लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोकले सार्वजनिक पद धारण गरेका सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थी घटिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजु लामाले यो निर्णय गरेको सात दिनभित्र आफ्ना बालबालिकाहरूलाई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भर्न गर्न र गराउन अनुरोध गरेका छन् ।
‘जनप्रतिनिधि, शिक्षक कर्मचारीहरूले आफ्ना सन्तानहरूलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि सो निर्णय गर्न बाध्य भएको हो’‚ अध्यक्ष लामाले भने।
‘मैले पनि मेरो छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा नै भर्ना गराएको छु’, अध्यक्ष लामाले भने, ‘अब सार्वजनिक पद धारण गरेका सबैले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै भर्ना गराउनुपर्छ ।’ गाउँपालिकाले गरेको यो निर्णय कडाइका साथ लागु गर्ने अध्यक्ष लामाले बताए ।
सार्वजनिक पद धारण गरेका सबैको सन्तान सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गरेर त्यसको जानकारी गाउँपालिकालाई गर्न समेत सबै सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले परिपत्र गरेको छ ।