जहाँ छन् छोरीका सपना र ममता

सुशिला तामाङ संवाददाता
756 Shares
काठमाडौं

कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्व कुलपति रागिनी उपाध्याय ग्रेलाकी छोरी शिवाता यति बेला भौतिक संसारबाट टाढा नभएको भए आमासँगै २८ औँ वर्षको जन्मोत्सव मनाइरहेकी हुन्थिन् । ‘मेनेन्जाइटिस–बी’ का कारण २० वर्षकै उमेरमा ८ वर्षअघि उनले संसार छोडेकी थिइन् ।

छोरीको निधनपछि केही समय बिरक्तिएकी रागिनीले पुनः छोरीकै ममता र सपनाहरूलाई कला एवं शिक्षाका माध्यममा बटुलिरहेकी छन् । छोरीको निधनपछि नै रागिनीले छोरीकै जन्मदिनको अवसर पारेर सन् २०१६ मा शिवाता लभ फाउन्डेसनको स्थापना गरिन् । फाउन्डेसनमार्फत नै उनले हाल २८ जना छोरीहरूको ममता र सपनालाई अगाडि बढाइरहेकी छन् ।

भर्खरै शिवाताको २८ औँ जन्मदिन तथा फाउन्डेसनको छैटौँ वार्षिकोत्सवका अवसरमा शनिवारदेखि ‘शिवाता २८’ शीर्षकमा कला प्रदर्शनी सुरु गरिएको छ ।

फाउन्डेसनले प्रत्येक वर्ष युवा पुस्तालाई कला र शिक्षा क्षेत्रमा छात्रवृत्ति प्रदान गरेर सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

विशेष गरेर फाउन्डेसनले आर्थिक अवस्थाका कारण पछाडि परिरहेका छोरीहरूको शिक्षाका निम्ति प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको रागिनीले बताइन् । उनका अनुसार हालसम्ममा फाउन्डेसनले २८ जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ । यस वर्ष पनि छात्रवृत्ति मार्फत कला अध्ययन गरिरहेका विद्यार्थीहरूका कला सिर्जना अग्रज कलाकारसँगै प्रदर्शन गरिएको उनको भनाई छ । ‘यो कला प्रदर्शनीको उद्देश्य युवाहरूलाई प्रोत्साहन गर्न हो’, उनले भनिन्,‘यहाँ भर्खरै सिक्दै गरेका विद्यार्थी र सिनियर आर्टिसका चित्रहरू पनि प्रदर्शनीमा छन् । यसले उनीहरूलाई कला क्षेत्रमा हौसला मिल्छ ।’ फाउन्डेसनले सपना बोकेका सम्पूर्ण युवाहरूलाई छात्रवृत्तिमार्फत अगाडि बढाउने कार्यलाई निरन्तरता दिने रागिनीले सुनाइन् । उनले भनिन्, ‘अर्को वर्षको लागि पनि ५ जना स्कलरसिपको लागि फाउन्डेसनमा आएका छन् । हामी अवस्था हेरेर उनीहरूलाई स्कलरसिप दिन्छौँ ।’ कला क्षेत्रको विकासका लागि अन्य विधामा समेत पुरस्कार स्थापना गर्ने सोच बनाएको उनले बताइन् ।

फाउन्डेसनमा देशका विभिन्न भूभागका युवती तथा बालबालिकाहरू छन् । कला र शिक्षासँगै फाउन्डेसनले सामाजिक कार्यलाई समेत निरन्तरता दिँदै आएको छ । फाउन्डेसन मार्फत आफ्ना सपना पूरा गर्न लागिरहेका तमाम युवतीहरूमा रागिनी छोरीलाई पाउँछिन् । युवतीहरूमार्फत नै उनी आफ्नी छोरी शिवाताको सपनासँगै ममता पाएको महसुस गर्छिन् । यसले उनलाई छोरीबिच सधैँको लागि भौतिक दुरी टाढा भए पनि भावनात्मक रूपमा उनीसँगै रहेको भान हुन्छ । उनकी छोरी शिवाता पनि चित्र कोर्थिन् । उनलाई लाग्छ सिर्जना र सामाजिक कार्यमा शिवाताको लगाव थियो । त्यसैले त फाउन्डेसन रागिनीका लागि छोरीप्रतिको प्रेम पछ्याउने माध्यम बनेको छ । फाउन्डेसनमा आबद्ध रहेर कलाकारितामा निकै राम्रो गरिरहेका युवतीहरू देखेर उनी खुसी हुन्छिन् । उनलाई लाग्छ,‘मैले शिवाता जस्तै थुप्रै छोरीहरूको सपनालाई अगाडि बढाइरहेकी छु । ती छोरीहरूको सपना र मुहारमा नै म मेरी छोरीलाई पाउँछु ।’

नेपालमा कला बुझ्ने र सिर्जनामा निरन्तरता दिने माहौल अझै नबनेको रागिनीको कला सिर्जनाको सा“ढे चार दशकभन्दा लामो अनुभवले बताउँछ ।

युवा पुस्ता ललितकला क्षेत्रमा आकर्षित छन् तर उनीहरूलाई हौसला र प्रोत्साहन गर्ने कार्य नभइरहेको उनको दुखेसो छ । नयाँ पुस्ता मात्र होइन, अग्रजका कलाकृतिहरू संरक्षण गर्ने राष्ट्रियस्तरको कला सङ्ग्रहालय समेत देशमा नहुँदा कला संरक्षण र संवर्द्धनको उत्तिकै कठिनाइ रहेको उनको भनाई छ । शिवाता जस्ता व्यक्तिगत प्रयासमा स्थापना गरिएका संस्था जस्तै राज्यस्तरबाट नै युवापुस्तालाई अग्रसर गराउने माध्यमहरू बन्नुपर्ने उनको धारणा छ ।

अहिले सत्तामा रहेका राजनीतिक व्यक्तिहरूमा कलाचेत अत्यन्तै न्यून रहेको उनले सुनाइन् । राजनीतिक नेताहरूमा बिपी कोइरालाको जस्तो कलाचेत अहिलेका नेताहरूमा नरहेको उनको बुझाई छ । यद्यपि शिवाता फाउन्डेसन मार्फत कला र शिक्षाका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास जारी रहने उनको प्रण छ ।

‘शिवाता २८’ कला प्रदर्शनी शुक्रवारसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका