अन्तर्राष्ट्रिय तामाङ परिषद् स्थापना भएको पनि दुई दशक पार गरिसकेछ । यो परिषद् सन् २००२ मा काठमाण्डौंमा प्रथम सम्मेलन गरेर विधिवत् स्थापना भएको थियो । अहिलेसम्म दुई ओटा नेपालमा र दुई वटा भारतमा गरेर चार ओटा सम्मेलनहरू सम्पन्न भए । अब पाँचौँ सम्मेलन थाइल्यान्डको बैंककमा जुन ३-४, २०२३ हुनेवाला छ । यस पाँचौँ सम्मेलनको मूल नारा ‘विश्वभरिका तामाङहरूको साझा मञ्च–साझा सवालको निम्ति साझा पहल’ रहेको छ । यस परिषद्को दुई ओटा सम्मेलनहरू तेस्रो (काठमाण्डौं) र चौथोमा (मिरिक, दार्जिलिङ) पङ्क्तिकार प्रत्यक्ष सहभागी भएको छु ।
तामाङ अग्रजहरूले विश्वभरि फैलिएका र फैलिँदै गएका सारा तामाङहरूलाई समेट्न र उनीहरूका साझा मुद्दाहरुलाई मुखर गर्न यस परिषद्को परिकल्पना गरेरै यसको स्थापना गरेको हुनु पर्छ । यो जाति एउटै राष्ट्रको सीमारेखा र राष्ट्रियतामा मात्रै सीमित छैनन् । आज नेपाल, भारत, भुटान, बर्मा, थाइल्यान्ड, चीनसहित विभिन्न देशमा कैयन् पुस्तादेखि सोही देशको नागरिक भएर बसेका छन् । अहिले डिभी, पिआर, ग्रिन कार्ड र नागरिकता नै लिएर विश्व भरिका र थुप्रै पश्चिमा देशहरूमा समेत फैलिएका छन् । यसरी संसारभरि फैलिएर रहेका जातिलाई एउटै मालामा उनेर राख्ने प्रयास अत्यन्तै सह्रानीय हो । अब तामाङ जाति मात्रै होइन, सभ्यताको रूपमा विकास भइसक्यो । यो सभ्यता रूपी फूलको सुवास विश्वभरि फैलिनै सकेको छ । त्यसरी छरिएका सभ्यतालाई परिषद्को मालामा उन्ने कार्य प्रशंसनीय नै छ ।
सम्मेलनदेखि सम्मेलनसम्म
परिषद्को सम्मेलन नियमित भइरहेको छ । त्यो नै यसको सबल पक्ष हुन् । यसमा नेपाल, भारतको सक्रिय सहभागिता छ । अरू देशको निष्क्रियजस्तै भूमिका रहँदै आएको छ । जुन देश आयोजक रह्यो, त्यही देशले नेतृत्व पाउने सामान्य नियम नै रहेको छ । त्यसो हुँदा अहिलेसम्म नेपाल र भारतले दुई दुई पटक नेतृत्व गरिसकेको छ । परिषद्को चलनचल्ती अनुसार, अब थाइल्यान्डले यो परिषद्को नेतृत्व पाउने सोझै अनुमान लगाउन सकिन्छ । परिषद् तामाङ सभ्यताको लागि विश्वकै सर्वोच्च निकाय हुन् । यो भन्दा माथिको अरू संस्थागत संरचना छैन । त्यसो भएको कारणले गर्दा करोडौँ तामाङहरूकाे एक मात्र सर्वोच्च संस्थाको रूपमा रहँदै आएको छ । अहिलेसम्मको परिषद्को अभ्यास र गतिविधि हेर्दा यो पाँच वर्षमा एक पटक सम्मेलनको लागि सक्रिय हुने संस्थाको रूपमा चिनिँदै आएको छ । सम्मेलन सम्पन्न गरे पश्चात् पुनः पाँच वर्षे कुम्भकर्णको निदाइमा डुबेको देखिन्छ । परिषद्ले खासै उल्लेखनीय केही गरेको देखिँदैन । अहिलेको बिजुली गतिमा दौडिने विश्वको माग र आवश्यकतालाई परिषद्को यस्तो कुम्भकर्णे चालढालले सम्बोधन गर्न सक्दैन । अहिलेको विश्वमा तामाङहरूकाे आकाङ्क्षा, सोच र चाहनालाई यसले भेट्नै सकेको छैन ।
विगत दुई दशकसम्मको परिषद्को इतिहासमा यो संस्थाले तामाङ समाजमा प्रत्यक्ष अनुभूति हुने गरेर केही गरेको पाइँदैन । एक पटक संस्कार संस्कृति निर्देशिका पारित गरेबाहेक त्यस्तो सम्झिने लायक केही देखिँदैन । त्यो निर्देशिका पारित गरेको पनि वर्षौँ भइसक्यो, त्यसमा थप परिमार्जन र विस्तृत बनाउनु पनि पर्छ होला । तेस्रो सम्मेलनमा बिस वर्षे ‘तामाङ सांस्कृतिक पुनर्जागरण नीति’ पारित गरेको थियो, त्यो कागजमै सीमित रह्यो । गत मिरिक सम्मेलनबाट परिषद्लाई नजिकैबाट अवलोकन गर्दै आएको छु । परिषद्का नेतृत्वले कोभिडलाई मुख्य बहानाको रूपमा प्रस्तुत गर्न सक्लान् तर कोभिड सकेको पनि यतिका दिन भइसके । यस बिचमा पनि केही गरेको देखिएन । यसपालिको ल्होछारको बेला वेबसाइट र पात्रो सार्वजनिक गर्ने कार्य गरे । त्यो त कार्यालयको नियमित कार्य नै हुन् । विश्वभरि फैलिएर रहेका तामाङ समुदायले महसुस गर्ने गरी केही काम पनि भएन । परिषद् पाँच वर्षे रमाइलो जात्रा जस्तो भएको छ । पाँच वर्षमा कुनै भूगोलमा भेला भयो, गीत गाइयो, नाचियो, खाइयो र छुट्टियो । भारतमा बाह्र वर्षमा एक पटक त्रिवेणी मेला लाग्छ । त्यस्तै यो पनि पाँच वर्षमा लाग्ने जात्रा जस्तै परिषद्को सम्मेलन हुँदै आएको छ । यो सम्मेलन करोडौँ खर्च गरेर गरिन्छ, तर उपलब्धि केही देखिँदैन । न कुनै मन्थन हुन्छ, न कुनै त्यसबाट अमृत नै निस्कन्छ । अग्रज भनिएका तामाङहरूका जुँङ्गाको लडाइ गर्ने थलो मात्रै हुँदै आएको छ । आपसमा बसेर भाग शान्ति मिलाउने काम हुन्छ तर ठोस उपलब्धि हासिल गर्ने न कुनै योजना छ न कार्यक्रम नै । यसरी नै बिस वर्ष बितिसक्यो । बिस वर्षमा त जन्मेको शिशु नै लक्का जवान हुन्छ । उत्पादनशील उमेरमा प्रवेश गर्छ । तर, परिषद् अहिले पनि दुधे बालकजस्तै वामे सर्ने काममा तातेताते गर्दैछ । यसरी त यो संस्था कहिले वयस्क हुने होला ? चिन्ता लाग्छ नै ।
तामाङ संस्थाको क्षयीकरण
समाजको आकाङ्क्षा र आवश्यकता बढेसँगै तामाङ संस्थाको सबलीकरण हुन आवश्यक छ । बलियो संस्था निर्माण गरेर आफ्नो समाजलाई अगाडि बढाउने आ-आफ्नो देशको राजनीतिक, सामाजिक र सांस्कृतिक, आर्थिक र ऐतिहासिक परिवेश अनुसार सरकारबाट आफ्ना मागहरूलाई सम्बोधन गराउनु पर्थ्यो । त्यो हुन सकेन । तामाङ संस्थाहरू क्षयीकरणमा गएका छन् । उदाहरणको लागि नेपाल, भारत र अमेरिकामा रहेका संस्थाहरू हेरौँ । आपसमा विभाजित छन्, एकता छैनन् । सानोतिनो वैयक्तिक विषयहरूलाई संस्थागत बनाउँदै मनमुटाबलाई चर्काएर बेग्ला बेग्ला संस्थाहरू निर्माण गरेका छन् । आपसमा फुट ल्याएका छन् । नेपालमा नेपाल तामाङ घेदुङ र नेपाल तामाङ राष्ट्रिय घेदुङ, भारतमा अखिल भारत तामाङ बौद्ध सङ्घको विकल्पमा अर्को संस्था बनाइयो । त्यसैगरी, अमेरिकामा पनि त्यस्तै छ । न्यूयोर्क सहरमा दुई फरक फरक तामाङ संस्थाहरू क्रियाशील छन् । एकापसमा दोषारोपणमा उत्रेका मात्रै छैनन्, पानी काट्नेसम्मको स्थिति छ । यस्तो विभाजित अवस्थामा त्यसमाथि दलीय आधारमा खिचातानी र गुटहरूको प्रतिस्पर्धा नै छ । नेपाल तामाङ घेदुङजस्ता संस्थामा दलीय आधारमा शिविरहरू नै छन् । आरोपप्रत्यारोप, असहयोग, एकार्कालाई असफल बनाउन षडयन्त्र गरिबस्छन् । आफ्ना दलका एजेन्डाहरू संस्थामा भित्र्याएर रडाको मच्चाउँछन्, आपसमा लड्छन् । कसको दलको नीति तामाङ संस्थामा लागू गर्ने होडबाजी गरेर घनचक्कर मारिरहन्छन् । यतिसम्म हस्तक्षेप निम्त्याइयो कि तामाङ संस्थाको नेतृत्व चयन गर्ने