गुम्बा विकासको एक महिने मूर्ति निर्माण तालिम सम्पन्न

सैलुङअनलाइन संवाददाता
168 Shares
काठमाडाैँ

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, ललितपुरद्वारा आयोजित एक महिने मूर्ति निर्माण तालिम कार्यक्रम बिहिबार सम्पन्न भएको छ । काठमाडौँको बागबजारमा सञ्चालित तालिममा देशका विभिन्न जिल्लाहरुबाट ११ जना प्रशिक्षर्थीहरुले सहभागिता जनाएका थिए ।

तालिम कार्यक्रमका संयोजक लक्ष्मी रुम्बाका अनुसार गाउँगाउँमा भूकम्पले भत्किएका गुम्बाहरुको मूर्ति मर्मत्-सम्हारका लागि स्थानीयस्तरमै जनशक्ति उत्पादन गर्ने उदेश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो । ‘तालिम कार्यक्रमले स्थानियस्तरमै पुराना मूर्तिहरुको मर्मत सम्भार तथा नयाँ समेत निर्माण गर्न सक्ने जनशक्ति तयार गरेको छ’ संयोजक रुम्बाले बताइन् ।

बागबजारकै एक होटलमा बसेर एक महिनासम्म प्रशिक्षण दिएको प्रशिक्षक भिम श्रेष्ठले बताए । समापन कार्यक्रममा उनले कुन तवरमा मूर्ति निमार्ण गर्ने भन्ने कुराहरु सिकाउन पाएको बताए । करिब तीन दशकदेखि मूर्तिकला र चित्रकलामा रमाएका उनले यस प्रशिक्षणमा सहभागि प्रशिक्षर्थीहरु नयाँ भए पनि राम्ररी सिकेको बताए ।

सहभागीहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका-११ रामेछापबाट ग्याल्चन लामा, रामेछाप गाउँपालिका-८ बाट रामकृष्ण तामाङ, ताप्लेजुङ जिल्ला मिरिङदेन गाउँपालिका वडा नं. २ र ५ बाट क्रमशः दावा ओङजु शेर्पा र दानोर्बु शेर्पा, ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका-४ थलङबाट निमातेन्जी शेर्पा, साँघुबाट निमादार्ची शेर्पा र ङिमाछिरिङ शेर्पा र सोही गाउँपालिका-५ फाकुम्बाबाट निमाछिरिङ हिसी शेर्पा थिए । त्यसैगरी ताप्लेजुङकै फुङलिङ नगरपालिका-९ हाङदेवाबाट पेम्बा टासी शेर्पा र संखुवासभाको चैनपुर नगरपालिका-३ पोखरीबाट फुर्बा शेर्पा, सर्लाही जिल्ला लालबन्दी नगरपालिका-१४ बाट ज्ञानबहादुर ब्लोन तामाङ सहभागि थिए ।

सहभागि मन्थलीका ग्याल्चन लामाले भने, ‘एक महिने तालिम थोरै भए पनि मर्मतसम्भारमा भने टेवा पुग्ने नै छ । अब गाउँका गुम्बामा रहेका जीर्ण मूर्तिहरु हामी आफैँ मर्मत् गर्न सक्छौँ भन्ने लागेको छ ।’

‘मूर्ति बनाउने तालिम सहभागि हुन पाएकोमा खुशी छु । पहिले माटो र फर्माबाट मूर्ति बनाउन सिकेको थिएँ अहिले फाइबरबाट पनि बनाउन सिकेँ ।,’ तालिमको अनुभव सुनाउँदै अर्का सहभागि ताप्लेजुङका निमादार्ची शेर्पाले भने, ‘अब केही गर्न सकिन्छ जस्तो लागेको छ ।’

गुम्बा विकासको मूर्ति निर्माण तालिम २०७९ चैत्र २९ गतेदेखि सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया