भीमेश्वर नगरपालिका वडा नं. ६ ले भानु विद्यापति साहित्य प्रतिष्ठानको कार्यालय सहयोगी सरस्वती बस्नेतलाई सहायक कम्प्युटर अपरेटरमा नियुक्त गरिएको छ ।
प्रतिष्ठान अध्यक्ष शंकरलाल श्रेष्ठ भने यो विषयमा बेखबर रहेको बताउँदै आएको छ । ‘हामीले उहाँलाई प्रतिष्ठानको चिसापानी हल र बाटिका सरसफाइसँगै ताला चाबी लगाउन नियुक्त गरेका थियौँ,’अध्यक्ष श्रेष्ठले भने,‘कसले किन वडा कार्यालयको कम्प्युटर अपरेटर बनायो जानकारी छैन ।’
‘प्रतिष्ठानमा मासिक ६ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय अनुसार सरस्वती जीलाई राखिएको हो । यो विषय नगरपालिकाको कर्मचारी तथा प्रतिष्ठानको सचिव सुन्दर खड्का जीलाई धेरै जानकारी हुन सक्छ ।’‚ उनले भने ।
भीनपा ६, का वडा अध्यक्ष नवीन लामा पनि यो विषयमा अनविज्ञ नै छन् । वडामा कर्मचारी अभाव रहेको तर भानु विद्यापतिका कर्मचारी पठाउन नगरपालिकालाई पत्राचार भने नगरेको वडा अध्यक्ष लामाको स्पष्ट भनाई छ ।
‘मैले बुझे अनुसार केही समयका लागि भनिएको छ । तर, के कसरी पठाइएको हो, मलाई डिटेल जानकारी छैन । अहिले कम्प्युटरमा काम गरिरहेको छ,’ वडा अध्यक्ष लामाले भने,‘यो विषयमा तथ्यगत जानकारी मलाई पनि छैन।’
भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले यो विषयमा आफूलाई भन्दा बढी जगदीश अर्याललाई जानकारी भएको बताए । कम्प्युटर अपरेटरको रूपमा काम सिकोस् भनेर वडा ६ मा सरस्वती जीलाई पठाइएको अधिकृत पौडेलको भनाई छ ।
भानु विद्यापति प्रतिष्ठानका सचिव तथा नगरपालिका शिक्षा शाखाका कर्मचारी सुन्दर खड्काले सरस्वती बस्नेतलाई प्रारम्भिक चरणमा ६ हजार रुपैयाँ पारिश्रमिक दिएर करारमा नियुक्त गरिएको बताए । सहजकर्ताको रूपमा चिसापानी हलको रेखदेख गर्ने, साँचो ताला चाबी लगाउने भनेर नियुक्त गरिएको हो ।
अहिले यता काम नभएपछि वडा ६ मा नगरपालिकाले नै पठाएको उनको दाबी छ ।
कसले लेख्यो टिप्पणी ?
भानु विद्यापति साहित्य प्रतिष्ठानको कर्मचारीलाई वडा ६ को कम्प्युटर अपरेटरको रूपमा लैजाने विषयमा कसले, कहाँ, कसरी टिप्पणी उठायो भन्ने प्रमाण लुकाइएको छ ।
यसरी टिप्पणी लुकाउनुमा नगरपालिकाकै कर्मचारीहरूको मुख्य भूमिका रहेको स्रोतले बताए । जबकि कम्प्युटर अपरेटरमा कर्मचारी पठाउने टिप्पणी प्रशासन शाखामा रहन्छ । यहाँ कुनै पनि प्रमाण नरहेको प्रशासन शाखाले जनाएको छ ।
टिप्पणीमा क कसको हस्ताक्षर ?
ई भवेन्द्र थापाको श्रीमती सरस्वती बस्नेतको विषयमा टिप्पणी कसले लेख्यो भन्ने विषय कर्मचारीबिचमा नै चर्चाको विषय बनेको छ । स्रोतका अनुसार ई भवेन्द्र थापा आफैले टिप्पणी उठाएर सिधै प्रमुख प्रशासकीय अधिकृतलाई दस्तखत गर्न लगाएको बुझिन्छ । उक्त टिप्पणी प्रशासनमा हुनु पर्नेमा लेखा शाखा प्रमुखको दराजमा रहेको स्रोतले बताएको छ ।
उक्त टिप्पणीमा भानु विद्यापति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको हस्ताक्षर समेत हुनुपर्ने हुन्छ । तर, आफूलाई केही जानकारी नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
ई. भवेन्द्र थापाको चलाखी
नगरपालिकाको इन्जिनियर हुन, भवेन्द्र थापा । उनकै श्रीमती हुन, सरस्वती बस्नेत । भवेन्द्र इन्जिनियर भएकै कारण श्रीमती बस्नेतले भानु विद्यापतिमा अवसर पाएकी हुन् ।
भीमेश्वर नगरपालिकाले कर्मचारी आवश्यकताको सूचना प्रकाशनपछि अन्तर्वार्ता दिएर सरस्वती कर्मचारी भएकी होइन ।
सिधा भाषामा ई थापाले श्रीमतीलाई जागिरमा लगाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र केही उच्च कर्मचारीको सेटिङमा थापाले श्रीमतीलाई वडा ६ को कम्प्युटर अपरेटरमा जागिर लगाएको स्रोतले बताएको छ ।
यो विषयमा ई भवेन्द्र थापा भन्छन्,‘नगरपालिकाको निर्णयपछि प्रशासनले चिठी पठाएको हो । वडा ६ को कार्यालयमा सरस्वती बस्नेत थापाले हाजिर गरेका हुन् । टिप्पणी मैले उठाएको होइन । उनलाई भानु विद्यापतिबाट वडा ६ मा सारिएको मात्रै हो । खास कुरा चैँ यो, हो । मैले प्रमुख प्रशासकीय अधिकृतलाई कुनै पनि प्रलोभनमा पारेको छैन ।
चौथो तह-३२ हजार तलब
नगरपालिकाका लेखा शाखा प्रमुख जगदीश अर्यालका अनुसार भानु विद्यापति साहित्य प्रतिष्ठानमा हुँदा ६ हजार पारिश्रमिक बुझने गरेका थिए । तर, अहिले उनले ३२ हजार ९ सय पारिश्रमिक लिने गरेका छन् । उनले केही समय अघि १५ हजार रुपैयाँ पारिश्रमिक बुझने गरेको प्रशासनकै एक कर्मचारी बताउँछन् ।
भानु विद्या प्रतिष्ठान संस्कृति ऐन अन्तर्गत २०७४ मा निर्वाचित जनप्रतिनिधिले स्थापना गरिएको हो ।