‘प्रसाद २’ : दलनको अर्को रूप

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
168 Shares
काठमाडौं

यति बेला प्रसादकै सिक्वेलका रूपमा बनेको सुशील पौडेलको लेखन तथा सुदर्शन थापाको निर्देशन रहेको ‘प्रसाद २’ फिल्म प्रदर्शनरत छ । पौडेलकै लेखन र दिनेश राउतको निर्देशनमा निर्मित प्रसादमा जातीय दलनका बाबजुद पनि अन्तरजातीय विवाह गरेका बाबुराम(विपिन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) को वैवाहिक जीवनका आरोहअवरोहलाई समेटिएको थियो । नारायणीको बलात्कारपछि जन्मिएको बच्चालाई बाबुरामले त्यसलाई प्रसादको रूपमा स्वीकार गर्छ । त्यसपछि बिट मारेको फिल्मले त्यसपछिको क्रमलाई ‘प्रसाद २’ मा जोडेको छ । मात्र नारायणीको भूमिकामा अहिले केकी अधिकारी छिन् ।

जातीय रूपमा विभेदको रूपलाई अझै उग्र रूपमा प्रस्तुत गर्‍यो भन्ने आरोप खेपेको प्रसादले दोस्रो शृङ्खलामा आइपुग्दा त्यही दलनलाई नै नयाँ रूपमा प्रस्तुत गरेको छ । फिल्मले दलन विरुद्ध लड्ने विद्रोही पाटोलाई अन्त्यमा त समेट्छ तर त्यसलाई स्वीकार्य बनाउन सुरुवात देखि नै कसरत गरेको पाइँदैन । दलितको अवस्था र तिनले भोग्ने पीडालाई प्रसाद–२ मा पनि निरन्तरता दिएको छ ।

१२ वर्षपछि गाउँ फर्किएका बाबुराम र नारायणीका साथमा छन्, ९ वर्षीय प्रसाद । मुलुक नयाँ संविधान र कानुनमा छुवाछुत मुक्त घोषणा भइसकेको छ । सुन्दर बस्तीमा पनि यही घोषणा लेखिएको बोर्ड छ । बाबुराम र नारायणीको गाउँ पुनरागमनको दृश्यसँगै देखिएको बोर्ड केवल बोर्डमै सीमित हुन्छ ।

गाउँ र मान्छेका जीवनशैली फेरिएका छन्, तर यथास्थितिमै छन् मानिसका सोच र दलित बस्ती । यसैमा फेरि बाबुराम र नारायणीले अर्को विभेदलाई भोग्ने नालीबेली नै प्रसाद–२ को कथाक्रम हो । कानुनमा लेखिए पनि व्यवहारिक रूपमा छुवाछुत प्रथा अझै कायम छ भन्ने तथ्यलाई सुन्दर बस्तीमा भइरहेको जातीय विभेदले प्रस्ट पार्छ । गाउँ फर्केपछि नारायणीले धारामा खेपेको विभेदले समकालीन समयको सोचलाई प्रतिनिधित्व गर्छ । धारामा एक गैर दलित महिला बोल्छिन्,‘बरु सहरमै बसेको भए हुन्थ्यो नि । त्यता त जात ढाँटेर पनि बस्न पाइन्छ रे ।’ फिल्ममा देखाइएको बुधे पात्र जो अझै सार्वजनिक होटेलमा गैर दलितसँग बसेर पिउन पाउँदैन । गाउँमा अझै मुखियाको हैकम चल्छ । उनी विरुद्ध दलित बस्तीले बोल्ने आँट गरेको छैन । फिल्ममा जनयुद्ध पछि २०७२ को राजनीतिक परिवर्तनलाई सङ्केत गरेको छ, तर सिङ्गो गाउँ नै मुखियाको हैकमवादमा चलेको इङ्गित गर्छ । ८० को दशकमा आएको फिल्ममा ५० को दशकका दृश्यहरू समेट्नु नै आधुनिक चेतले गर्ने विभेदको झल्को हो । अर्कोतिर नेपाली सिनेमामा भट्टीकी साहुनीलाई गरिने चरित्र चित्रण यसमा पनि देखिन्छ । महिलाको स्तन र शरीरलाई चित्रण मात्र होइन, सोही अनुरूपको भाषाको प्रयोगलाई समेत जोड दिएको छ ।

फिल्ममा नारायणी र गैर दलित महिलाले बोक्ने गाग्रीमा वर्गीय विभेद देखिन्छ । मुखियाको छोरा र बाबुरामको पहिरनमा उत्तिकै उच र नीचको भिन्नता झल्कन्छ । गैर दलित भन्ने बित्तिकै सुकिला, मुकिला र आर्थिक रूपमा समेत सम्पन्न जाति हो । त्यसको ठिक विपरीत दलितहरू शारीरिक रूपमा फोहोरी, राम्रो खान र लगाउन नजान्ने वर्गका हुन्छन् भन्ने पुरानै भाष्यलाई फिल्मले निरन्तरता दिएको छ ।

समकालीन समयसम्म आइपुग्दा अवस्था मात्र होइन आर्थिक, शैक्षिक तथा सामाजिक रूपमै दलितको स्तर माथि उठेको छ । यदि कहीँ कतैबाट विभेद भएको खण्डमा कानुनी दायरामा उभ्याउने अभ्यास भइरहेको बेहोरालाई फिल्मले नकार्दै दलितको मौनतालाई क्रमबद्ध रूपमा अगाडि बढाएको पाइन्छ । होइन भने बलात्कारी रमेश(अर्पण थापा) गाउँ फिर्ती हुँदा समेत उनी विरुद्ध प्रहरीकहाँ उजुरी गर्ने साहस बाबुराम र नारायणीले किन गर्दैनन् ? इज्जत, इमान र प्रतिष्ठा भन्ने जिनिसका लागि सधैँ महिला तथा सीमान्तकृत वर्ग मौन रहनुपर्छ भन्ने पक्षलाई फिल्ममा मलजल गरिएको छ । अर्की बालिकालाई दुर्व्यवहार गर्दा प्रहरीकहाँ लैजान आँट गर्ने नारायणी आºनै न्यायका लागि झुकेकी छन् । अर्कोतिर पुरानै वैवाहिक कानुनको सहायतामा खलनायकलाई शक्तिशाली बनाएको दृश्य समकालीन समाजलाई अपाच्य लाग्न सक्छ । बाबुराम र आम समाजकै अगाडि नारायणीलाई रमेशले घिसार्दै लैजा“दा देखिएको मौनतामा दलनको सोच त्यतिकै हाबी छ । अर्काकी श्रीमतीलाई गैर पुरुषले कुनै आरोप प्रत्यारोप गरेको आधारमै सार्वजनिक रूपमा हातै हालेर आफ्नै हो भनेर दाबी गर्ने अवस्था अहिले निश्चय पनि छैन । यसमा कानुनी रूपमा उजुरी, छानबिन र न्यायिक प्रक्रियाहरू अगाडि बढ्छन् भन्ने चेतलाई फिल्ममा नजरअन्दाज गरिएको छैन ।

कुनै पनि वर्गका लागि सत्ता नै सबैभन्दा शक्तिशाली हतियार हो भन्ने पक्षलाई फिल्मले चुनावी मैदान मार्फत प्रस्तुत गर्छ । आफ्नै जेठान विरुद्ध बाबुरामले वडा अध्यक्षमा लड्ने निर्णय गरेर यसमा दलित समुदायलाई सत्ता र शक्तिको बोध गराएको छ । राजनीतिका लागि मान्छे कुन तह र कुन नियतसम्म गिरेर सत्ता प्राप्तिका लागि लिन हुन्छन् भन्ने तथ्यलाई भने यथार्थ धरातलमा देख्न सकिन्छ । चुनावी प्रचारकै लागि हिँडेको दुई दलहरूको दृश्यलाई नियाल्दै गर्दा सानु मुखियाको दल माथितिर र बाबुरामको समूह तलतिरबाट आइरहेको देखाइएको छ । उक्त दृश्यमा समेतमा विभेदको रूपलाई दर्साइएको छ ।

बालबालिकालाई राजनीतिक पार्टीको सभा सम्मेलनमा सहभागी गरिरहेको दृश्य त हामीले देखि नै रहेका छौँ । यसको विरोध आम मानिसले गरिरहेका छन् । फिल्ममा पनि प्रसाद चुनावी प्रचारका लागि दौडिएका छन् । यति मात्र होइन उनको बाबु को हो, उनकी आमा बलात्कृत भएर उनी जन्मिएका हुन् भन्ने कुरा समेत उनलाई ज्ञात गराइन्छ । गाउँमा भएका भेलामा समेत उनी सामेल हुन्छन् । आमा र आºनो अवस्था सम्झेर ९ वर्षका प्रसाद भक्कानिएर रुन्छन् । यी दृश्यहरू हेर्दै गर्दा आम दर्शकको मनमा खिन्नता पैदा हुन्छ । कलिलो दिमागले बलात्कार, बलात्कारी, अपराध भन्ने पक्षलाई कुन रूपमा मूल्याङ्कन गरेर भावविभोर भयो भन्ने प्रश्न फिल्म हेर्दै गर्दा उब्जिन्छ । अन्त्यमा कृष्णको अवतारमा खलनायकको अन्त्य प्रसादले गर्दा आफ्ना बालबालिकालाई हुर्काउँदै गरेका आमाबुवाको मनमा झट्का लाग्न सक्छ । बाल मनोविज्ञानलाई बेवास्ता गर्दै कानुन नलाग्ने भन्दैमा तिनीहरूलाई अपराध गर्ने बाटोतिर देखाउनु कसरी न्यायोचित पक्ष हुन सक्ला । बलात्कार जस्तो संवेदनशील पाटो त्यसैमा बालबालिका र उनीहरूको मनोवैज्ञानिक पक्षलाई कोही कसैले नकार्न पक्कै छुट छैन ।

बालक नै सही एउटी महिलालाई जोगाउन पुरुष नै चाहिन्छ भन्ने मानसिकताले फिल्मलाई पितृसत्तात्मक सोचतिर डोराएको छ । हातमा चक्कु बोकेर आफ्नो प्रतिरक्षाका लागि तम्तयार रहेकी नारायणीको साहसलाई अन्त्यमा फिल्मले त्यसै तुहाइदिन्छ । आम दर्शक यसैमा ताली पिट्न तयार हुनै पर्छ, किन की आम सिनेमा झैँ यसमा पनि नायकको जीत र खलनायकको हार जो देखाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका