पछिल्लो पटक विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार यो वर्षको वसन्त ऋतुमा ‘सगरमाथा–चोमोलुङम–एभरेस्ट !’ आरोहणका लागि ६५ देशका ४३ वटा आरोहण दलका ४६६ जना पर्वतारोहीहरूले अनुमति लिएका छन् । विश्वकै अग्लो हिमालमा मानव पाइला राखेको ७० वर्षको इतिहासमा यो वर्ष पर्वतारोहीहरूले लिएको अनुमति सङ्ख्या ४६६ जना पर्वतारोही जुन सङ्ख्या रहेको छ, त्यसमा ९८ जना महिला पर्वतारोही र ३६८ जना पुरुष पर्वतारोही रहेका छन् । अझै केही दिन अनुमति लिने क्रम जारी रहने भएकोले यो वर्ष पाँच सय हाराहारी पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिने अनुमान छ ।
धेरै पछिसम्म ‘सगरमाथा–चोमोलुङमा–चरी लमेनी–एभरेस्ट–पन्ध्रौँ चुली–थर्ड पोल–एक्स भी–नौवन्धन !’ हिमालको आधिकारिक उचाइमा एक रुपता थिएन । नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८४८ मिटर मान्ने गरेको थियो भने चीनले ८ हजार ८ सय ४४.४३ सेन्टिमिटरलाई आधिकारिक मान्ने गरेको थियो । त्यसैले नेपाल तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले ८ हजार ८४८ मिटर भनी आरोहण प्रमाणपत्र पाउँथे भने, चीन तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले चाहिँ ८ हजार ८४४.४३ सेन्टिमिटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।
त्यस्तै विश्वको सबैभन्दा अग्लो पर्वत वा भनौँ हिम शिखर ‘सगरमाथाको आधिकारिक नाम अब सगरमाथा नभएर ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने माग अथवा भनौँ ‘आवाज सुन्ने गरिन्छ !’ । तथापि यो माग अथवा स्वर धेरै नै सानो र मसिनो गरी सुनिने गरेको छ । किनभने नेपालका मूलधारका मिडिया र बुद्धिजीवीहरूले सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने माग सुन्ने बित्तिकै यो त ‘भोटे नाम (तिब्बती !) होइन र ?’ भनी प्रश्न गर्ने गरेका छन् । अर्को भनेको सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने बित्तिकै जातीय नामको गन्ध आउने भन्ने भनाइ पनि कताकति सुन्ने गरिएको छ । जबकि यो हिम शिखरको फेदी (दक्षिणी पाटोका वरिपरि) मा आदि–अनादि कालदेखि रहँदै, बस्दै आएका आदिवासी जनजातिहरूले बोलाउँदै र पुकार्दै आएको असली र पुरानो नाम ‘चोमोलुङमा’ नै हो । तर अझै पनि नेपालका मूलधार अर्थात् राज्य पक्षका भनेर चिनिने मिडियाहरू र राज्य पक्षका इतिहासकार, बुद्धिजीवी, विश्लेषक, प्राडा, लेखक, विश्लेषक आदिले ‘चोमोलुङमा’ नाम सुन्ने/भन्ने बित्तिकै ‘चोमोलुङमा’ त ‘भोटे’ अर्थात् तिब्बती नाम होइन र ? भनी प्रति प्रश्न गर्ने गरेका छन् । इतिहास जेजस्तो भए तापनि आजभोलि ‘चोमोलुङमा’लाई ‘चोमोलुङमा’ भन्दा पनि ‘सगरमाथा र एभरेस्ट’ नामले बढी चिनिन्छ । यो यथार्थ हामीले स्वीकार गर्नै पर्छ । यो प्रसङ्गलाई यही छाडौँ ।
फेरि एक पटक सगरमाथाको उचाइकै कुरो गर्दा यसअघि नेपाल सरकारले सन् १९५५ मा भारतले पत्ता लगाएको आठ हजार आठ सय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले भने, आठ हजार आठ सय ४४.४३ सेन्टिमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली आदि देशहरूले भने, सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको भन्दै आएका थिए । खास सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) देश नेपाल र चीनले तेस्रो पक्षले घरीघरी सगरमाथाको उचाइ बढेको भन्ने भनाइलाई मान्यता दिएको थिएन, वास्ता गरेको थिएन ।
अब विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण र अन्य कुरोबारे भन्दा पनि सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथा आरोहणबाट हुने कमाइबारे केही लेख्ने जमर्को गरिने छ । सगरमाथा आरोहण र यसको कमाइको कुरो गर्दा सन् २०२१ को वसन्त याममा मात्रै नेपाल सरकारले रोयल्टी बापत ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा कमाई गरेको थियो । त्यस्तै हवाई जहाज कम्पनी, हेली कप्टर कम्पनी, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, सरदार, ट्रेकिङ शप, सरदार, कुक, क्लाईम्बिङ गाइड, हाई एल्टिच्युड शेर्पा, आईसफल डाक्टर, किचन ब्वाई, भरिया, जोप्को, याक र नाक (पोथी याक) धनी, होटेल सञ्चालकहरू, किसान लगायतले प्राप्त गरेको तलब–भत्ता र आय आर्जनको छुट्टै पाटो रहने गरेको छ । जबकि सो वर्ष कोरोना महामारी चली रहेको अवस्था थियो । तापनि सन् २०२१ मा विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूबाट नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरूले धेरै राम्रो आमदानी गर्न सफल भएका थिए । स्मरणीय छ, सो वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्न भनी विभिन्न देशका ४२ वटा आरोहण दलका ४०९ जना पर्वतारोही नेपाल आएका थिए । सो वर्ष आएका ४०८ जना पर्वतारोही मध्ये एक जना त तेस्रो लिङ्गी पर्वतारोही समेत रहेका थिए । त्यस्तै ९२ जना महिला पर्वतारोहीका साथै ३१५ जना पुरुष पर्वतारोहीहरू रहेका थिए । त्यस्तै सन् २०२२ को वसन्त ऋतुमा ४४ दलका ३२३ जना पर्वतारोहीहरूले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विभिन्न देशका ४३ वटा आरोहण दलका ४६६ जना पर्वतारोहीले अनुमति लिएको त माथि नै एक प्रसङ्गमा उल्लेख भएको छ भने ती पर्वतारोहीहरूबाट सरकारले लगभग ७४ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सलामी बापत मात्रै आर्जन गरेको छ ।