सदियौँदेखि तामाङ समुदायले चैत्र पूर्णिमाको अवसरमा मानिँदै आएको बौद्ध तेमाल जात्रा अर्थात् चैतपूर्णे मेला सकिएको छ ।
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध र भोलिपल्ट अर्थात् चैत पूर्णिमा दिन स्वयम्भूमा लामा गुरुद्वारा दिवङ्गतको नाममा ङोवा मोलम गर्ने गरिन्छ ।
बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रूपमा रहेको जीवन्त पर्व हो।
त्यस्तै बौद्धमा दाङबोला ग्युइठिम तामाङ सङ्घले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए ।
यसै गरी स्वयम्भूमा नेपाल तामाङ संस्कृति घेदुङद्वारा बृहत् सांस्कृतिक महोत्सवको आयोजना गरी जात्रालाई थप मनोरञ्जन दिलाएका थिए ।
संस्कृति घेदुङका अध्यक्ष छेवाङतेन्जिङ लामाका अनुसार मेलालाई मनोरञ्जनका लागि चर्चित तामाङ कलाकारहरूद्वारा प्रस्तुति दिएका थिए । मेलामा चर्चित गायक प्रेम लोप्चन, गायिका इन्दिरा गोले, गायक विश्व दोङ, सञ्जीव वाइबा, जीवन बमजन, जितु लोप्चन, सुमिना लो लगायतको प्रस्तुतिले मनोरञ्जनमय बनाएको अध्यक्ष लामाले बताए ।
यसै गरी स्वयम्भू वरिपरिका विभिन्न स्थानमा तामाङ फापरे ह्वाइ (गीत) ले थप मौलिकता झल्काएका थिए । जात्रामा गाइने फापरे ह्वाइ युवापुस्तादेखि ज्येष्ठ नागरिकको रोजाइमा पर्ने गर्छन् । गीतमा मायाप्रितिका भावहरू एकापसमा साटासाट गर्ने गरिन्छ । स्वयम्भूमा फापरे गीत गाउनेको जोडी थुप्रै देखिएका थिए । उनीहरूले गीतमार्फत मायापिरति, दुखसुख साटासाट गर्दै भावनात्मक दोस्ती बनाएको हुन्छ ।
बाजागाजाविना गाइने तामाङ मौलिक फापरे ह्वाइ गाउने र संरक्षनार्थ यो बागमती प्रदेशभित्रका विभिन्न मेलामा गाइने गरिएको छ ।
तामाङ मौलिक गीत संरक्षणका लागि तामाङ साहित्यिक संस्थाहरू पनि जुटेका छन्।
सबैले आआफ्नो पहिचान खोजिरहेका बेला आफूहरूमा भएको मौलिक गीतले तामाङको जीवन र दर्शन बोकेकाले यसको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजनले जानकारी दिए ।