तामाङ पत्रकार सङ्घको आयोजनामा तामाङ पत्रकारहरूको दुई दिने राष्ट्रिय भेला शनिवार सम्पन्न भयो । जेठ ५ र ६ गते (शुक्रवार र शनिवार) काठमाडौँको नक्सालस्थित क्राउन प्लाजा होटेलमा आयोजित उक्त भेलाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरिएको थियो । उद्घाटन समारोहमा सङ्घले प्रकाशन गरेको ‘कलमजीवि’ पत्रिकासमेत मन्त्री लामाले सार्वजनिक गरेका हुन् । भेलामा सङ्घको कोसी र बागमती प्रदेश समिति, २२ वटा जिल्ला शाखा र प्रवास शाखा (दक्षिण) कोरियाका पदाधिकारी/प्रतिनिधिहरू सहभागी थिए ।
पहिलो दिन (शुक्रवार), कार्यक्रम उद्घाटनसँगै प्रदेश तथा जिल्लाका प्रतिनिधिबाट रिपोर्टिङ र त्यसमाथि छलफल गरिएका थिए । सोही दिनको अन्तिम सत्रमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार सदस्य वंशलाल तामाङसँग ‘स्थानीय तहमा तामाङ समुदायको मुद्दा र कार्यान्वयनको अवस्था’बारे अन्तरक्रिया गरियो ।
दोस्रो दिन (शनिवार), तीन जना विज्ञहरूबाट प्रशिक्षणात्मक प्रस्तुति दिएका थिए । तामाङ पत्रकार सङ्घका सल्लाहकार एवं पूर्वअध्यक्ष जगतमान लामा दोङले ‘तामाङ पत्रकार सङ्घको साङ्गठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ शीर्षकमा प्रस्तुति दियो । सङ्घका सल्लाहकार वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले ‘तामाङ आदिवासी जनजातिको मिडिया सरोकार’ शीर्षकमा प्रस्तुति राखेका थिए । सङ्घका सल्लाहकार वरिष्ठ पत्रकार अमरध्वज लामाले ‘तामाङ पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ शीर्षकमा प्रस्तुति दिए ।
दोस्रो दिन नै बागमती प्रदेश प्रेस रजिष्ट्रार कार्यालयका सञ्चार रजिष्ट्रार रेवती सापकोटासँग ‘मातृभाषा पत्रकारिता विकासमा प्रेस राजिस्ट्रार कार्यालयको भूमिका’ शीर्षकमा अन्तरक्रिया सम्पन्न गरियो । उनले मातृभाषा संरक्षणका लागि भाषालाई डिजिटालाइज गर्नुपर्ने धारणा राखेका थिए । मातृभाषा पत्रकारिता विकासका लागि योजना बनाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
कार्यक्रमको अन्तिम सत्रमा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो अनुभवहरू राखिन्। उनले उपप्रमुख पदमा पुग्न गरेको सङ्घर्ष र निर्वाचित भएपछिको अनुभव, स्थानीय आदिवासीहरूको सवाललगायत विषयहरूमा आफ्नो भनाइ राखिएको थियो ।
तामाङ पत्रकार अक्षयकोष घोषणा
यसै राष्ट्रिय भेलाको अवसरमा १० लाख रुपैयाँको ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरिएको छ । उक्त कोषबाट आउने ब्याज रकमबाट तामाङ पत्रकारहरूको वृत्ति विकास तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष एक जनालाई ५० हजार रुपैयाँ राशिको ‘पहिचानमूलक तामाङ पत्रकारिता लेखन वृत्ति’, प्रत्येक वर्ष दुई जनालाई १०–१० हजार रुपैयाँ राशिसहित ‘तामाङ मिडिया अवार्ड’ र सङ्घका पूर्वउपाध्यक्ष स्व. दीपेन्द्र दोङ तामाङको स्मृतिमा प्रत्येक वर्ष एक जनालाई १० हजार रुपैयाँ राशिको ‘दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्नेछ । कोषका लागि कार्यक्रममै विभिन्न व्यक्तिहरूबाट ६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धतासमेत प्राप्त भएको छ ।