देशभरका वन–जङ्गलमा केही दिनयतादेखि डढेलो फैलिएको छ । यस्तै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र लिसंखुपाखर गाउँपालिकाको सिमाना गोल्मे जङ्गलमा ३ दिनदेखि फैलिएको डढेलोले त्यहाँका जङ्गल सखाप पारेको छ ।
गोल्मे जङ्गलमा फैलिएको डढेलोले त्यस वरिपरिका मानवबस्तीसम्म पनि डढेलो पुगेपछि उनीहरूमा त्रास बढेको देखिन्छ ।
मङ्गलवारदेखि सुरु भएको आगोले बिहीबारसम्म गोल्मेका करिब ७५ हेक्टर जङ्गल सखाप पारेको स्थानीय कान्छी तामाङले जानकारी दिइन् । उनका अनुसार डढेलोले स्मार्ट फोनको टावर‚ वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति पुगेको बताइन् ।
डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । स्थानीय सरकारले सक्दो प्रयास गरिरहेको छ ।
स्थानीयका अनुसार डढेलो सानोपाखर ९ किलोदेखि सुरु भएको बताइएको छ ।
देशभर विभिन्न स्थानमा भएका डढेलोले वायुमण्डललाई प्रदूषित बनाएको छ।
यस्तै सिन्धुपाल्चोकको सुकुटे‚ चेहेरेबाट पारी देखिने जङ्गलहरूमा पनि डढेलो लागेको देखिएको छ ।
नेपालमा वन विनाश र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठुलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ ।