मुडे-शैलुङ सडक कालोपत्रे सुरु‚ २६ वर्षपछि पिच‚ अस्फाल्ट प्रविधिको कालोपत्रे

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
16.8k Shares
दोलखा

दोलखास्थित शैलुङ गाउँपालिकाको मुख्य सडक मुडे-बाघखोर-शैलुङ-कालापानी सडक ठेक्का लागेको ४ वर्षपछि कालोपत्रे सुरू भएको  छ ।

बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुपाल्चोकको मुडेदेखि कालापानीसम्मको सडक दुई वर्षभित्र कालोपत्रे गर्ने भनिए पनि विभिन्न कारण देखाइ ढिलो गरेको हो ।

महालक्ष्मी‚ कञ्चनजंगा र शुभकामना जेभिले मुडेदेखि ढुङ्गेसम्मको साढे १६ किलोमिटर सडक कालोपत्रेका लागि २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।

२०५४ सालमा निर्वाचित दोलखाका पूर्व जिल्ला विकास समितिका सभापति लालकुमार केसी‚ उपसभापति शिवराज भण्डारी‚ क्षेत्रीय सदस्य गणेश श्रेष्ठ‚ भुवन थापा लगायतले मुडे मेलुङ सडकको कल्पना गरी ट्रयाक खुलाइएको थियो ।

स्थानीय तह बनिसकेपछि कच्ची सडकलाई कालोपत्रे गर्नका लागि बजेट व्यवस्थापन गरिएको थियो । करिव २६ वर्षपछि यो सडक कालोपत्रे भएको हो ।

झन्डै ८ मिटर फराकिलो हुने सडकमा पाँच मिटर कालोपत्रे हुनेछ । मुडे–मेलुङ सडक खण्डअन्तर्गत मुडेदेखि देउरालीसम्म १० किलोमिटर र देउरालीबाट शैलुङको ढुङ्गेसम्म ६.५ किलोमिटर गरी साढे १६ किलोमिटर बाटो कालोपत्रे हुने शुभकामना निर्माण कम्पनीका सञ्चालक ईश्वर बास्कोटाले बताए ।

यस्तै शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले यो वर्ष ठेकेदार कम्पनी गर्नुपर्ने ९ किलोमिटर हो तर करिब ३-४ किलोमिटर जति पिच गर्न सक्ने बताए । उनले भने‚ ‘ठेकेदार कम्पनीले काम साह्रै ढिलो गर्‍यो‚ साढे २ किलोमिटरको सामान आइसक्यो । मौसम राम्रो भएमा थप सामान ल्याएर बढाउन सकिन्छ । ’

देउरालीदेखि अँगेरी डाँडासम्म कालोपत्रे हुने निर्माण कम्पनीले जनाएको छ ।

शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका प्रदेश कमिटी सदस्य भरतप्रसाद दुलालले सडक पिच अगाडि बढेकोमा खुसी व्यक्त गर्दै यो सडकलाई मेरो कार्यकालमा विभिन्न अवरोधहरूसँग प्रतिकार गरेको सफलता भएको बताए । उनले पहिलो पटक ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनीले सडक पिच गर्न ठेक्का सम्झौता गरेको जानकारी दिए । उनले ५ वर्षको कठोर सङ्घर्षपछि सडक पिच हुँदा सुखद क्षण पाएको बताए ।

बागमती प्रदेश सरकारअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयबाट बहु वर्षीय सडक आयोजनाको रूपमा ठेक्का सम्झौता भएको थियो ।

अस्फाल्ट प्रविधिको कालोपत्रे

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार उक्त सडकमा अस्फाल्ट प्रविधिका कालोपत्रे हुनेछ । उक्त प्रविधि निकै खर्चिलो तर टिकाउ हुने पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोकका सिनियर डिभिजन इन्जिनियर राजु श्रेष्ठले बताए ।

इन्जिनियर श्रेष्ठका अनुसार उच्च हिमाली क्षेत्र भएकाले पनि उक्त प्रविधि जरुरी भएको हो । ‘सडकको डिजाइन त्यसैअनुसार बनाइएको छ’, उनले भने, ‘अस्फाल्ट प्रविधि बलियो, टिकाउ र महँगो मानिन्छ । यो अमेरिकी प्रविधि हो र बढी पानी परिरहने ठाउँमा यो प्रविधि उपयुक्त हुनेछ ।’

तपाईको प्रतिक्रिया