तामाङ भाषाको स्तरीकरण : प्रारम्भिक अवधारणा

अमृत योन्जन–तामाङ सदस्य, भाषा आयोग
1.9k Shares
काठमाडाैँ

१. भाषाको स्तरीकरण भनेको के हो ?

भाषाको स्तरीकरण (standardization of a language) भनेको बोलचालीमा रहेको मातृभाषाको कुनै स्थानीय भेदलाई सरकारी कामकाजको लागि प्रयोग-योग्य भाषा बनाउनु हो। अर्थात् ‘भाषाको स्तरीकरण’ले बोलचालीमा रहेको कुनै मातृभाषाको स्तरमा वृद्धि गरेर सरकारी कामकाजको भाषाको लागि तयार गरिन्छ। स्तरीकरणको प्रक्रियामा बोलचालमा रहेको कुनै भाषिक भेद(हरू)को स्तर-वृद्धि गरिन्छ। यस्तो स्तरवृद्धि भाषामा स्वतःस्फुर्त अर्थात् प्राकृतिक प्रक्रियाबाट पनि हुनसक्छ र भाषिक समुदायको पहलमा पनि हुनसक्छ। स्तरीकरणलाई मानकीकरण पनि भनिन्छ। भाषाको ‘स्तरीय भेद’ वा ‘मानक भेद’ (standard variety) भनेको भाषाको स्तरीकरण वा मानकीकरण गरिएको भेद हो।

‘संस्कृत’ भाषा पनि कुनै एउटा स्थानीय प्राकृत भाषालाई विज्ञद्वारा स्तरीकरण गरिएको थियो। संस्कृत शब्दको अर्थ संस्कारित हुन्छ। संस्कारित शब्दले परिष्कृत भन्ने अर्थ जनाउँछ। नेपाली (गोर्खा भाषा प्रकाशन समितिबाट पछि नेपाली भाषा प्रकाशन समिति बनाइएको), फ्रान्स (Academie Francaise), स्पेनिस (Royal Spanish Academy), अङ्ग्रेजी, हिन्दी, उर्दू लगायतका आजका अधिकांश विकसित वा सरकारी कामकाजका भाषाहरू आ–आफ्ना कुनै स्थानीय भेदलाई सरकारी संस्थाद्वारा नै परिष्कृत भाषाहरू हुन्।

आवश्यक महसुस भएमा तामाङ भाषाको कुनै क्षेत्रीय भाषिक भेद वा भेदहरूलाई नियममा बाँधेर अर्थात् कोडीकरण (codification) गरेर सरकारी कामकाजमा प्रयोग योग्य ‘तामाङ मानक भेद’ बनाउन सकिन्छ। र यस्तो मानक भेद कालान्तरमा लेखन-प्रकाशन, बजार-व्यवसाय र सम्पर्क भाषाको रूपमा विकास हुन्छ।

२. भाषाको स्तरीकरण गर्न किन आवश्यक छ ?

बोलचालमा रहेका मातृभाषा आ-आफ्ना परिवेश र दैनिकीहरूमा नै अभ्यस्त र व्यस्त हुन्छन्। यस्ता कुनै मातृभाषालाई सरकारी कामकाजको भाषाको लागि योग्य बनाउन मातृभाषाको स्तरीकरण गर्नु अति आवश्यक हुन्छ। कुनै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु भनेको सामान्य भेषभुषामा रहेको एउटा केटोलाई विवाहको लागि बेहुला बनाउन सिङ्गार पटार गर्नु जस्तै हो। कन्यार्थ तयार गरिने कुनै केटो एक दिन सिंगारपटार गरेर मात्र पुग्दैन, उसँग वैवाहिक जीवनलाई धान्न सक्ने क्षमता पनि हुनुपर्दछ भने जस्तै मातृभाषालाई पनि सरकारी कामकाजको जिम्मेवारी बोक्न सक्ने क्षमताको विकास गरिनु पर्दछ।

मूलतः (क) वृहत्तर सामाजिक सञ्चार अर्थात् सम्पर्क (ख) जनस्तरसम्म सहजढङ्गले सरकारी कामकाज सम्पन्न गर्न र (ग) बजार-व्यवसाय गर्नको लागि भाषाको स्तरीकरण गरिन्छ। भाषाको स्तरीकरण गर्दा एउटा भेदको मात्र होइन धेरै भेदहरूको कोडीकरण गरिने हुनाले यस प्रक्रियाले एकातिर विभिन्न भाषिक समुदायलाई जोड्ने र एकतावद्ध गर्ने काम गर्दछ भने अर्कोतिर भाषाको श्रीवृद्धि र प्रयोग विस्तारमा पनि अपूर्व सहयोग गर्दछ। भनौं टाक्सिएको मकैको विरूवा मलजलको प्रयोगद्वार सप्रे जस्तै वा बुस्ट गरेर बिजिनेस फस्टाए जस्तै स्तरीकरणले भाषाको चौगुना विकास हुन्छ।

स्तरीकरणको मुख्य उद्देश्य कुनै पनि शब्द वा कथनको अर्थमा एकरूपता कायम गर्नु हो। शब्द वा कथनबाट अभिव्यक्त हुने द्विविधा वा बहुअर्थलाई हटाउनु हो। भाषाको स्तरणकरणले सर्व स्वीकार्यताको अर्थबोध गराउँदछ। शब्द द्विअर्थक हुँदा कानुनी वा प्रशासनिक प्रक्रियामा द्विविधा हुन जान्छ र कानुनी न्याय वा सामाजिक न्याय सहज हुँदैन।

३. भाषाको स्तरीकरण कसरी सम्भव छ ?

कुनै मातृभाषालाई सरकारी कामकाजको लागि योग्य भाषा बनाउन अर्थात् स्तरीकरण गर्न भाषा वैज्ञानिकहरूले पद्धतिवद्ध चारवटा आधार तय गरेका छन्। भाषाको स्तरीकरण सन्तुलित र सिस्टम्याटिक हुनुपर्दछ। उदाहरण- “यो नेपाली भाषामा लेखिएको छ; ‘सेमरि छोर्ङान’ फिल्मको उपशीर्षक नेपालीमा राखिएको छ; म नेपाली साहित्य पढ्छु। नेपाली भाषा संविधानतः नेपालको सरकारी कामकाजको भाषा हो” जस्ता वाक्यहरू स्तरीय भाषामा प्रयोग हुने उदाहरणहरू हुन्। यसलाई सविस्तार स्तरीकरणको प्रक्रिया अन्तर्गत चर्चा गरिनेछ।

स्तरीकरणको प्रक्रिया

१. भाषाको छनौट (Selection of language)
२. नियमन (कोडीकरण Codification)
३. भाषिक कार्यको विस्तार (Elaboration of function)
४. स्वीकार्यता (Acceptance)

३.१ भाषाको छनौट

बोलचालीमा रहेको भाषा जीवित भाषा हो। कुनै पनि जीवित भाषाको एक वा एकभन्दा धेरै भौगोलिक वा क्षेत्रीय भेदहरू हुन्छन्। यी भेदहरू भूगोलद्वारा निर्धारित हुन्छ। त्रिशुली नदीको पूर्वतिर र यस नदीको पश्चिम तिर बोलिने तामाङ भाषाका भेदहरू छन्। यसै गरी भोटेकोसी, सुनकोसी र तामाकोसी नदीको पूर्व र पश्चिमतिर बोलिने उपभेदहरू पनि छन्। यस्तै गरी भाषाका सामाजिक भेदहरू पनि हुन्छन्- राजामहाराजले बोल्ने, प्रतिष्ठित वर्गले बोल्ने, लामा, झाँक्री जस्ता पुरेत वर्गले बोल्ने वा विपन्न वर्गले बोल्ने आदि। यस्ता भेदहरू एकभन्दा धेरै हुनसक्छन्। यीमध्ये कुनै एउटा भौगोलिक भेदलाई सरकारी कामकाजको लागि छान्नु वा सुनिश्चित गर्नु भाषाको छनौट हो। सामान्यतः सरकारी कामकाजको लागि भाषाको छनौट गर्दा वक्ताको जनघनत्व, भौगोलिक केन्द्रियता, सहर केन्द्रियता, भाषाको संरचना, स्थिरता, मौलिकता, ऐतिहासिकता, सम्पन्नता, सक्षमता र स्वीकार्यता आदिमा ध्यान दिने गर्दछ।

तर आजको सन्दर्भमा कारकारी कामकाजको लागि भाषा छनौट एउटा जटिलतम् कार्य हो भनेर बुझ्न आवश्यक छ।

३.२ कोडीकरण (नियमन)

भाषाविज्ञानमा नियमनको अर्थ हुन्छ मानक भाषा विकासको लागि (१) लेखन प्रणालीको विकास गर्नु (२) वर्ण पहिचान, उच्चारण पद्धति र व्याकरणका नियमहरू निर्धारण र नियमन गर्नु र (३) आवश्यक मात्रमा प्राविधिक तथा परिभाषित शब्दावलीको निर्माण गर्नु र (४) निर्धारण र विकास गरिएका सामग्री र निर्देशनहरू भाषाको कार्य विस्तारको लागि प्रकाशित गर्नु हो। भाषाको कार्य विस्तारको लागि प्रयाप्त मात्रमा भाषाको अभिलेखीकरण हुनु पर्दछ अर्थात् ठुलो सङ्ख्यामा वाङ्मय प्रकाशन गरिनु पर्दछ। यहाँ बुझ्नु पर्ने कुरा के हो भने कोडीकरण निर्देशनात्मक हुन्छ।

कोडीकरण प्रक्रियामा सर्वप्रथम भाषाको वर्णमाला सुनिश्चित गरिन्छ। लेखन पद्धतिलाई एकरूपतामा ढालिन्छ। भाषाका नियम र विशेषताहरूको छनौट गरेर नियमन गरिन्छ। प्राविधिक तथा परिभाषित शब्दावली निर्माण गरिन्छ। स्वाभाविक रूपमा स्तरीकृत भाषाको लेखाइ, बोलाइ, प्रकाशन र प्रयोगमा एकीकरण वा स्तरीकरण हुनुपर्दछ। यसर्थ कोडीकरण भाषावैज्ञानिक पद्धतिमा आधारित हुनुपर्दछ र विस्तृत रूपमा सामग्रीको अभिलेखीकरण गरिएको हुनुपर्दछ।

विशेष गरी कुनै एउटा भाषाको एउटा भेद वा विभिन्न भेदहरूमा पाइने भाषिक विशेषताहरूको कोडीकरण गरिन्छ। लोप भइसकेको यहुदी भाषाको आधुनिक संस्करण यस्तै प्रक्रियाको परिणाम हो (हे० Ammon 2004:275, McArthur and McArthur 1992:980)। कोडीकरणको लागि भाषावैज्ञानिक र प्रयोक्ताहरूको वीच एउटा प्राज्ञिक संस्था स्थापना गरिनु पनि आवश्यक हुन्छ।

मूल कुरा के हो भने स्तरीकरण भेदका शब्द वा वाक्य वा कथन द्विअर्थक हुनुहुँदैन र निश्चित अर्थको लागि शब्दावली सुनिश्चित गरिनु पर्दछ। यसको सफलता यसको स्वीकार्यता र कार्य विस्तारमा निर्भर रहन्छ।

३.३ भाषाको कार्य विस्तार

भाषाको कार्य विस्तार वा प्रयोग विस्तार विधायिका, कार्यपालिका र न्यायपालिका अन्तर्गतका सबै निकाय र कार्यालयहरू, सहकारी संस्था र संस्थानहरू, शिक्षा, सञ्चार, व्यापार-व्यवसाय र प्रकाशनका हरेक क्षेत्रमा ‘मानक भेद’को प्रयोग विस्तार गरिनु पर्दछ। यस कार्यको लागि मूलतः सरकार तयार हुनुपर्दछ।

३.४ स्वीकार्यता

‘मानक भेद’ प्रयोक्ताद्वारा स्वीकार्य वा ग्राह्य हुन आवश्यक हुन्छ। यहाँ ‘मानक भेद’ भनेको कोडीकृत वा नियमन गरिएको भेद हो। यसर्थ यस्तो भेद सरल र भाषावैज्ञानिक पद्धतिमा आधारित हुँदा सर्व स्वीकार्य हुन सक्दछ।

४. तामाङ भाषाको स्तरीकरण कसरी गर्ने ?

तामाङ भाषाको मूल थलो उत्तरमा केन्द्रिय हिमाली भूक्षेत्रको फेददेखि दक्षिणमा चुरे पहाडको दक्षिणी फेदसम्म र पूर्वमा दुधकोसीदेखि पश्चिममा बुढीगन्डकीसम्म विस्तारित छ। यस बीच थुप्रै नदी, खोला र पर्वत श्रृङ्खलाहरू पर्दछन्। यसको अर्थ हुन्छ तामाङ भाषाका थुप्रै भौगोलिक भेदहरू छन्। भाषाको भौगोलिक भेद हुनुमा ठुला ठुला नदी र अग्ला अग्ला डाँडा, पर्वत श्रृङ्खला र घना वनजङ्गलहरूले भूमिका खेलेको हुन्छ। तामाङ भाषाका कमसे कम एक दर्जन भेद-उपभेद हुन सक्दछ।
भाषावैज्ञानिकहरूले त्रिशुली नदीको पूर्वमा बोलिने तामाङ भाषालाई पूर्वीय तामाङ भाषा र यस नदीको पश्चिममा बोलिने भाषालाई पश्चिमी तामाङ भन्दछन्। यसबाट तामाङ भाषाका दुइ भेद रहेको देखिन्छ। यसै गरी पूर्वीय भेदका पनि सुनकोशी नदीको उत्तर-पूर्वका र दक्षिण-पश्चिमका गरी दुइ उपभेद छन्। यसै गरी यी उपभेदका पनि (१) तामाकोशी-लिखु भेद (२) लिखु-दुधकोशी भेद (३) इन्द्रवती-भोटेकोसी भेद (४) मेलाम्ची (जलाधार क्षेत्र) भेद (५) रोशी (जलाधार क्षेत्र) भेद (६) बागमती (जलाधार क्षेत्र) भेद (७) बुढीगन्डकी भेद आदि गरी एक दर्जन भेद उपभेद हुनसक्छन्। यी भेद उपभेदबारे भाषावैज्ञानिक सर्वेक्षण भइसकेको छैन।

यस आधारमा हेर्दा तामाङ भाषाको मानक भेद सुनिश्चित गर्न सजिलो छैन। तर पनि तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउन कुनै एउटा भेदलाई स्तरीकरण गर्न वा यसको कुनै विकल्प खोज्न आवश्यक हुन्छ। यसका लागि निम्नानुसारका कार्य गर्न आवश्यक हुन्छ।

४.१ सरकारी कामकाजको लागि तामाङ भाषिक भेदको छनौट

सरकारका प्रमूख अङ्ग- व्यस्थापिका, कार्यपालिका र न्यायपालिका अनि यस मताहतका निकायहरू, सरकारी कार्यालयमा दर्ता भएका निकाय र सहकारी संस्थाहरू तामाङ मानक भेदका प्रयोग क्षेत्र हुन्। सरल भाषामा भन्नु पर्दा यसको प्रयोग क्षेत्र शिक्षा, आमसञ्चार, अड्डा-अदालत, सार्वजनिक स्थल र बजार–व्यवसाय आदि हुन्। स्तरीय भाषाको प्रयोग मूलतः लेख्य रूपमा हुन्छ। लोकजीवनमा स्तरीय भेदको प्रयोग खासै हुँदैन। तामाङ भाषा मूलतः ग्रामिण लोकजीवनसँग टाक्सिएको हुनाले सरकारी कामकाजमा प्रयोग हुने गरी तामाङ प्राविधिक तथा परिभाषित शब्दावलीको विकास भइसकेको छैन। तामाङ भाषाका व्याकरणगत विशेषताहरूको स्तरीकरण पनि भइसकेको छैन। यसरी हेर्दा तामाङ भाषाको एउटा छुट्टै ‘स्तरीय भेद’ (standard variety) को विकास गर्न सक्ने देखिन्छ। यसो गर्दा भाषा छनौटको झमेलाबाट मुक्त हुनेछ र हाम्रो ध्यान स्तरीय भेद निर्माण तिर हुनेछ र छोटो अवधिमा नै सरकारी कामकाजको लागि स्तरीय भेदको निर्माण सम्भव हुनेछ।

शिक्षाको क्षेत्रमा हेर्दा आधारभूत तह (शिशु कक्षा र कक्षा १-८) सम्म स्थानीय तामाङ भाषामा नै पठनपाठन गरिनु उपयुक्त हुन्छ। यसो गर्न सके सबै स्थानीय तामाङ भाषाले फक्रने फुल्ने मौका पाउने छन्। बालबालिका पनि लाभान्वित हुनेछन्। माध्यमिक तह (कक्षा ९-१२) मा स्थानीय भेद र मानक भेद दुवै र उच्च शिक्षामा मानक भेदको प्रयोग गर्नु उपयुक्त हुनेछ। आधारभूत तहसम्मका शिक्षाको लागि पनि आवश्यक प्राविधिक शब्दावली (शिक्षा, विद्यालय, शिक्षक, कक्षा, परीक्षा, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शैक्षिक सामग्री, पाठ, अभ्यास, नीति आदि) निर्माण गर्नु पर्ने हुन्छ। यस प्रकारका प्रविधिक तथा परिभाषित शब्दको लागि स्तरीय भेदले सहयोग गर्न सक्छ।

संस्कृत भाषा पनि कुनै एउटा प्राकृत भाषालाई विज्ञद्वारा स्तरीकरण गरिएको भाषा हो। संस्कृतको अर्थ नै संस्कारित वा परिष्कृत हुन्छ। आजका सबै विकसित तथा सरकारी भाषाहरू संस्कारित गरिएको भाषिक भेदहरू नै हुन्, चाहे नेपाली होस् वा हिन्दी, रसियन होस् वा मन्दारिन, फ्रान्सेली हुन् वा इटालिएन वा हिब्रु आदि। सरकारी संस्था ‘गोर्खा भाषा प्रकाशन समिति’लाई १९८९ मा ‘नेपाली भाषा प्रकाशन समिति’ नामकरण गरिएको हो। यसभन्दा अगाडि नेपाली भाषालाई खस भाषा, पहाडे भाषा, पर्वते भाषा, गोर्खा भाषा आदि नामले चिनिन्थ्यो। अझै पनि गोरखा पत्र दैनिक जीवितै छ।

माथि भनिए जस्तै तामाङ भाषाका कुनै क्षेत्रीय भाषिक भेदलाई नचलाई एउटा आदर्श मानक भाषा वा भेदको विकास गर्न सकिन्छ। संयुक्त राष्ट्र संघले स्पारेन्तो जस्ता कृत्रिम भाषालाई स्वीकारेको उदाहरण पनि हामीसँग छ। स्पारेन्तो भाषा युरोपका भाषाहरूको आधारमा बनाइएका कृत्रिम भाषा हो। स्पारेन्टो वा अन्य कृतिम भाषा जस्तै गरी तामाङ भाषाका क्षेत्रीय भेदहरूको आधारमा भाषावैज्ञानिक ढाँचाको साझा विशेषता भएको एउटा स्तरीय वा मानक भेदको विकास गर्न नसकिने होइन। तामाङ भाषाको सन्दर्भमा यो प्रयास गर्न अति आवश्यक छ र गर्नु नै उचित हुन्छ।

४.२ तामाङ भाषाको कोडीकरण प्रक्रिया

कोडीकरणको अर्थ भाषाका नियमहरू नियमन वा निमयवद्ध गरिनु हो। शब्द, वाक्य वा कथनले सबै वक्ताको लागि एउटै अर्थ सम्प्रेशन गर्ने हुनुपर्दछ चाहे त्यो रसुवा, धादिङ, नुवाकोटको लागि होस् वा रामेछाप, काभ्रे वा सिन्धुली वा सिन्धुपाल्चोक वा मकवानपुरको लागि होस्। यसो हुन नसकेमा विशेष गरी अदालती वहसहरूमा फरक अर्थ लाग्न सक्दछ र परिणाम घातक हुनसक्दछ। यसै कारणले भाषाको कोडीकरण गरिनु आवश्यक हुन्छ। भाषाको कोडीकरण वर्णको तहमा, शब्दको तहमा, वाक्यको तहमा र कथनको तहमा गरिन्छ। तामाङ भाषाको कोडिकरणको प्रयास नभएको होइन, तर ठुलो स्केलमा नभएको मात्र हो। हालसम्म भएका प्रयासहरूलाई यहाँ सूचीबद्ध गर्न चाहन्छु।

१. भाषाशास्त्रीहरूको सहयोगमा पहिलो पल्ट २०४९ मा तामाङ वर्णको पहिचान भएको हो। यसपछि पनि पटक पटक तामाङ वर्णको पहिचान भएको छ र पहिचान भएको आधारमा वर्ण लेख्ने अभ्यास पनि भइरहेको छ। भाषाशास्त्रीहरूमार्फत् तामाङ भाषाका ५ स्वर वर्ण र ३१ व्यञ्जन वर्णको पहिचान भएको हो। भाषावैज्ञानिक अध्ययन अनुसन्धानहरूमा पनि तामाङ वर्णको पहिचान गरिएका छन्।

२. ‘तामाङ डाजाङ’ नामक साहित्यिक संस्थाले विगत गत २१ वर्षदेखि तामाङ लेखनमा एकरूपताको लागि प्रयास गरिरहेको छ- ‘तामाङ लेखनमा मानकीकरण’ (२०..) तयार गरेर। यस संस्थाले ‘तामाङ डाजाङ’ मासिक र तीन दर्जन जति प्रकाशित कृतिहरूमा पनि एकै प्रकारको लेखन शैलीको अभ्यास गरिरहेको छ। मैले २०४९ देखि नै आफ्ना सबै प्रकाशनहरूमा एउटै लेखन शैलीको अभ्यास (परिमार्जन सहित) गरिरहेको छु। यसबाट मानक लेखन शैलीको अभ्यास लामो समयदेखि भइरहेको प्रष्ट हुन्छ।

३. मेरो ‘तामाङ व्याकरणको प्रारूप’ २०४९ मा प्रकाशित भयो। यसपछि ‘तामाङ व्याकरण’ (२०५४), ‘तामाङ आधारभूत व्याकरण’ (२०७६) र ‘प्राज्ञ तामाङ व्याकरण’ (२०६१?) प्रकाशित भएका छन्। यी व्याकरणहरूमा तामाङ भाषाका मूलभूत विशेषताहरू र भाषिक नियमहरू रेखाङ्कित गरेको छु। यसै गरी भाषा सिकाउने उद्देश्यले ‘तामाङ ताम’ (२०७९) प्रकाशित छ। यहाँ तामाङ व्याकरणका नियमहरू उद्घाटित छन्। यी कृतिहरूमा तामाङ भाषाका भाषिक नियमहरू आबद्ध छन्।

४. पूर्वीय तामाङ भाषा र पश्चिमी तामाङ भाषाका एक दर्जन जति शब्दकोश प्रकाशित छन्। यी शब्दकोशहरूमा तामाङ लेखन शैलीको अभ्यास देख्न सकिन्छ।

५. तामाङ भाषाका व्याकरणगत नियमहरू लगभग एकै प्रकारका छन्। भाषिक सर्वेक्षण गरेर भाषिक नियमहरूलाई साझा नियमको रूपमा स्तरीकरण गर्न सकिन्छ। उदाहरणको लागि वहुवचनीय सर्ग ‘-जुगु’, ‘-दुगु’, ‘-गादे’, ‘-कादे’, ‘-बगाल’, ‘-मा’ मध्ये कुनै एउटा संरूपलाई साझा बनाउन सकिन्छ। मैले आफ्नो व्याकरणको कृतिहरूमा ‘-जुगु’ सामान्य नामको सन्दर्भमा र ‘-दुगु’ आदारार्थीको नामको सन्दर्भमा र ‘-गादे’ सर्वनामको सन्दर्भमा प्रयोग गर्ने गरेको छु। यसलाई साझा नियमको रूपमा विकास गर्न सकिन्छ। ‘आचाजि’, ‘आचानि’, ‘आचाले’ वा ‘आचाया’ मध्ये कुनै एक संरूपलाई लिन सकिन्छ। अकरणीय सर्ग ‘आ-’ ‘था-’ मध्ये कुनै एकलाई साझा बनाउन सकिन्छ।

६. रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण हुन थालेदेखि नै तामाङ भाषामा सञ्चार सम्बन्धी प्राविधिक शब्दावलीको निर्माण सुरु भएको हो। हुनत फुटकर रूपमा यसभन्दा अगाडि पनि प्राविधिक शब्दावली निर्माण भएको पाइन्छ। ‘तामाङ डाजाङ’ पत्रिकाको प्रकाशन (२०५९) भएदेखि नै प्राविधिक तथा परिभाषित शब्दवाली पनि निर्माण हुन थालेको देखिन्छ। हालसम्ममा सयौंको सङ्ख्यामा शब्दावली निर्माण भएका छन्। यी शब्दावलीहरू साझा शब्दावलीको रूपमा विकास गर्दै स्तरीय भेदको रूपमा स्थापित गर्न सकिन्छ। यसो गर्न सकेमा परम्पराले निरन्तरता पाउने छ। परम्पराको इतिहास पनि लामो हुनेछ।

हालसम्म तामाङ भाषा विशेष गरी संस्कारजन्य संस्कृति र ग्रामिण कृषि–पशुपालनसहितको गुजारामूखी अर्थव्यवस्थामा बाँची रहेको हुनाले शिक्षा, स्वास्थ्य, सञ्चार, सिर्जना, अनुसन्धान र सरकारी कामकाजको लागि चाहिने आवश्यक प्राविधिक तथा परिभाषित शब्दावली तयार गर्नुपर्ने हुन्छ। यी तामाङ समुदायका साझा सम्पत्ति हुनेछन्। तामाङ भाषाको स्तरीकरणको लागि यो एउटा बलियो आधार हुनेछ।

४.३ स्तरीय भेदको प्रयोग विस्तार

सरकारी कामकाजको भाषाको प्रयोग क्षेत्र माथि यथास्थान चर्चा भइसकेको छ। तामाङ भाषाका स्तरीय भेदको प्रयोग विस्तारको लागि एउटा गतिलो प्रकाशन संस्था स्थापना गरेर स्तरीय भाषा प्रयोगको विभिन्न तह र क्षेत्रमा प्रयोग विस्तार गर्नुपर्ने हुन्छ। यस कार्यको लागि तीन तहका सरकारी निकायहरू- सङ्घ, प्रदेश र पालिकालाई जिम्मेवार बनाउनु पर्ने हुन्छ।

४.४ स्तरीय भेदको स्वीकार्यता र कार्य

तामाङ भाषाको स्तरीय भेद हर क्षेत्रका प्रयोक्ताद्वारा स्वीकार्य वा ग्राह्य हुन आवश्यक हुन्छ। यसको लागि मूलतः तामाङ भाषाको संरचनाको आधारमा प्राविधिक तथा परिभाषित शब्दावली निर्माण गर्नु पर्दछ। प्रारम्भिक चरणमा नै भाषाको विज्ञता र कार्यप्रति चासो भएको एउटा विज्ञ टोली स्वतः स्फुर्त सक्रिय हुनु पर्दछ। तामाङ भाषाको कोडीकरणको कार्य भाषावैज्ञानिक पद्धतिमा आधारित हुनु पर्दछ र सरलतम् स्वरूपको हुनुपर्दछ। यसो हुनसके उत्पादित तथा तयारी सबै सामग्री सर्वस्वीकार्य र सहज हुनेछ। विज्ञ टोलीले यथाशाक्य चाँडो सबैको स्वीकार्य हुने गरी निम्नानुसारको कार्यको थालनी गर्नु पर्दछ :

(१)  तामाङ प्राविधिक तथा परिभाषित शब्दावली तयार गर्नु पर्छ।
(२)  विद्यालय तहमा उपयुक्त हुने गरी प्राथमिक तहमा ‘चित्रमय बाल शब्दकोश’ र निमावि र माबि तहको लागि एउटा एउटा ‘चित्रमय विद्यार्थी शब्दकोश’ तयार गर्नु पर्छ।
(३)  तामाङ स्तरीय शब्दकोश (हिज्जे र उच्चारण सहितको Tamang Standard Dictionary) तयार गर्नु पर्छ।
(४)  तामाङ स्तरीय व्याकरण (Tamang Standard Grammar) तयार गर्नु पर्छ।
(५)  तामाङ लेखनमा स्तरीकरणलाई पुनर्लेखन गरिनु पर्छ।
(६)  बजारमा देखा पर्ने नयाँ नयाँ शब्दहरूको अनुवाद वा अनुकुलन गरिनु पर्दछ।
(७)  आवश्यकता अनुसारको प्राविधिक तथा परिभाषित शब्द निर्माण कार्यलाई निरन्तर गरिरहनु पर्दछ।
(८)  स्तरीकरणमा ढालेर तामाङ अभिव्यक्ति, सिर्जना र विविध वाङ्मयको भण्डार तयार गरिनु पर्छ।
(९)  भाषा प्रयोक्ताको निरन्तर वृद्धि गरिनु पर्दछ।
(१०)  सरकारी कामकाजको प्रयोजनको लागि सरकारी फर्मेट र फारामहरू जस्तै सपथ ग्रहण, निवेदन आदिको अनुवादन तथा अनुकुलन गरिनु पर्दछ।
(११)  व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका र यस अन्तर्गतका सरकारी निकायहरू, गैरसरकारी संस्था र निकायहरू, सञ्चार, शिक्षा, जनस्वास्थ्य, सार्वजनिक स्थल आदिमा मानक भाषाको प्रयोग विस्तारको लागि निरन्तर पहल गरिनु पर्दछ।
(१२)  संसारभरि छरिएर रहेका तामाङहरूको स्तरीय भाषामा पहुँच वृद्धिको लागि एउटा अनलाइन शब्दकोश र व्याकरण तयार गरिनुपर्दछ।

यसो गर्न सकेमा भाषाको स्तरीकरण वा मानकीकरण स्वीकार्य र प्रभावकारी हुन सक्छ। स्तरीय भेदले विभिन्न स्थानीय समुदाय र छरिएर रहेका वक्तालाई एकातिर जोड्ने काम गर्नेछ भने अर्कोतिर भाषाको विकास र प्रयोग विस्तारमा वृद्धि हुनेछ र भाषा बिर्सेकाहरू भाषा सिक्न तयार हुनेछन्। यो काम हाम्रै जीवनकालमा अझ भनौं एक दसकभित्रै सम्भव हुनेछ भन्ने लाग्छ।

५. निचोड

तामाङ भाषाको स्तरीय भेदको विकास गर्नु टड्कारो आवश्यकता हो। यसो गर्न नसके तामाङ भाषाको वृद्धि रोकिने मात्र होइन, ठुला भाषाबाट प्रभावित हुँदै खिइदै जानेछ।

तामाङ भाषा छिट्टै बागमती प्रदेशको सरकारी कामकाजको भाषा पनि बन्दै छ। यसर्थ तामाङ भाषाको स्तरीकरणका लागि सबै भौगोलिक तथा सामाजिक भेदहरूको आधारमा एउटा आदर्श भेद तयार गर्न जरूरी भइसकेको छ। यसको लागि एउटा ‘तामाङ स्तरीय भेद निर्माण कार्यदल’ गठन गरेर भाषाविज्ञहरूको सहयोगमा कार्य थाल्नु ढिलो गर्नु हुँदैन र माथि ४.४ मा सुझाइएका कार्ययोजनाहरूको थाल्नी गरिहाल्नु पर्दछ भन्ने ठान्दछु। धन्यवाद !

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका