महाङ्काल कला-साहित्य महोत्सव सम्पन्न, स्रष्टाहरू सम्मानित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
133 Shares
ललितपुर

महाङ्काल गाउँपालिकाको केन्द्र गोटिखेलमा २ दिने महाङ्काल कला-साहित्य महोत्सव २०७९ सम्पन्न भएको छ । ‘साहित्य नै समाजको दर्पण हो’ भन्ने नाराका साथ स्थापित सुनगाभा साहित्य सदनको आयोजना र महाङ्काल गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रवार र शनिवार उक्त महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा देशका विभिन्न स्थानबाट आएका २०० भन्दा बढी साहित्यिक स्रष्टाहरूको सहभागिता रहेको थियो । गाउँपालिका प्रमुख गणेशबहादुर केसीबाट उद्घाटन भएको महोत्सवमा २०७८ का मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी नवराज लम्साल शनिवारको प्रमुख अतिथि रहेका थिए ।

महोत्सवमा स्थानीय कला संस्कृति तथा झाँकी, खैजेडी भजनको प्रस्तुति, स्थानीय कला प्रदर्शनी, गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता, रचना वाचन, सुनगाभा विशेषाङ्कको साथै कृति विमोचन, सम्मान, कलाकारबाट साङ्गीतिक प्रस्तुतिको साथै सामाजिक सांस्कृतिक विकासमा महाकालको मार्गचित्र विषयक सान्दर्भिक बहस समेत आयोजना गरिएको थियो।

महोत्सवको अवसरमा ललितपुरका चर्चित लेखक तथा साहित्यकार गोपाल सन्जेल र रोम बहादुर थोकरलाई विशेष सम्मान गरिएको छ। बागमती गाउँपालिकाको इकुडोलमा जन्मिएर जनप्रतिनिधि हुँदै नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सन्जेललाई सम्मान गरिएको हो। सन्जेल मूलतः : कवि, निबन्धकार र उपन्यासकार हुन्। उनका ‘उज्यालो बाटोतिर’ र ‘नि:शब्दका शब्द’ (कवितासंग्रह)‚ ‘मै हराएँ आज’ (गजल संग्रह), म भित्र म खोजेर (हाईकुसंग्रह) तथा पत्थर पगाल्दै, बिस्मात, समय रेखामा आमोई जस्ता निबन्ध र उपन्यास कृतिहरू प्रकाशित छन्।

यसै गरी अर्का सम्मानित कालेश्वरमा जन्मिएका रोम बहादुर थोकर गायक तथा गीतकार हुन्। उनले २०५१ सालमा ‘रिमठिम ला ह्वाइ’ नामक गीतिसंग्रह प्रकाशित गरेका थिए। साथै उनले विभिन्न चलचित्रमा पनि अभिनय गरेका छन्।

महोत्सवको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा बाघ भैरव मावि कालेश्वरकी पासाङ डोल्मा लामा प्रथम, बाघभैरवाकै कन्चन तिमल्सिना द्वितीय,महेन्द्र मावि ठुलादुर्लुङ्गकी रेजिना बन्जारा तृतीय र महेन्द्रकै बबिता बरालले सान्त्वना स्थान हासिल गरे।

विजेतालाई गाउँपालिका प्रमुख गणेशबहादुर केसीले पुरस्कार वितरण गरेका थिए।

यसै गरी उक्त महोत्सवमा वरिष्ठ साहित्यकारहरू नवराज लम्साल,देवी पन्थी, कृष्ण प्रसाद दाहाल,गोपाल सन्जेल,सुचिता काफ्ले, यमुना प्रधानाङ्ग मुना,जनार्दन अधिकारी धड्कन लगायत दर्जनौँ स्रष्टाहरूले रचना वाचन गरी महोत्सवलाई खुब साहित्यमय बनाए। समापन समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा नवराज लम्सालले महाकाल कला साहित्य महोत्सवलाई देशभरकै एक उत्कृष्ट साहित्य महोत्सवको रूपमा आफूले पाएको बताए।

महाकाल तथा ललितपुरका सबै स्रष्टाहरू फरक आमाका भए पनि आफ्नै भाइ जस्तै आत्मीय रहेको भन्दै उनले आफूले डा नवराज लम्साल बन्नका लागि गरेका दुख र सङ्घर्षका प्रेरणादायी कुराहरू सुनाएका थिए।

नयाँ पुस्ताले पुराना धार भन्दा अनि नयाँ नयाँ विषयवस्तु लाई साहित्य सिर्जनामार्फत बाहिर ल्याउन उनको सुझाव थियो। यसै गरी प्राध्यापक डाक्टर कृष्ण प्रसाद दाहालले संसार नै कला साहित्यको भण्डार रहेको र यसले सबैलाई शीतल छहारी दिने बताए। सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले साहित्यको सेवामा सुनगाभाले निरन्तर रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै महत्त्वपूर्ण महोत्सव सम्पन्न गर्नका लागि सहयोग गर्ने गाउँपालिका लगायत सम्बन्धित सबैलाई निरन्तरताको अपेक्षा सहित धन्यवाद ज्ञापन गरे।

गाउँपालिका प्रमुख गणेश बहादुर केसीले कला साहित्य महोत्सव जस्तो विशेष र महत्त्वपूर्ण कार्यक्रम महाकाल गाउँपालिकामा नै पहिलो पटक आयोजना भएको दाबी गरे। महाकालमा कला साहित्यको विकास र विस्तारका लागि महाकाल गाउँपालिका प्रज्ञा प्रतिष्ठान ऐन गाउँ सभाबाट पास भइसकेको र अब छिटै उक्त ऐन कार्यान्वयन गरिने केसीको भनाई छ।

महोत्सवको अवसरमा साहित्यकार सिताराम घिमिरेको चारुसंग्रह ‘नबर्सिने बादल’ पनि लोकार्पण भएको छ। गोटिखेलकै स्थानेया घिमिरेका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता,कथाका साथै समर्पण कवितासंग्रह २०७५ र शोकानुभूति शोककाव्य २०७५ प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका