नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज शुक्रबार बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन सम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको छ ।
सहमतिको दस्तावेजअनुसार कांग्रेसका सांगठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर÷उपमहानगर÷महानगर कार्यसमिति, भ्रातृ संघ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार कांग्रेसलाई पार्टीको उपसभापति र सो पार्टीका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो ।
यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिको गठन गरिएको थियो ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, एनपी साउद, भीष्मराज आङ्दम्बे, देवेन्द्रराज कँडेलले आ-आफ्नो धारणा राखेका थिए । बैठकले उपसभापति निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।