । त्यस्ता दस्ताबेजहरू तत्कालीन जैशीखानमा रहेकोमा हाल परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको ‘स्वयम्भू पोको’मा सुरक्षित रहेका छन् । तर, नेपाल–भोट युद्ध पश्चात् घ्याङ गुठीहरू अन्य मठ-मन्दिरहरु (जस्तै दोलखाको भीमेश्वर, काभ्रेपलान्चोकको पलान्चोके भगवती माई र सिन्धुपाल्चोकको तौथलीमाई थान) मा हस्तान्तरण हुने वा रैकरमा परिणत हुन पुगे । ती राजगुठी वा धर्म गुठी हरण गर्न सजिलो थिएन । युद्ध कालमा विदेशी शत्रु पक्षमा लागेको भन्ने आरोप भने सशक्त हुने नै भयो। त्यस प्रकारको आरोप सत्ताबाट च्युत भएपछि काजी भारदारहरूलाई पनि लाग्ने गरेको पाइन्छ । अन्ततः संवत् १९१२ मा गोरखा सरकार र भोट सरकार बिच १० बुँदे सम्झौता भएपछि युद्धको अन्त्य भयो (चीतरन्जन नेपाली, केही ऐतिहासिक निबन्धहरू।

सन् १९०७ मा भुटानका तत्कालीन प्रमुख प्रशासक (सरकार प्रमुख) उर्गेन वाङ्च्युगले तत्कालीन सर्वोच्च धर्माधिकारी (जे-खेन्पो ) लगायत प्रमुख लामाहरू, उच्च पदाधिकारीहरू र जोङहरु (जिल्ला) का मुखियाहरूको भेला गराई आफूलाई वंशाणुगत महाराजा ड्रुक ग्याल्पो (भुटानी राजा) घोषणा गर्‍यो । उक्त राष्ट्रिय भेलामा कम्पनी सरकार अङ्ग्रेजको तर्फबाट जे. सी. व्हाइटले भाग लिएका थिए ( मानन्धर) । यसरी सन् १६३९ मा भुटानका धर्मराज घोषणा गरी प्रमुख प्रशासक (देखिद) र जे–खेन्पो (सर्वोच्च धर्माधिकारी) दुई निकायको द्वैध शासन मार्फत आध्यात्मिक शासन चलाउँदै आएको स्याबडुङ लामा (धर्मका लामा) को शासन अन्त्य हुन गयो । वाङच्युग वंश (देवराजा) को शासन सुरु भयो । नेपाल एकीकरण पश्चात् पनि शाहवंशले स्याबडुङ (धर्मका लामा) को नाममा घ्याङ गुठीको व्यवस्था गरेका थिए । तर, ‘सुरेन्द्र विक्रम शाह कालमा तत्कालीन प्रधानमन्त्री (श्री ३ महाराज) जङ्गबहादुर राणा र कमान्डर इन चिफलगायतको तीन सरकार प्रमुखहरूले संयुक्त छापसहितको भुटानको धार्मिक हक थमौतीको अभिलेख प्रदान गरेको छ ।’ (सुशील मानन्धर, नेपाल–भुटान सम्बन्ध एक ऐतिहासिक विवरण, सीनास, त्रिविवि, काठमाडौँ) यसबाट स्वयम्भू पुरानो घ्याङ ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महत्त्वपूर्ण घ्याङ गुम्बाको रूपमा लिइन्छ। तर, त्यसको कार्यान्वयन भएन अर्थात् खोसिएको सरकारी गुठी फिर्ता भएन ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका