समन्वय सहकार्य र सहर अस्तित्व सहित २८ औँ वन्यजन्तु सप्ताह एवम् ११ औँ रेडपाण्डा ट्रफिको दोस्रो दिन वैशाख २ गते चरा तथा रेडपाण्डा वासस्थानको अवलोकन गर्दा विभिन्न प्रजातिका चराहरू फेला परेको छ।
वैशाख १ देखि ७ गतेसम्म मनाउने कार्यक्रम लामटाङ राष्ट्रिय निकुञ्जको आयोजना र ल्याकोस रसुवाको सहकार्यमा भएको हो । वैशाख १ गते विधिवत् रूपमा निकुञ्ज कार्यालयमा उद्घाटन गरिएको थियो । त्यस्तै २ गते चरा तथा रेडपाण्डा अवलोकन गर्न निकुञ्ज लगायत ल्याकोसका टिम मध्यवर्ती व्यवस्थापन समिति (काउन्सिल) का अध्यक्ष उत्तम थापा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, सञ्चारकर्मी‚ संरक्षणकर्मी लगायत सहभागिता रहेको थियो ।
चरा अवलोकन गर्दा लेकाली‚ लेवा, वनचर, सेतो ढाडे, मुनियाँ, नीलकण्ठे, काडेभ्याकुर, बुढ्रेचरा, फुस्रो टाउके सारौ, पहेँलो मारूनुचरा, निलश्वेत अर्जुनकसिनिया, चक लगायतका थुप्रै चराहरू भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
त्यस्तै ३ गते धुन्चे बजार हाता सरसफाइ, ४ गते विधिवत् रूपमा ११ औँ रेडपाण्डा ट्रफि उद्वधाटन ५ गते मैत्रीपूर्ण भलिबल खेल हुनेछ ।
६ गते हरित सांस्कृतिक कार्यक्रम र वैशाख ७ गते भलिबल फाइनल पुरस्कार वितरण तथा ग्रिन कन्सर्ट हुनेछ ।
खेल लगायत सांस्कृतिक कार्यक्रमको माध्यमबाट वन वन्यजन्तु र वातावरणको संरक्षणमा ठुलो टेवा पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए ।