बाबाको ममता र काखमा हुर्किएकी प्यारी ‘जून’ । लाखौँ ताराहरूबिच बाबाका लागि अनमोल जून यति बेला दन्त्य कथाबाट यात्रा गर्दै रङ्गमञ्चसम्म आइपुगेकी छन् ।
थापागाउँस्थित मण्डला थिएटरले शुक्रवारदेखि मञ्चन सुरु गरिएको नृत्यनाटक ‘जून’मा मुख्य पात्र छिन्, जून । विशेषतः सुनिँदै आएका दन्त्य कथालाई समकालीन समय र समाज अनुरूप नाटकमा प्रस्तुत गरिएका छन् । एस्थेटिक डान्स सेन्टरको प्रस्तुतिमा मञ्चन गरिएको नाटकलाई संयोग गुरागाईँले लेखेका हुन् भने परिकल्पना, निर्देशन तथा कोरियोग्राफी डान्स सेन्टरका प्रमुख नम्रता केसीले गरेकी छन् ।
नृत्यमा आधारित रहेको नाटकमा आम दर्शकले दन्त्य कथासँगै नृत्यमै जून र उनको कथालाई मञ्चमा दृश्यावलोकन गर्न पाउँछन् । कथक नृत्यमा गरिएको झन्डै एक घण्टाको अवधिमा जूनको कथा सुन्दै गर्दा शास्त्रीय सङ्गीतको धुनमा दर्शक मन्त्रमुग्ध हुन्छन् । कथक नृत्य त्यसै पनि सहजै गर्न सकिने प्रस्तुति होइन । यो आफैमा नृत्यसँगै अनेक भावसहित कथा प्रस्तुति हो । अनेक भावभङ्गीमा शास्त्रीय सङ्गीतको लयमा शरीरको लचकता तथा मुहारमार्फत कथालाई झन्डै एक घण्टासम्म प्रस्तुत गर्नु पक्कै सहज छैन । अझै त्यसैमा दन्त्य कथालाई आधार बनाएर नाटकले यो समयको उत्पीडन आवाजलाई उठान गर्ने जमर्को गरेको छ । यसलाई समकालीन समयको विशेष सम्बोधन मान्न सकिन्छ ।
नाटकमा जून पात्र र उनको जीवनसंघर्षलाई नै मुख्य रूपमा देखाइएको छ । बाबाको मायामा हुर्किएकी प्यारी जून कसरी विद्रोही बनेर साहसिक कार्य गर्न सफल हुन्छिन् भन्ने नाटकको निचोड हो । बाबा नोकरीका लागि दरबार प्रस्थान गरेपछि नै जूनको जीवनले अर्को सङ्घर्षको मोड लिन्छ । सौतेनी आमाको प्रवेश, उनीप्रति सौतेनी मामाको व्यवहार, सुनको जुत्ता लगाउने उनका सौतेनी बहिनीहरूको होडबाजी, दरबारमा बन्दी बनेका उनका बाबा र जूनको दरावरसम्मको यात्राका वृत्तान्त नाटकमा समेटिएका छन् । दन्त्य कथा वाचन शैली र कथक नृत्य भावभङ्गीमा नाटक हेर्दै गर्दा दर्शक घरी कथाका पात्रहरू र घरी आफैले देखे भोगेको समयसँग रुमलिन पुग्छन् । जून र बाबाबिच अन्त्यमा मिलन कसरी सम्भव हुन्छ, दुबैबिच मिलन हुन्छ कि हुन्न भन्ने दर्शकको उत्सुकतालाई नाटकले निकै सुन्दर रूपमा पूरा गरेको छ ।
दन्त्य कथाहरूको सम्मिश्रण भनिए पनि समग्रमा नाटकको ध्येय नै महिला साहस र विद्रोहको आवाज हो । सुरुमा बाबाको साथबिना केही गर्न नसक्ने एक्ली र कमजोरी जूनले सौतेनी आमा र मामाको जन्जिरलाई तोडेर दरबारसम्म गरेको यात्रा नै उनको साहस हो ।
महिलाको आँट र साहस नै उनका लागि अगाडि बढ्ने आधार हुन् । बुद्धि र विवेकशील भएर अगाडि बढेमा समाजको कुदृष्टि, अन्याय, अत्याचार र जन्जिरलाई तोडेर महिलाले जस्तै परिस्थितिलाई पनि सामना गर्न सक्छिन् भन्ने मूल निचोडमा नाटकले बिट मारेको छ । साथै महिलालाई सुन्दर, कोमल र कमजोर रूपमा परिभाषित गर्ने, महिला भनेको गरगहनाले सुसज्जित हुने र हुन लालायित हुने वस्तुका रूपमा लिने समाजको परम्परागत सोचलाई नाटकले ब्रेक गरेको छ । यद्यपि दन्त्य कथालाई नै मूल आधार बनाइएकाले जूनको साहसिक कथालाई प्रस्तुत गर्दै गर्दा नाटकले सौतेनी आमाको क्रूर र निठुरी चरित्रलाई पनि समावेश गरेको छ । सौतेनी आमा भन्ने बित्तिकै कठोर र दयाहीन हुन्छन् भनी समाजको स्टेरियोटाइप मान्यतालाई नाटकले पनि स्वीकार गरेको पाइन्छ ।
पृष्ठभूमिमा दन्त्य कथालाई प्रस्तुत गरिरहेको आवाज, त्यसैमा बजिरहेको धुन र कथक नृत्यसहित कलाकारहरूका अनेक शारीरिक भावभङ्गीहरूले दर्शकको मन लोभ्याउँछ । जून (म्रिनल श्रेष्ठ) मायालु होस् या विद्रोही दुवै रूपमा सुन्दर लाग्छ । चरा (अनु गौतम) र मुसा(गणेश श्रेष्ठ) पात्रहरू नाटकमा जनावरको भूमिका रहेर मानवमाथि राखेको पे्रमिल सहकार्य र साथ उत्तिकै प्रिय छन् । कलाकारहरू प्रणेश श्रेष्ठ, मनिषा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, कुन्ती सिमली, रिवाज थापा, दिलाशा गुरुङ, सर्मिस्था दास, सुजाता दास, सृष्टि दास र दृष्टि दाहालले कथा सँगसँगै धुन र संवादमा नृत्यका साथमा निकै सुन्दर रूपमा प्रस्तुति दिएका छन् ।
नेपालमा नृत्यनाटक प्रस्तुति निकै न्यून मात्रामा हुन्छन् । यद्यपि एस्थेटिक परिवारले यसै विधालाई निरन्तर रूपमा अगाडि बढाइरहेको छ । अझ नाटक ‘जून’मा विविध प्रप्सहरु र सङ्गीतको विविधतालाई प्रयोग गरेर नयाँपन दिने जमर्को गरिएको देखिन्छ । कलाकारहरुलाई प्रस्तुतिमा केही कठिनाइ भएको देखिए पनि नाटकमै प्रयुक्त डोरी, पिङ, डालो, झाडु जस्ता प्रप्सहरुले कथाको मूल उठान, द्वन्द्व र अन्त्यसम्मका पक्षलाई केन्द्रित गरेका छन् । नृत्य नाटकमा नृत्य, कथा वाचन, भाव र प्रप्सहरुसँगै प्रस्तुतिलाई कसरी पृथक् बनाउने भन्ने पक्षलाई समेत नाटक ‘जून’ले थुप्रै बाटाहरू फराकिलो बनाएको छ ।
सोमनाथ खनालको निर्माणमा तयार गरिएको नाटकमा सेट डिजाइन राजन खतिवडा र हुम बिसीले गरेका छन् । प्रकाशमा इंगिहोपो कुइँच सुनुवार, कस्ट्युम डिजाइन सन्जिता पराजुली र अदृश्य चौधरीले गरेका हुन् । नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ ।