शैलुङको ठेगलाघ्यू गैरीसम्म बस सञ्चालन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
4.5k Shares
दोलखा

दोलखाको शैलुङ गाउँपालिका-१, ठेगलाघ्यू गैरीमा बस सञ्चालनमा आएको छ । बसलाई पूर्व अरनिको शैलुङश्वोरी यातायातले सञ्चालनमा ल्याएको हो ।

वैशाख ११ गतेबाट ठेगलाघ्यू गैरीसम्म पुगेको यात्रुबाहक बस काठमाडौँको जडिबुटीबाट छुट्छ । उक्त ठाउँसम्म बस पुग्न सिन्धुपाल्चोकको २१ किलो घ्याङडाँडा, डाँसे र दोलखाको दुधपोखरी, कोलमखान हुँदै ठेगलाघ्यू गैरीसम्म पुग्छ ।

बस उद्घाटन गर्न शैलुङ-१, वडाध्यक्ष वीरबहादुर घतानी, समाजसेवी कर्ण घिसिङ, नाङ्साल घिसिङ लगायतको उपस्थिति रहेका थिए ।

वडाध्यक्ष घतानीले बस नियमित सञ्चालन गर्न चालकलाई आग्रह गर्दै कानुनी एवं सामाजिक सहयोगहरू वडाले गर्ने बताए । उनले स्थानीयलाई समेत बस आँगनमै आउने वातावरण आफै सृजना गर्न अनुरोध गरे । अध्यक्षका अनुसार सडकलाई स्तरोन्नति गर्न वडाले आउँदो  बजेटमा समेत प्राथमिकतामा राख्ने बताएका छन् ।

त्यस्तै युवा समाजसेवी कर्ण, नाङ्साल लगायत अन्य उपस्थितिहरूले बसका कर्मचारी र वडाध्यलाई फूलमाला र खादाले स्वागत गरेका थिए ।

चालकले स्थानीयलाई धन्यवाद दिँदै दैनिक बस सञ्चालनका लागि यातायात अफिस र अरु चालकलाई पनि आफूले आग्रह गर्ने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका