सिर्जनामा तीन पुस्ताको सङ्गम

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
406 Shares
ललितपुर

कला सिर्जनात्मक अभिव्यक्तिका लागि शक्तिशाली विधा हो । जुन कुनै रेखा, रङ र क्यान भासको परिधिभन्दा कैयौँ गुण फराकिलो र असीमित छन् । कुनै मुलुक, व्यक्ति, समाज, संस्कृति र पहिचानका कुरा अभिव्यक्त गर्न कला नै महत्त्वपूर्ण आधार हो । कतै धर्म, कतै प्रकृति, कतै मानवीय आशा, कतै भावनाका मूर्त तथा अमूर्त गहिराइका बिम्बहरूसहित यति बेला सिर्जनामा तीन पुस्ताको एउटै सङ्गम बनेको छ ।

झम्सिखेलस्थित ज्ञानमण्डल मोक्ष वीण्ड हर्स ग्यालरीमा शुक्रवारदेखि ‘थ्री जेन : अण्डर द फुल मुन’ शीर्षकमा जारी संयुक्त कला प्रदर्शनीमा सिर्जनाका तीनै पुस्ताले कलामा आ-आफ्ना भावहरू कलामार्फत अभिव्यक्त गरेका छन् । प्रदर्शनीमा अग्रज कलाकार शशी विक्रम शाहको घोडाहरूको तीव्र वेग, गोबिन्दलाल डङ्गोलको क्यानभासमा अर्ध अमूर्तमा रूपमा अन्तर घुलित रङका बिम्बहरू, किरण मानन्धरको सिर्जनामा देखिएको अर्को अमूर्त शैलीका भावहरू चित्रित कलाकृतिहरू छन् । आइबी मल्लको महिला फिगर सहितको चित्र पनि उत्तिकै सुन्दर छन् । त्यसपछिका पुस्ताहरू कृष्ण मानन्धर, राधेश्याम मुल्मी, रागिनी उपाध्याय, उमाशंकर शाह, सुषमा राजभण्डारी, विजय थापा, श्यामलाल श्रेष्ठ, उमेश श्रेष्ठ सम्मका सिर्जनाहरू आफ्नै भावहरू इङ्गित छन् । तेस्रो पुस्तामा भने अनिता भट्टराई, कौशल श्रेष्ठ, सूर्य दुदराज, सुस्मिता कुँवरका कलाकृतिहरू ग्यालरीका सजिएका छन् ।

तीनै पुस्ताको समय र भोगाई फरक रहेता पनि तिनको सिर्जनाका विषयहरूमा भने समानता देखिन्छ । तीनै पुस्तालाई एकै ठाउँमा ल्याउने र अनुभव साटासाट गर्ने मुख्य ध्येयले प्रदर्शनी गरिएको प्रदर्शनीका लागि अवधारणा र शीर्षक समेत राखेका कलाकार उमेश श्रेष्ठको भनाई छ । कलालाई पुस्ताको हिसाबले बुझ्ने, पुस्तान्तरण गर्ने र अवधारणाहरू बनाउन यस्ता खाले प्रदर्शनी आवश्यक पर्ने श्रेष्ठले बताए ।

एक आपसमा माया, सद्भाव, शान्ति र सदाचारको भावना विकास गर्न नै २५६७ औँ बुद्ध जयन्तीकै अवसरमा कला प्रदर्शनी गरिएको हो । मानन्धरका अनुसार कलाकार भनेकै शैली र विचारका लागि दार्शनिक हुन् । समय र उमेर अनुसार आउने विभिन्न विचार र धारणाहरू नै कलामा रङका माध्यममा पोखिन्छन् । ‘हाम्रो पालामा गुरुहरूको कला छोपेर राखिन्थ्यो । हामीले यसरी कहाँ हेर्न पाउँथ्यौँ र’, उनी भन्छन्,‘अब त्यस्तो बेला अहिले छैन । सबैको कला एक–अर्काले हेरेर बुझ्ने र सिक्ने अवसर हुनुपर्छ ।’ प्रदर्शनीका संयोजक समेत रहेका उनलाई संयुक्त रूपमा आएको यस्ता खाले कार्यक्रमले अग्रज र नयाँ पुस्ताबिच एक–अर्कामा एकता एवं आत्मीयताको भाव पैदा हुन्छ भन्ने लाग्छ । प्रदर्शनी सिर्जना फाँटमा नयाँ आउँदै गरेका कलाकारहरूका लागि समेत सिक्ने अवसर बन्ने कुरामा उनी विश्वस्त छन् ।

कला प्रदर्शनीले कलाकारका कला प्रदर्शन मात्र नभएर कलाकारहरूबिच हामी एकै हौँ भने एक–आपसमा सम्मानको भाव समेत आउने कुरा शीर्षक अवधारणा बनाउने श्रेष्ठले सुनाए । प्रदर्शनीमा तेल, एक्रेलिकदेखि सीमा शाह, उमाशंकर शाह र कलाकार भट्टराईका प्रिन्ट माध्यममा बनाएका दर्जनभन्दा बढी कलाकृतिहरू राखिएका छन् । प्रदर्शनीलाई परम्परागत ढर्रामा गइरहेको कला प्रदर्शनी, कलाकार र कला लेखकहरूको जमघटभन्दा पनि दुवै पक्षको विकास तथा साझेदारी बढाउने हिसाबले गरिएको कलाकार भट्टराईको भनाई छ । कलासँगै लेखन पनि अगाडि बढ्नु जरुरी छ । कुनै पनि कला पत्रकार र कला लेखकले कला र कलाकारको बारेमा सधैं किन लेख्ने र केका लागि लेख्ने भन्ने कुरा अबको बहस हुनुपर्ने उनको धारणा छ । यसका लागि सबै एक–अर्कामा सहकार्य गरेर अगाडि बढेमा मात्र दुवैको स्तर माथि उठ्ने उनले सुनाइन् ।

प्रदर्शनी जेठ १२ गतेसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका