घेदुङको पोखरा बैठकको निर्णय सार्वजनिक‚ ग्रेन गे दिम खरिद र तामाङ मातृभाषा शिक्षालाई प्राथमिकता [भिडियो]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
567 Shares
काठमाडौं

नेपाल तामाङ घेदुङको पोखरामा सम्पन्न चौथो बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् । बुधवार घेदुङको सभा हलमा पत्रकार सम्मेलन गरी पोखरामा वैशाख १६ र १७ गते सम्पन्न बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

घेदुङले नाम्सा-नाम्सारी घेदुङ अभियान (गाउँ गाउँमा घेदुङ अभियान), ग्रेन गे दिम खरिद (निर्माण) अभियान र तामाङ मातृभाषा शिक्षा कार्यक्रम र सरकारी निकायमा लबिङ, समुदायमा क्याम्पेनिङलाई प्राथामिकताकासाथ गरिने कार्य योजना सार्वजनिक गरेको छ ।

नाम्सा-नाम्सारी घेदुङ अभियान सञ्चालनका लागि सङ्घीय अध्यक्ष मोहन गोलेको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।

सम्मेलनमा घेदुङका महासचिव काजीमान थिङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ‚ ‘तामाङ भूमि र तामाङ समुदायसँग घेदुडको सम्बन्ध विस्तार अभियानको रूपमा ‘तामाङ ह्युल थेन ह्युलबादा थुईबा ल्हाम, नाम्सा-नाम्सारी घेदुङ’ भन्ने मूल नारा सहित घेदुङको सङ्गठन निर्माण अभियान सञ्चालन गरिनेछ ।’

‘अभियान पहिलो चरणमा ताम्सालिङ क्षेत्रको जिल्लाहरूमा केन्द्रित गरिनेछ । अभियानले स्थानीय तहसम्म घेदुङको सङ्गठन निर्माण, प्रशिक्षण गर्नुका साथै तामाङ जनता र तामाङ भूमि ताम्सालिङसँग घेदुङको सम्बन्ध विस्तार हुनेछ ।

त्यस्तै ग्रेन गे दिम खरिद (निर्माण) अभियानमा घेदुङले काठमाडौँ बौद्धस्थित लाहुरे टोलमा घेदुङको सांस्कृतिक भवन खरिदको प्रक्रिया अगाडी बढिसकेको बताउँदै भवन खरिदका लागि विभिन्न सङ्घ/संस्था, दातृ निकाय, व्यक्ति तथा सरकारी निकायहरूबाट भवन खरिदका लागि सहयोग रकम सङ्कलन भइरहेको अध्यक्ष गोलेले जानकारी दिए ।

‘आर्थिक सङ्कलन अभियानलाई अझ तीव्र गतिमा अगाडी बढाउँदै आगामी २०८० चैत्र १ गतेसम्ममा भवन खरिद गरिसक्ने लक्ष्य लिएको छ’‚ उनले भने ।

अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सङ्घीय सह अध्यक्ष कुमार सिंह घिसिङको संयोजकत्वमा गठित समितिलाई विशेष जिम्मेवारी प्रदान गरेको छ ।

यसै गरी तामाङ मातृभाषा शिक्षा कार्यक्रम अहिले घेदुङको समन्वय र पहलमा विभिन्न स्थानीय तहहरूमा तामाङ मातृभाषामा पठनपाठन प्रारम्भ भएको छ ।

सरकारी तहमा लबिङ गर्ने तामाङ समुदायमा तामाङ मातृभाषा बोल्न, पढ्न र लेख्न क्याम्पेनिङ सञ्चालन गरिने अध्यक्ष गोलेले बताए ।

अभियानको ठोस कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउन महासचिव काजीमान थिङ तामाङलाई जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया