नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्षको सन्दर्भमा ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मूल विषयमा केन्द्रित रहेर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल हुने भएको छ ।

युरोपियन युनियन डेलिगेसन टु नेपाल संस्थाले सोमबार लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो । युरोपियन युनियनका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ गतेसम्म हुँदै छ । महोत्सवको दोस्रो चरण भने वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा हुनेछ । महोत्सवको अन्तिम चरणको प्रदर्शनी काठमाडौँ चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुने आयोजकले जनाएको छ । महोत्सवले आम मानिसमा उनीहरूको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्दै सबैको मानवअधिकारको रक्षा, सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने युनियनकी राजदूत नोना डेप्रेजको विश्वास छ ।

महोत्सवमा युरोप तथा नेपालका ख्यातिप्राप्त फिल्मकर्मीहरूले निर्माण तथा निर्देशन गरेका ८ वटा युरोपियन र नेपाली सर्ट फिल्महरू प्रदर्शन हुनेछन् । यसै अवसरमा मानव अधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’, ‘चलचित्रको प्रशंसा: चलचित्रलाई कसरी बुझ्ने र प्रशंसा गर्ने’ जस्ता विषयक छलफलहरू हुनेछन् ।

नेपाल युरोपियन युनियनले विगत ११ वर्षदेखि महोत्सव गर्दै आएको छ । यसले युरोपियन र नेपाली फिल्म निर्माता तथा फिल्ममा रुचि राख्नेहरूबिच सम्बन्ध एवं सांस्कृतिक संवादको बाटो खोल्न सहजीकरण गरेको आयोजक संस्थाको ठहर छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया