नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १३ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्राप्त गर्ने कलाकार तथा स्रष्टाको नाम सार्वजनिक गरेकी छन् ।
हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पुर्याउने ६ जना स्रष्टा तथा सर्जकहरूलाई प्रदान गरिँदै आएको छ । यस वर्षको सङ्गीत विधातर्फ ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ गायक तथा सङ्गीतकार गणेश रसिक, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नवीन किशोर राई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधा तर्फ वरिष्ठ सङ्गीत साधक विजय कुमार श्रेष्ठ, नाटक विधा तर्फ प्रा.डा. रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ वरिष्ठ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम २०६७ साल वैशाख १० गते प्रतिष्ठानको स्थापना भएको हो । स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आइतबार विविध सांस्कृतिक प्रस्तुतिहरू सहित वार्षिकोत्सव मनाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले गीत सङ्गीतका मार्फतबाट जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै संस्कृतिको क्षेत्रमा ठुलो अभियान चलाउन नीति तथा कार्यक्रममा नयाँ कुराहरू ल्याउन लागेको बताए ।
कार्यक्रममा कुलपति शर्माले सरकारले आफू लगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने बताइन् । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गरिने उनले जानकारी दिइन् । साथै यसै वर्ष देखि ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा आजीवन योगदान सम्मान’ एक जना विशिष्ट स्रष्टा सर्जकलाई प्रदान गर्ने गरी गृहकार्य भइरहेको समेत उनले सुनाइन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा लगायतको सहभागिता रहेको कार्यक्रममा उदिराम खड्काले मयुर नृत्य, प्राज्ञ शान्ति कठायत तथा समूलले देशभक्ति गीतमा नृत्य, वरिष्ठ लोक गायक राजु परियारले लोक गीत, प्राज्ञ परिषद् सदस्य टिका सानुले लोक गीत प्रस्तुत गरेका थिए ।