रसुवामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
रसुवा

जिल्ला अस्पताल रसुवाले आइतबार वैशाख १० गतेदेखि स्वास्थ्य बिमाको कार्यक्रम अगाडि बढाएको छ । रसुवाका नागरिकलाई स्वास्थ्य बिमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बिमासम्बन्धी काम अघि बढाएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बिमा कार्यान्वयनको थालनी गरिएको हो । बिमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ ।

बिमाले यथेष्ट उपचार सेवा प्रदान गर्ने भएकाले सबै दाजुभाइ तथा दिदीबहिनी यस कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित कुमार शाहले आग्रह गरे ।

एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ट तीन हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाएर बिमा गर्न सकिन्छ । एक वर्षसम्म बहाल रहने बिमा कार्डले १ लाख रुपैयाँसम्मको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ ।

स्वास्थ्य बिमाको कार्ड प्राप्त गरेका तर स्थानीय अस्पतालमा उपचार हुन नसकेका नागरिकलाई थप उपचार गराउन काठमाडौँको सरकारी अस्पतालमा पनि बिमाले सहयोग गर्नेछ ।

जिल्लाका पाँच गाउँपालिकामध्ये कालिका गाउँपालिका धैबुङले सम्पूर्ण वडावासीलाई गत फागुन देखिनै लागू हुने गरी स्वास्थ्य बिमा गराई रकम भुक्तानी समेत गरेको छ ।

तपाईको प्रतिक्रिया