भक्तपुरको घ्याम्पे डाँडा आन्तरिक तथा बाह्य पर्यटकको लागि परिचित नाम हो । उपत्यकाको सबैभन्दा नजिकको पर्यटकीय स्थल र सूर्य विनायकबाट तीन किलोमिटर दक्षिण भेगमा अवस्थित रमणीय स्थल हो‚ घ्याम्पे डाँडा । घ्याम्पे डाँडा भक्तपुरको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ ।
सूर्य विनायक नगरपालिका वडा नं. ७ गुण्डूस्थित घ्याम्पे डाँडामा स्थानीय पहिचान कायम हुने गरी घ्याम्पो निर्माण भएको हो । उक्त क्षेत्रमा पर्यटकलाई थप आकर्षणका लागि छोटो र लामो दुरीका जिप लाइन‚ पाइलट बाबा र पिकनिक स्थलहरू छन् । यस डाँडामा अहिले पर्यटकहरु तस्विर खिच्न र टिकटक लगायतका स्वैच्छिक भिडियोहरु बनाउन दैनिक भीड हुने गर्दछन् ।
यसको पूर्वमा आशपुरी महादेव, दक्षिणमा फुलचोकी, उत्तरमा सूर्य विनायक गणेश मन्दिर र पश्चिममा अनन्तलिङ्गेश्वर महादेव मन्दिर पर्दछ ।
‘पदयात्रा’ को लागि उत्तम मानिने यस क्षेत्रमा पर्यटकहरू समयानुरुप भीड हुँदै गएको स्थानीयहरू बताउँछन् । सुर्यविनायकदेखि पाइलट बाबा आश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसपार्क पुग्ने सडकसम्म कालो पत्रे गरिएको छ ।
यहाँबाट दोर्जे लाक्पा, लाङटाङदेखि गणेश हिमाल, हिमालचुलीसम्मका हिमशृङ्खला देखिन्छ भने काठमाडौं उपत्यकालाई राम्ररी नियाल्न सकिन्छ ।
घ्याम्पे डाँडा कसरी भयो ?
परापूर्व कालमा उक्त क्षेत्र स्थानीय ब्राह्मण समुदायको कुस बिर्ताको नामबाट चर्चा र पुरानो छाप नाम रहन गएको हो । त्यसपछि वि. सं. २०२१ सालको नापी पश्चात् उक्त डाँडालाई स्थानीयले च्यान डाँडाको नामबाट पनि चिन्न थालेका थिए । २०३५ पछि सो डाँडाको नाम घ्याम्पे डाँडा रहन गएको हो ।
पहिलो उक्त डाँडामा स्थानीय बटुवा, गोठालाहरूले गाईबस्तुलाई पानी खुवाउनका लागि जमिन मुनी घ्याम्पे गाडेर राखिएको र उक्त पानी आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको थियो । जमिन मुनी घ्याम्पोमा पानी राख्दा जाडोमा पानी तातो हुने र गर्मीमा चिसो हुने भएकाले पनि घ्याम्पोमा पानी राखी प्रयोगमा ल्याइएको जनविश्वास रही आएको छ ।
घ्याम्पे डाँडबाट करिब एक किलोमिटर उचाइमा ऐतिहासिक रानीकोट दरबार अवस्थित छ । उक्त रानीकोट दरबारमा ऐतिहासिक रानीले नुहाउने कुवा, मल्लकालीन दरबारको रहेको छ ।