बेलामा दलका नेताहरू आशीर्वाद समेत थाप्न जान्छन् । गैरतामाङ दलका नेताबाट भिटो लगाएर आफ्नो जातीय संस्थाको नेता बन्न गर्व गर्छन् । यस्ता कार्यहरूले तामाङ संस्थाको क्षयीकरण भएको छ । आखिरमा समानान्तर संस्थाहरू किन चाहियो त ? नेपाल तामाङ घेदुङ र राष्ट्रिय घेदुङ किन अलग अलग बस्न पर्यो त ? एउटै उद्देश्यका उस्तै संस्थाहरू एक हुँदा नै त्यो बलशाली हुन्छ । त्यो गर्नलाई कसले रोकेको छ ? यस्तो क्षतविक्षत भएका संस्थाहरूले सरकारसित कसरी लड्न सकिएला नि ? एकीकृत सामुदायिक आन्दोलन कसरी चलाउन सकिन्छ त ? आज नेपालमा तामाङ जतिकै जनसङ्ख्या भएको अरू जातिहरूले सशक्त आन्दोलन गर्छन्, राज्यलाई गलाएर एउटा विन्दुमा गएर उपलब्धि हासिल गर्छन् । उदाहरणको लागि, थारुले संविधानबाट थारु आयोग प्राप्त गरे, अब निजामती सेवामा पाँच प्रतिशत बेग्लै आरक्षण पाउँदैछन् । अलग्गै दल बनाएर मूलधार भनिएका दलहरूलाई चुनौती पेस गर्न सक्छन् । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार ढाल्न सक्छन् र अड्याउन पनि सक्छन् । सङ्घको सरकारलाई दबाब दिन सक्छ । उक्त दलको समर्थनबिना सङ्घ र प्रदेशमा सरकार बनाउन हम्मे हम्मे हुने स्थितिमा पुर्यायो । त्यो दृष्टिकोणले तामाङहरू कहाँ छन् ? हामी त गन्तीमै छैनौँ । यति पनि किन बुझ्न नसकेका होलान्, हाम्रा नेतृत्वले !
परिषद्को नयाँ मोडल
अन्तर्राष्ट्रिय तामाङ परिषद् अब नामको मात्रै कर्मकाण्डी संस्था बन्नु हुँदैन । यो परिषद् त अहिलेको पुस्ता र समाजको आकाङ्क्षा र आवश्यकतालाई बोक्न सक्ने हुनु पर्छ । नेतृत्व चयन मूलतः साँघुरो घेराबाट हुने भएकोले त्यसलाई फराकिलो बनाउन पर्छ । नेतृत्वमा विविध पृष्ठभूमिका व्यक्तित्वहरूलाई समावेश गर्न जरुरी छ । त्यसमा राजनीतिक, प्राज्ञिक/वाैद्धिक, व्यापारिक, साहित्यकार, संस्कृतिविद्, अभियन्ता, अन्तरपुस्ता, विज्ञताजस्ता विविध क्षेत्रका छनौट गरेर ल्याउन आवश्यक छ । अन्तर्देशीय सम्बन्धलाई पुँजीकृत गर्न सक्ने दक्ष जनशक्तिलाई परिषदमा ल्याउन आवश्यक छ । परिषद्ले अन्तर्राष्ट्रिय विषयगत समितिहरू बनाउने सक्ने छन् । जसमा विषयविज्ञहरुलाई चयन गर्न सक्नेछन् । नीति बनाएर नेतृत्व गर्न सक्ने चलायमान व्यक्तिलाई परिषद्को नेता बनाउनुपर्छ । परिषद्ले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त तामाङ व्यक्तित्वहरूको एउटा सञ्जाल बनाउनुपर्छ । त्यस्ता सञ्जालहरू साहित्यकारहरूका हुन सक्छ, व्यापारीहरूका हुन सक्छ र विज्ञ समूहको हुन सक्छ । रोटीबेटीको सम्बन्धलाई प्रवर्द्धन गर्ने इकाई बनाउन सक्छ । बेलाबेलामा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयहरूमा गोष्ठी र सम्मेलनहरू आयोजना गर्न सक्नेछ । अन्तर्देशीय सामाजिक, सांस्कृतिक अध्ययन अनुसन्धानहरू गर्न सक्छन् । अन्तर्देशीय ज्ञान, अनुभव र पुँजीको आदानप्रदानको वातावरण निर्माण गर्न जरुरी छ । कामकाजी नेतृत्व ल्याउन जरुरी छ । सम्मेलनदेखि सम्मेलनसम्म निदाउने कुम्भकर्ण स्वभावबाट मुक्त नहुने हो भने तामाङ मुक्ति आन्दोलन कसरी सम्भव हुन्छ होला ? तामाङ समाजलाई नामको होइन, कामको परिषद् चाहिएको छ ।