रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रेन्बो ट्राउट मत्स्य पालक तालिम सम्पन्न भएको छ ।
यही चैत २२ देखि २८ गते सम्म सञ्चालन भएको १ हप्ते आधारभूत तालिममा ११ जिल्ला का १७ जना कृषकहरू सहभागिता थिए ।
रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेले दार्चुला,धादिङ,बैतडी,तेह्रथुम,जुम्ला,गुल्मी,स्याङ्जा,नुवाकोट,धनकुटा,ललितपुर र रसुवा का माछा पालन गरिरहेका ११ कृषकहरूलाई प्रविधि को विकास एवम् विस्तार गरी आय आर्जन तथा रोजगार को सिर्जना गर्ने उद्देश्य का साथ तालिम सञ्चालन गरिएको थियो ।
रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रका प्रमुख महेन्द्र भण्डारले तालिम पश्चात् मत्स्य पालनमा सुधार हुनेमा विश्वास लिएका छन् ।
नेपालका मध्ये पहाडी,पहाडी र हिमाली क्षेत्रमा रहेका चिसो सफा खेर गइरहेको पानी तथा भिरालो खेती गर्न नसकिने जग्गा जमिनलाई सदुपयोग गरी प्राकृतिक श्रोत साधन को प्रयोग गरेर माछा पालिरहेका ११ जिल्ला का १७ कृषकहरू लाई अझै मत्स्य पालनमा निखरता ल्याउन तालिम दिइएको बताइएको छ ।
तालिममा सहभागी तेह्रथुमका कृषक श्यामबहादुर गुरुङले हामी जस्तो कृषकहरूले यस्ता तालिम लिइरहनु आवश्यक रहेको बताए । अर्को जुम्ला सिञ्जाका कृषक भक्त बहादुर नेपाल पनि मत्स्य पालन तालिम लिन आउँदा आफूले पनि गरिरहेको माछा पालनमा अझै निखरता आउने बताए ।
मत्स्य अनुसन्धान केन्द्रका प्रमुख महेन्द्र भण्डारीले भने‚ ‘माछा पालक कृषकहरूलाई माछा पालेर थप आयआर्जन बढाउन नयाँ प्रविधिको विकास गराउन तालिम दिएको हो ।’