आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैङ्का लागि नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ ।
शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैङ्क तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूकोभन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा शुक्रबारदेखि आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।
अहिले काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएको जानकारी गराउँदै उनले नयाँ नोट वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार दिउँसो काउण्टर बन्द गर्नेबेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको बताए । उनले उपत्यकाभित्र राष्ट्र बैङ्क र विभिन्न बैङ्कमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैङ्कका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।
वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार राष्ट्र बैङ्कमा विगतका वर्षहरूमा जस्तो सर्वसाधारणको बाक्लो लाइन थिएन । लाइनमा बसेका सर्वसाधारणले करिब २० मिनेटभित्र सजिलै नयाँ नोट पाएका थिए ।
राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले बालुवाटारबाट यस्तो नयाँ नोट सटही गरिएको हो । राष्ट्र बैङ्कले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट बाँड्ने तयारीरहेको राष्ट्र बैङ्कले जनाएको छ ।
यो वर्ष राष्ट्र बैङ्कले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिने जनाएको छ । राष्ट्र बैङ्कका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ । यो समाचार राजधानी दैनिकमा छ ।