अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली तथा आरोहण दलले शुक्रवार ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजना अन्तर्गत इन्टरपोलको १००औँ सदस्य राष्ट्र नेपालको तर्फबाट नेपाल प्रहरीको कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउनका लागि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुका साथै आरोहण दललाई शुभकामनासहित बिदाइ गरिएको थियो ।
नेपाल प्रहरीले विभिन्न कालखण्डमा पर्वत, हिमाल आरोहण गरिसकेको छ । साथै नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार सङ्घका पदाधिकारीहरूले समेत विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै सगरमाथा सफाइ अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिका समेत निर्वाह गरिसकेको छ ।
आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरुपमा ऐक्यबद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको छ । पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ विसं २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात् नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।